संविधान जारी गर्न दलहरु असफल

Thursday, January 22, 2015
Written By: भुवन केसी | तिलक पाठक

अन्ततः पूर्व निर्धारित समयमा नयाँ संविधान जारी गर्न संविधानसभा असफल भयो । गत संविधानसभा निर्वाचनमा जनताबीच जाँदा मुख्य राजनीतिक दलहरुले एक वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही प्रतिबद्धतालाई पूरा गर्ने गरी संविधानसभाले माघ ८ गतेभित्र संविधान जारी गर्ने गरी संविधानसभा कार्यतालिका निर्माण ग¥यो । तर, माघ ८ गतेसम्म सत्तापक्ष र प्रतिपक्षीमा रहेका दलहरुबीच सहमति हुन सकेन जसले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदाय व्यग्र प्रतिक्षामा हुँदाहुँदै पनि संविधान जारी हुन सकेन । न सत्ता पक्षले भने जस्तो प्रकृयाले गति लिन सक्यो न विपक्षी मोर्चाको अडान अनुसार संविधानका विवादित विषयमा सहमति कायमै भयो ।  बरु, विवादित विषय मिलाउने र संविधान जारी गर्नका लागि नयाँ सहमति गर्ने भन्दा पनि राजनीतिक दलहरु संविधान जारी नहुनुमा एक अर्कामाथि खनिए । सत्तारुढ दल र प्रतिपक्षीहरुबीच बढेको दुरीका कारण नयाँ संविधान जारी हुने कुरा फेरि पनि अनिश्चित भयो । र, नेपालको राजनीतिक संक्रमणकाल लम्बियो ।

सुरक्षा व्यवस्था कडा
दलहरुको पुर्वप्रतिबद्धताअनुसार संविधान जारी गर्ने भनिएको माघ ८ गते संविधानसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । सुरक्षा व्यवस्था पहिलेभन्दा कडा थियो । बैठकमा सहभागी हुन सभासद्हरु संविधानसभा भवन परिसरमा जाने क्रम जारी थियो । सोही बेला संविधानसभा भवन परिसरमा दश पोका खुर्सांनी फेला प¥यो । प्रहरीका अनुुसार उपसभामुख ओनसरी घर्ती मगरको कार्यकक्षमा खुर्सानी फेला परेको हो ।  त्यसपछि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारियो । लोगो देखाएको भरमा सभासद्हरुलाई भित्र प्रवेश दिइएन, परिचय हेरेरमात्र प्रवेश दिइयो । सभासद्हरुलाई झोला समेत भित्र लान दिइएन ।  संविधानसभा भवनभित्र प्रतिपक्षीको  बेन्चबाट माइक समेत हटाइयो ।

त्यसपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई, मधेशी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदार लगायतका नेताहरुले संधिवानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई भेटी संविधानसभालाई ब्यारेक बनाउन खोजिएको भन्दै आपत्ति जनाए । प्रतिपक्षी दलहरुले अवरोधका साथै अन्य गतिविधि पनि गर्न सक्ने भन्दै संविधानसभाभित्र र बाहिर सुरक्षा व्यवस्था पहिलाभन्दा निकै कडा पारियो । सभामुखको कुर्सी अघि मर्यादापालकको चार तहको साङ्लो बनाइएको थियो ।  संविधानसभाभित्र डेढ सय मर्यादापालक थप गरिएको थियो भने नयाँ वानेश्वर क्षेत्रमा ६ सय सुरक्षाकर्मी परिचालन गरिएको थियो । बाहिर ठाउँ ठाउँमा काँडेतारको घेराबन्दी बनाइएको थियो ।  हुलदंङ्गा गर्न सक्ने भन्दै सभासद्हरु बाहिरिने ठाउँमा समेत सुरक्षाकर्मीको चेन बनाइएको थियो ।