सहमतिको वातावरण विग्रीयो

Wednesday, January 21, 2015

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नयाँ बानेश्वरस्थित एक होटलमा बिहान पत्रकार सम्मेलन गरी सहमति भाँड्न प्रधानमन्त्री सुशील कोइराला नै सक्रिय बनेको आरोप लगाए । आफ्नो नेतृत्वको मोर्चाका सभासदले गरेको तोडफोड र भिडन्त नियोजित नभएको प्रष्टीकरण पनि दिए । अध्यक्ष दाहालले निर्वाचन प्रणाली, न्याय प्रणाली र नागरिकताको विषयमा सहमति भइसकेको तर भएको सहमति भाँड्न प्रधानमन्त्रीसहितका सत्तारुढ दल लागेको बताए । दाहालले शासकीय स्वरुपमा ‘रिजर्भेसन’ राख्दै संघीयतामा सहमति गर्ने क्रममा रहेको जानकारी दिए । त्यसमा कुरा मिल्न बाँकी रहेको र त्यसका लागि ७ गतेसम्मको समय माग्दा सत्ता पक्षले प्रक्रियामा जानुपर्ने बताएपछि मुठभेड बढेको आरोप लगाए ।

यता संविधानसभाको वैठक ११ वजेका लागि बोलाइएपनि निर्धारित समयमा सुरु हुन सकेन । बरु, त्यतिखेर संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई भेट्न एमाओवादीका प्रभु साह लगायत केही नेता नेम्वाङको चेम्बरमा पुगेका थिए । उनीहरुले अघिल्लो दिनको कार्य गल्ती भएको बताउँदै सच्याउन तयार रहेको पनि बताएका थिए । निर्धारित समयभन्दा ५० मिनेट ढिला संविधानसभा बैठक सुरु भयो । तर, बैठक सुरु हुनासाथ १९ दलका सभासद्ले वेल घेराउ गरे । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार भने संविधानसभामा भएको विपक्षीको नाराबाजीमा सहभागी भएनन् । माघ ५ गतेको वैठकमा मुख्य तीन दल र मधेसी मोर्चाको बैठकमा सहमतिका लागि उनले राखेको प्रस्तावलाई एमाओवादी अध्यक्ष दाहालले अस्वीकार गरेपछि गच्छदार मौन भएका हुन् । गच्छदारले संविधानका मुख्य विवादित विषयमध्ये निर्वाचन प्रणाली, न्यायप्रणाली र शासकीय स्वरुपमा दलहरुबीच खासै विवाद नरहेको भन्दै ती विषयलाई मस्यौदा समितिमा पठाउने र संघीयताका विषयमा भने एक महिनाभित्र टुंग्याउने प्रस्ताव राखेका थिए ।

गच्छदार सहभागी नभएपनि उनका दलका सभासदहरु नारावाजीमा सक्रिय नै थिए । एमाओवादी नेतृत्वको १९ दलीय मोर्चाले अवरुद्ध गरेपछि स्थगित भयो । विपक्षी सभासदको नाराबाजीका कारण ५ मिनेटमै स्थगित भएको हो । अर्काे बैठक त्यसै दिन दिउसो १ः३० बजेका लागि बोलाइयो ।   संविधानसभाको अर्काे वैठक दिउसो २ बजे सुरु भयो । वैठकले एमालेका पुर्व सभासद गोपालसिँह बोहोराको निधनप्रति शोक प्रस्ताव पारित ग¥यो । बुधवार बसेको संविधानसभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गर्दै बिहीवार ११ बजेसम्मका लागि स्थगित गरियो ।  संविधानसभामा भएको तोडफोड छानविन गर्न संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरियो । समितिमा सचिवालयका सचिव ठाकुर प्रसाद वराल, सह सचिव मुकुन्द शर्मा लगायत छन् । तोडोफोडमा ३० लाख क्षति भएको अनुमान गरिएको छ । सचिवालयका प्रवक्ता मुकुन्द शर्माले संविधानसभा नियमावलीको ४६ अनुसार सम्वन्धित ब्यक्तिबाटै क्षतिपूर्ति भराइने जानकारी दिए ।

संविधानसभाको वैठकपछि नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी नसुध्रिएको बताए । संविधानसभा भवन नयाँ बानेश्वरमा संचारकर्मीसँग कुरा गर्दै देउवाले भने, ‘एमाओवादी आक्रमणमा घाइतले भएका एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष विद्या भण्डारी, कांग्रेस उपसभापति रामचन्द्र पौडेललाई त प्रचण्डजीले फोन गरेर कस्तो छ भनेर पनि सोध्नु भएन । मैले हिजो प्रचण्डजी घाइते हुनुभएको खबर सुनेपछि फोन गरेँ । उहाँले त्यस्तो केही होइन भन्नुभयो । यो माओवादी भन्ने प्राणी कहिलै सुध्रिएन ।’

एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र सभाध्यक्ष सुवास नेम्वाङवीच दिउसो ३ बजे सिँहदरबारमा भेटवार्ता भयो । त्यस्तै त्यसको आधा घण्टापछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सभाध्यक्ष सुवास नेम्वाङवीच पनि सिंहदरवारमा भेटवार्ता भयो । तर, यी सबै भेटघाटमा वार्ताको वातावरण बनाउने विषयमा छलफल भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने दिउसो ४ बजे आफनै निवास बालकोटमा पत्रकार सम्मेलन गरे । एमालेका अध्यक्ष केपी ओलीले एकीकृत माओवादी नेतृत्वको मोर्चाले विभिन्न बहानामा संविधानसभाबाट संविधान जारी नगर्ने षड्यन्त्र गरिरहेको आरोप लगाए । ओलीले एमाओवादी नेतृत्वको मोर्चाले पहिचानका नाममा षड्यन्त्र गरिरहेको आरोप लगाए उनले अहिले पहिचानका नाममा जनतालाई सास्ती दिने भन्दा देशलाई शान्ति, समृद्धि, लोकतन्त्र, सामाजिक न्याय, एकता र देशलाई समृद्धितर्फ लैजाने संविधान आवश्यक रहेको बताए । ओलीले चार किसिमको सहमति हुने बताउँदै भने, ‘दुई तिहाइ बहुमत जुटाउने सहमति, अध्याधिक बहुमत जुटाउने, सर्वसम्मति गर्ने र संविधानसभा बाहिर रहेका दललाई समेत सहमतिमा ल्याएर संविधान जारी गर्ने चारवटा विकल्प छ ।’

प्रक्रियाको विरोध गर्दै सहमतिबाट संविधान जारी गर्न दवाब दिँदै आएको एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले जबर्जस्ती गरे प्रतिकार गर्ने निर्णय ग¥यो । बुधवार बसेको ३० दलीय मोर्चाको बैठकले बिहीवारसम्म आन्दोलन जारी राख्ने निर्णय गर्दै बिहीवार बस्ने संविधानसभा बैठकमा प्रश्नावली समिति बनाउने खोजे जसरी पनि रोक्ने निर्णय गरेको हो ।  यता सत्तारुढ दल कांग्रेस र एमालेका शीर्ष नेताको बैठक अपरान्ह ५ बजे बालुवाटारमा बस्यो र संविधान निर्माणको प्रक्रियालाई अघि बढाउने निर्णय ग¥यो ।  प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसै दिन संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग समेत परामर्श गरेका थिए ।