संविधानसभामा विपक्षी दलको तोडफोड

Monday, January 19, 2015

अघिल्लो दिन प्रमुख तीन दलको छलफलमा तय भएअनुसार माघ ५ गते विहान एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालवीच वार्ता भयो । दुवै नेताले वार्ता सकारात्मक भएको बताएपनि दलहरुवीच न संविधानका विवादित विषयमा नै सहमति जुट्यो, न प्रक्रियामा जाने विषयमा नै सहमति भयो । दलहरुवीच सहमति नभएपछि नेपाली कांग्रेस र एमालेलगायतका सत्ता साझेदार दलहरु प्रक्रियामा अघि बढ्ने निर्णय गरे । सभामुख सुवास नेम्वाङले पनि संविधान निर्माणको प्रक्रिया अघि बढाउने घोषणा गरेपछि संविधानसभामा एमाओवादीसहितका विपक्षी दलहरुले तोडफोड र आक्रमण गरे जसका कारण संविधानसभाको वैठक मध्यरातमा स्थगित भयो ।

वार्ता सकारात्मक
एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच विहान संविधानसभा बैठकमा डेढ घण्टा वार्ता भयो । दुवै नेताले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । छलफलमा निर्वाचन प्रणाली र न्याय प्रणालीमा समझदारी गरी सहमतिको प्रस्ताव अघि बढाउने कुरा भएको थियो । निर्वाचन प्रणालीमा प्रत्यक्ष ६० प्रतिशत र समानुपातिक ४० प्रतिशतको व्यवस्था गर्ने कुरा भएको एमाले स्रोतले बताएपनि ओलीले प्रत्यक्षमा ८० र समानुपातिकमा २० प्रतिशतको प्रस्ताव राखेको एमाओवादीको भनाई छ ।  शासकीय स्वरुपमा कांग्रेस र एमालेले आफनो प्रस्ताव लैजाने तर एमाओवादीले नोट अफ डिसेन्ट राख्ने, तीन विषयलाई अघि बढाएर मस्यौदा समितिमा लैजाने र मस्यौदा गर्दै जाने अनि त्यो अवधिभित्र संघीयताको विषयमा राजनीतिक सहमति कायम गर्दै जाने सहमति बन्न लागेको पनि एमाले स्रोतले बतायो ।

दुई नेताको वार्तापछि संविधानसभा भवनमै नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेसी दलका नेताको बैठक भयो । विहान ११ बजेसम्म चलेको बैठकमा एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष दाहालले त्यसअघि आफुहरु दुईजनावीच भएको वार्ताको व्रिफ्रिङ गरेका थिए । त्यसपछि कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चावीच आ–आफनै दलभित्र आन्तरिक छलफल भयो भने त्यसलगत्तै कार्यव्यवस्था परामर्श समितिको बैठक भयो । कार्यव्यवस्था परामर्श समितिको बैठकले दिउँसो १ बजे बोलाइएको  संविधानसभा बैठक बेलुका ५ बजे सार्ने निर्णय ग¥यो । चार दलका नेताहरुको वैठकका कारण संविधानसभाको वैठक सरेको हो ।

विहान वार्ता सकारात्मक भएको दावी गरेपनि दिउसो १ बजेपछि सत्ता पक्ष र प्रतिपक्ष दुवैले सहमति नै नभएको दावी गर्न थाले । एमाओवादी नेतृत्वको मोर्चाले संघीयताबाहेक दुईवटा विषय मात्र मस्यौदाका लागि पठाउने भनेको तर कांग्रेस र एमाले शासकीय स्वरुप पनि पठाउनुपर्ने अडानमा रहेपछि वार्ता सफल हुन सकेन । यसैवीच एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संघीयतामा सहमति भए प्रक्रियामा जान सकिने बताए । दाहालले दलहरुवीच निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा भने खासै विवाद नरहेको बताए ।  दलहरुवीच दिनभरीजसो आन्तरिक, द्धिपक्षीय र वहुपक्षीय वार्ता भएपनि सहमति हुन सकेन । त्यसपछि अपरान्ह ४ बजे सभाध्यक्ष सुवास नेम्वाङले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरे । सहमति हुने सम्भावना कम भएपछि साढे ४ बजेका लागि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित गरियो । यता कांग्रेस र एमालेका युवा सभासदले भने सभाध्यक्ष नेम्वाङलाई भेटी बैठक बोलाउन दबाव दिए । जवाफमा सभाध्यक्ष नेम्वाङले राति १२ बजेसम्म भएपनि बैठक बोलाउने आश्वासन दिए ।  यता दिनभरजसो बसेको प्रमुख दलका शीर्ष नेताको वैठक भने विना सहमति सकियो । कांग्रेस एमालेले सहमति भएका विषय मस्यौदा समितिमा पठाउने र सहमति बन्न नसकेका विषयलाई प्रश्नावली बनाउने गरेको प्रस्ताव प्रमुख प्रतिपक्ष दल एमाओवादी नेतृत्वको मोर्चाले अस्वीकार गरेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए ।