सत्ता पक्ष र प्रतिपक्षको बढदो दुरी
संविधानसभामा अघिल्लो दिन विपक्षी दलका सभासद्हरुले आक्रमण गरेपछि स्थगित भएको संविधानसभाको बैठक यो दिन एक बजेका लागि बोलाइएको थियो । तर, निर्धारित समयमा वैठक सुरु भएन । बरु, एक बजे एमाले स्थायी समितिको वैठक सुरु भयो । एमाओवादी नेतृत्वको मोर्चाले संविधानसभामा गरेको आक्रमणलाई कांग्रेस र एमालेले हिंसक र जंगली प्रवृति भन्दै आक्रमण र तोडफोडमा संलग्न सभासदहरुलाई कारवाही गर्न माग गरे । संविधानसभा भवनमा कांग्रेस र एमालेको छुट्टा–छुट्टै बैठकले त्यसबाट भएको क्षतिको जिम्मा एमाओवादी नेतृत्वको मोर्चाले लिनुपर्ने निर्णयसमेत गरे ।
एमाले स्थायी कमिटिको बैठकले संविधान निर्माणका लागि प्रक्रिया अघि बढाउन संविधानसभा अध्यक्षलाई आग्रह ग¥यो । माओवादी नेतृत्वको मोर्चासँग वार्ता गर्नुको कुनै औचित्य नरहेको पनि एमालेको ठहर रह्यो । त्यस लगत्तै कांग्रेस संसदीय दलको बैठक पनि सुरु भयो । कांग्रेस संसदीय दलको वैठकले पनि संविधान निर्माण प्रक्रिया तत्काल अघि बढाउन माग ग¥यो । बैठकले संविधानसभामा भएको आक्रमणको भत्र्सना र निन्दा गर्दै प्रक्रिया नरोक्न आग्रह पनि गरेको थियो ।
दिउसो २ बजे विपक्षी मोर्चाको बैठक संविधानसभामै सुरु भयो । तर, विपक्षी मोर्चाको वैठकले कांग्रेस र एमालेकै कारण संविधानसभामा आक्रमणमा भएको जिकीर ग¥यो । साथै प्रक्रियामा गए प्रतिवाद गर्ने निर्णय समेत ग¥यो । एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरीराजमणि पोख्रेलले संविधानसभा बैठकमा फेरि पनि प्रकृया सुरु गर्न खोजिए गएरातिकै घटना दोहोरिने चेतावनी दिए । ‘प्रतिवाद सुरु भइसक्यो, आज पनि फेरि प्रकृयामा प्रवेश गर्न खोजियो भने रातिकै घटना दोहोरिन्छ’ उनको चेतावनी थियो । उनले गएराति संविधानसभामा भएको घटनाको परिस्थति कांग्रेस एमालेका कारण निम्तिएको जिकीर गरे । तीस दलीय मोर्चालाई पेलेर जान खोजेका कांग्रेस एमालेकै कारण संविधानसभामा तोडफोड भएको उनको भनाई थियो ।
एकीकृत माओवादी र मधेसवादी दलसहित विपक्षी मोर्चाको अवरोध र आक्रमण दोहोरिने एमाओवादीले बताइरहँदा संविधानसभा आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । संविधानसभा भवनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सुरक्षा दिएको थियो । संविधानसभामा यसअघि ९१ जना मर्यादापालक खटाइदै आएपनि यो संख्या १ सय ५० पु¥याइएको थियो । विपक्षी मोर्चाको आक्रमणपछि ५० जना थप मर्यादापालक खटाइयो भने थप २ सय जनालाई तयारी अवस्थामा राखिएको प्रहरी प्रधान कार्यालयले जानकारी दियो ।
संविधानसभाको बैठक भने २.४५ मा सुरु भयो । तर, सभाध्यक्ष सुवास नेम्वाङले बैठक सुरु गर्नासाथ विपक्षी दलका सभासदहरुले वेलमा घेराउ गरे । नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले पटक पटक रोष्ट्रममा जाने प्रयास गरे । तर, उनी सफल भएनन् । यता विपक्षी दलका सभासदहरुले भने नारावाजी गरिरहे । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि कहिले नारावाजी गरिरहेका हुन्थे भने कहिले मोवाइल चलाइरहेका देखिन्थे ।
बैठकमा एमाओवादी मोर्चा नाराबाजी गरिरहँदा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल एक्कासि निहुरिए । उनको मोबाइलमा एसएमएस आएको थियो । केही छिन निहँुरिएर उनले मेसेजचेक गरे । मुसुक्क हाँस्दै ठाडो शिर पारे । उनको पछाडि एमाओवादी सभासद सन्तु दराइ नारा लगाइरहेका थिए । उनलाई दाहालले मेसेज सुनाए । त्यसपछि नजिकै रहेका मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि उनले मेसेज सुनाए । र दुवै मुसुक्कर हाँसे । संविधान सभा बैठकमा तनावकाबीच नाराबाजी चलिरहँदा उनको मोबाइलमा बारम्बार एसएमएस आइरह्यो । नेता बाबुराम भट्टराईलाई समेत एसएमएस देखाएर उनले त्यसको रिप्लाइ दिइरहे । अनुहारमा मुस्कान छर्ने त्यस्तो मेसेज कसले पठाएको थियो ? अपरान्ह ४ बजे भने एमाओवादी अध्यक्ष दाहाल केहीबेरका लागि बाहिरिए ।
एमाओवादी मोर्चाले नाराबाजीसहित वैठक अवरुद्ध गरेपछि वुधबार ११ बजेसम्मका लागि वैठक स्थगित गरियो । मोर्चाले प्रक्रियामा गएर नयाँ संविधानका विषयमा छलफल गर्न नपाइने भन्दै नाराबाजी गरेको हो । ‘०४७ सालको संविधान जारी गर्न पाइँदैन’, ‘सहमतिमा बैठक सञ्चालन गर’ भन्दै नाराबाजी गरेका थिए । अपराह्न २ बजेर ४५ मिनेट जाँदा सुरु भएको नाराबाजी करिब दुई घन्टा निरन्तर चल्यो । पौने ४ बजेतिर उनीहरूमध्ये कोही ताली बजाउन थाले त कसैले नाराबाजी जारी राखे। नाराबाजी डेढ घन्टा चल्दासम्म सभाध्यक्ष नेम्वाङले कुनै प्रतिक्रिया जनाएनन् । त्यसपछि उनले मुख फोरेर भने, ‘माननीय सदस्य आसनग्रहण गरौं, म सदनको कारबाही सुरु गर्छु ।’ विपक्षी दलका सभासदहरू थप उत्तेजित हुँदै चर्का नारा लगाउन थाले । ‘यस्तो अवरोधको अवस्थामा संविधानसभा प्रक्रियामा अघि बढ्न सक्दैन । बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिन्छ’, सभाध्यक्ष नेम्वाङले घोषणा गरे । त्यसपछि अध्यक्ष दाहाल र नेता भट्टराईको अगुवाइमा विपक्षी सभासद नाराबाजी गर्दै संविधानसभा भवनबाट बाहिरिए ।
