राष्ट्रपतिको सुझाव:चाँडै सहमति गर
संविधान जारी गर्न भनिएको मिति माघ ८ गते नजिक आइरहेको र संविधानसभामा रहेका दलहरुबीच सहमति नभएका बेला संविधान निर्माणबारे राष्ट्रपति रामवरण यादवले चासो व्यक्त गरे । उनले सत्तापक्ष काँग्रेस र एमालेका नेता र मुख्य प्रतिपक्ष दल एमाओवादी र प्रतिपक्षीमा रहेका तराई मधेश केन्द्रीत राजनीतिक दलका नेतलाई छुट्टा–छुट्टै भेटे । र, संविधान निर्माणमा चाँडो सहमतिमा पुग्न सुझाव दिए ।
यादवले काँग्रेस र एमालेका नेताहरुलाई संविधान निर्माणको काममा गम्भीर भएर लाग्न र सहमतिका आधारमा अघि बढ्न सुझाव दिए । सत्तारुढ दलका नेताहरुले अब सहमतिमा संविधान जारी गर्ने सम्भावना निकै कम रहेको जानकारी गराए । सहमति नभए प्रकृयामा गएर भएपनि संविधान जारी गर्ने पक्षमा आफूहरु रहेको पनि काँग्रेस र एमालेका नेताहरुले राष्ट्रपतिलाई जानकारी गराए । राष्ट्रपतिले प्रतिपक्षी दलहरुलाई पनि सहमतिका आधारमा अघि बढ्न सुझाव दिए । उनले विगतमा राजनीतिक दलहरुबीच सहमति हुन नसक्दा संधिवानसभा असफल भएको भन्दै त्यसतर्फ ध्यान दिन सचेत गराएका थिए ।
संघीयतामा लचिलो हुन आग्रह
संविधानका विवादित विषयमा सहमति जुटाउन भन्दै काँग्रेस, एमाले, एमाओवादी र मधेशकेन्द्रीत दलहरु फेरि वार्तामा बसे । बैठकमा काँग्रेस र एमालेले संघीयतामा लचिलो हुन एमाओवादी र तराई मधेशकेन्द्रीत दलहरुलाई आग्रह गरे । अरु विषयमा आफूहरु लचिलो हुन तयार रहेको भन्दै काँग्रेस र एमालेले संघीयतामा लचिलो हुन दुवै पक्षलाई आग्रह गरेका हुन् । बैठकमा सत्तारुढ दलहरुले तराई र पहाडलाई अलग गर्ने गरी प्रदेश निर्माण गर्न आफूहरु तयार नरहेको स्पष्ट पारे । एमाओवादी र मधेशकेन्द्रीत दलहरुले भने संघीयतामा काँग्रेस र एमालेलाई लचिलो हुन आग्रह गर्दै संघीयतामा लचिलो भए अरु विषयमा आफूहरु लचिलो हुन तयार रहेको बताए ।
उता, एमाले पार्टी कार्यालयमा आयोजित उपत्यकाका पार्टी कमिटी प्रमुख, जनसंगठनका प्रमुख र केन्द्रीय तथा अञ्चल सम्पर्क कमिटीका अध्यक्ष एवं प्रतिनिधिसहितको संयुक्त बैठकमा महासचिव इश्वर पोखरेलले राज्य पुनःसंरचनाका विषयमा भने एनेकपा (माओवादी) लगायतका अन्य दलहरु लचिलो भएर आएमा सहमतिका साथ संविधान निर्माण हुने बताए । मिश्रित निर्वाचन प्रणाली अपनाउन पार्टी तयार रहेको उल्लेख गर्दै न्याय प्रणाली विभाजित नहुने गरी निश्चित काम, कर्तव्य र अधिकार तोकेर बढीमा १० वर्षका लागि संवैधानिक अदालत गठन गर्न सकिने उनको भनाइ थियो । छलफल भइरहेको तर सहमति नभएका बेला एमाओवादी अध्यक्ष दाहालले काँग्रेस र एमालेको अंहकारले संविधानसभाभित्रै मुठभेडको खतरा बढाएको बताए ।
