जनताबीच संविधानको प्रारम्भिक मस्यौदा

Monday, August 3, 2015
Written By: भुवन केसी / तिलक पाठक

निकै लामो प्रतिक्षापछि संविधानको प्रारम्भिक मस्यौदा जनताबीच पुग्यो । केही ठाउँमा अवरोध भएपनि जनताले व्यापक उत्साहका साथ सुझाव दिए । सरकारी तथा गैरसरकारी क्षेत्रबाट पनि व्यापक सुझाव आयो । यसले संविधान जारी हुने विश्वास बढायो । नेताहरुले फास्ट ट्रयाकमा संविधान जारी हुने भनेपनि मितिबारे अन्योल कायमै रह्यो । उनीहरुले संविधान जारी हुने मिति पटक पटक फेरे । संविधान निर्माण प्रक्रियाको विरोधमा रहेका दलहरुलाई मुख्य दलहरुले विश्वासमा ल्याउन सकेनन् ।

जनतासमक्ष मस्यौदा
संविधानसभा नियमावली अनुसार संविधानको प्रारम्भिक मस्यौदा संविधानसभामा पेश गर्नु सात दिनअघि सभासद्हरुलाई उपलब्ध गराउनुपर्ने थियो । तर, प्रकृया छिटो अघि बढाउन नियमावलीको त्यस प्रावधानलाई संविधानसभाले निलम्बन गर्यो । र, सोहीअनुसार संविधानको प्रारम्भिक मस्यौदा संविधानसभामा पेश गरियो । संविधानसभामा संविधानको मस्यौदामाथि छलफल गर्दा संघीय राज्यको सिमाङ्कन र नाम पछि टुंगो लगाउने वा अहिले नै भन्नेमा सभासद्हरु विभाजित भए । काँग्रेस सभासद् बिमलेन्द्र निधिले राज्यहरुको सिमाङ्कन र नामविना संविधान जारी गर्न नहुनेमा जोड दिए ।