आमहड्ताल फिर्ता, दलहरु भूकम्प पीडितको उद्धारमा केन्द्रित

Tuesday, May 5, 2015
Written By: भुवन केसी / तिलक पाठक

एमाओवादी नेतृत्वको मोर्चाले पहिलो दिनपछि तीन दिने आमहडताल फिर्ता लियो । यसले मोर्चामा विवाद बढायो । संविधान निर्माण प्रकृयामा सहमति जुटाउने भन्दै दलहरुवीच वार्ताहरु भए । तर, औपचारिक रुपमा ठोस प्रगति भएन । त्यसैबेला भुकम्प गयो । भुकम्पबाट जनधनको ठूलो क्षति भएपछि सरकार र राजनीतिक दलहरुले त्यसमा केन्द्रित भए ।

आमहड्ताल फिर्ता
आन्दोलनलाई अघि बढाउने विषयमा एमाओवादी नेतृत्वको मोर्चाभित्र फरक फरक मत देखियो । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार संविधानसभा छोडेर सडक आन्दोलनमा जाने पक्षमा थिएनन् । त्यसैले सडक आन्दोलन जारी रहेका बेला पनि उनले संविधानसभा छोडेर सडक आन्दोलन गर्दैमा उपलब्धी हासिल हुन नसक्ने बताए । यही मौकामा प्रधानमन्त्री सुशील कोइरालाले गच्छदारलाई भेटेर आमहडताल फिर्ता लिन आग्रह गरे । त्यसविपरितसोही दिन बसेको एमाओवादी नेतृत्वको मोर्चाको बैठकले आमहड्ताललाई सफल पार्ने निर्णय गर्यो । पहिचान र अधिकारसहितको संघीय संविधान निर्माण गर्ने एमाओवादी नेतृत्वको मोर्चाको भनाइ थियो ।
मोर्चाले चैत्र २४ गतेदेखि २६ गतेसम्म आमहड्ताल शुरु गर्यो । तर, आमहड्तालको पहिलो दिन नै एमाओवादी नेतृत्वको मोर्चाले तीन दिने आमहड्ताल फिर्ता लियो ।त्यसप्रति आपत्ति जनाउँदै मधेशी जनअधिकार फोरम नेपालले आमहड्ताल फिर्ता लिएर मोर्चाले मधेसी, जनजाति र उत्पीडित वर्ग लगायत आम जनतालाई धोका दिएको आरोप लगायो । ‘सत्तासीन दल नेपाली काँग्रेस र नेकपा एमाले बहुमतको दम्भ देखाउँदै जनभावना विपरित संविधान बनाउन उद्दत रहेको र तिनका विरुद्ध सार्थक संविधानका लागि जनता सडकमा ओर्लिसकेको र आन्दोलन निर्णायक चरणमा पुगिसकेको अवस्थामा आमहड्ताल फिर्ता लिएर मोर्चाले गम्भीर गल्ती गरेको छ’ , फोरम नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।  सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम नेपालका अध्यक्ष गच्छदार मिली धोका दिएको आरोप लगाए । उनीहरुले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई पनि सकृय पार्न खोजे । ३० दलीय मोर्चाको संयोजक रहेका दाहालको भूमिकाप्रति शंका गर्दै तराई मधेश  केन्द्रीत राजनीतिक दलहरु अलग्गै संघर्ष गर्ने तयारीमा जुटे ।

त्यसको दुई दिनपछि एमाओवादी अध्यक्ष दाहालले मोर्चाको बैठक डाके । तर, बैठकमा तराई मधेश केन्द्रीत राजनीतिक दलहरु उपस्थित भएनन् । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गल्ती सच्चाउन एमाओवादी अध्यक्ष दाहाललाई आग्रह गरे । त्यसपछि मोर्चाभित्र खचपच देखापर्यो । वैशाख १० गते बसेको मोर्चाको बैठकमा राजनीतिलाई निकास दिन मोर्चाले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल भयो ।