एमाले सशंकित (कार्तिक ६ –१२)

Monday, October 31, 2011
Written By: Bhuwan KC/ Tilak Pathak

प्रधानमन्त्री बाबुराम भट्टरार्ईसहित एकीकृत माओवादी र नेपाली काँग्रेसका नेताहरुले शान्ति प्रक्रियाबारे आफूहरु सहमति नजिक पुगेको र छिट्टै महत्वपूर्ण उपलब्धी हुने दाबी गरेपछि एमालेका नेताहरु सशंकित भए । एमाले नेताहरुमा आफूहरुलाई पन्छाएर वार्ता गर्दा माओवादी नेताहरुले काँग्रेसका नेतालाई फस्लाङफुस्लुङ पार्न सक्छन भन्ने आशंका त थियो नै शान्ति प्रक्रियामा आफ्नो भूमिका गौण भएको देखिन सक्ने भय पनि थियो । परिणामस्वरुप एमाले नेताहरुले सार्वजनिक रुपमा नै चेतावनी दिए, –‘एमालेलाई पन्छाएर माओवादी र काँग्रेसबीच सहमति भए परिणाम भंयकर हुनेछ ।’

शान्ति प्रक्रिया र संविधान निर्माणक्रममा सैद्धाान्तिक र नीतिगत पक्षमा सबैभन्दा बढी अन्तरविरोध माओवादी र काँग्रेसबीच नै छ । शान्ति प्रक्रियामा माओवादी, काँग्रेस र एमालेबीच वार्ता भइरहने तर सहमति नभएपछि दुई पक्षिय तथा त्रिपक्षिय वार्ता गर्दै समाधान खोज्ने सहमति भयो । यसैक्रममा कार्तिक ९ गते नयाँबजारस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा माओवादी र काँग्रेसका नेताबीच वार्ता भयो ।

माओवादीप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आएका काँग्रेसका नेताहरुले वातावरण सकारात्मक बन्दै गएको र माओवादी इमान्दार भए मंसिर १४ गते भित्र नै शान्ति प्रक्रिया पूरा हुन सक्ने बताउन थाले । धेरै कुरा मिलिसकेको बताउदै कांग्रेस नेताहरुले समायोजन हुने जनसेनाका लडाकुहरुको संख्या र पुर्नस्थापना प्याकेजबारे मात्रै टुङ्गो लाग्न बाँकी रहेको धारणा व्यक्त गर्न थाले । यता, प्रधानमन्त्री भट्टराईदेखि माओवादीका नेताहरुले पनि काँग्रेस धेरै सकारात्मक भएको भन्दै शान्ति प्रक्रियामा महत्वपूर्ण उपलब्धी हुने उद्घोष गरे ।

काँग्रेससँग माओवादी नेताहरुको औपचारिक र अनौपचारिक छलफलबाट सकारात्मक कुरा आउन थालेपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीको आश्वासनमा नफस्न काँग्रेस नेतालाई सार्वजनिक रुपमै सुझाव दिए । उनले भने–‘अरुलाई फकाउन र फसाउन माओवादी सिपालु छन भन्ने जानकारी आफूहरुलाई भएकाले नै वार्तामा पन्छाउन खोजिएको हो । मााओवादी र कांग्रेसबीच हुने वार्ताले मात्रै शान्ति प्रक्रिया र संविधान निर्माणमा सहमति जुटन सक्दैन ।’

त्यसपछि प्रधानमन्त्री भट्टरार्ईले कार्तिक ११ गते वरिष्ठ नेता नेपालसँग भेट गरी शान्ति र संविधानबारे छलफल गरे । नेपालको कोटेश्वरस्थित निवासमा भएको वार्तामा शान्ति प्रक्रिया र संविधान निर्माणका लागि दलहरुबीच छलफल गर्दै अघि बढ्ने सहमति भयो । र, तीन दलबीच संयुक्त रुपमा छलफल अघि बढाउने सहमति पनि भएको छ ।

मुख्य गतिविधि

कार्तिक ६ चार दिने भारतको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री बाबुराम भट्टराई स्वदेश फिर्ता ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालद्वारा शान्ति प्रक्रिया नटुंग्याई संविधान निर्माण पूरा हुन नसक्ने ठोकुवा ।
काँग्रेसका उपसभापति रामचन्द्र पौडेलद्वारा शान्ति प्रकृयाबारे तिहारअघि नै सहमति जुटाउनुपर्ने धारणा व्यक्त । समायोजन हुने लडाकु संख्या र पुनस्र्थापना प्याकेजमा मात्रै कुरा मिल्न बाँकी रहेको जानकारी ।

 

कार्तिक ७ माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा शान्ति र संविधान निर्माण कार्य छिट्टै पूरा हुने दाबी ।
संविधानसभाका विषयगत समिति सभापतिहरुद्वारा सभाध्यक्ष सुवास नेम्वाङलाई भेटी संविधान निर्माण प्रक्रियालाई अघि बढाउन सुझाव ।
कार्तिक ८ माओवादी स्थायी समितिको बैठक । लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिपा) र पार्टीभित्रको विवादबारे छलफल ।
कार्तिक ९ माओवादी स्थायी समितिको बैठक । बिपा र पार्टीभित्रको छलफलबारे केन्द्रीय समितिमा छलफल गर्न नेताहरु सहमत ।
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाद्वारा प्रधानमन्त्रीको भारत भ्रमणअघि माओवादीले गरेको प्रतिबद्धता अनुसार काम भए मंसिर १४ अघि नै शान्ति प्रक्रिया पूरा हुने दाबी ।
माओवादी र कांग्रेसका शीर्ष नेताहरूबीच माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवासमा भेटघाट । शान्ति प्रक्रियाबारे छलफल ।
कार्तिक १० माओवादी प्रवक्ता दिनानाथ शर्माद्वारा शान्ति प्रक्रियाबारे काँग्रेससँग विश्वासको वातावरण बनेको धारणा व्यक्त । पार्टीभित्रको विवादले शान्ति प्रक्रिया अघि बढाउन असर नगर्ने दाबी ।

प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा शान्ति प्रक्रिया र संविधान निर्माणमा छिटै ब्रेक थ्रु हुने विश्वास व्यक्त ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालद्वारा माओवादीको आश्वासनलाई विश्वास नगर्न काँग्रेस नेतालाई सुझाव । एमालेलाई उपेक्षा गरिए त्यसको परिणाम गम्भीर हुने चेतावनी ।

कार्तिक ११ प्रधानमन्त्री बाबुराम भट्टरार्ई र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट । शान्ति प्रक्रिया र संविधान निर्माणबारे छलफल ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहालद्वारा मंसिर १४ गतेसम्म संविधानको एकीकृत मस्यौदा जारी भए जनताले तीन देखि ६ महिनासम्म संविधानसभाको म्याद थप्न दिने आशा व्यक्त ।
कार्तिक १२ प्रधानमन्त्री बाबुराम भट्टरार्ई र सभामुख सुवास नेम्वाङबीच भेट । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएकाको छानविन आयोग गठनका साथै शान्ति प्रक्रियाबारे छलफल ।
प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा सरकारको सबैभन्दा बढी विरोध गर्दै आएका आफ्नै पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्यसँग भेट । शान्ति प्रक्रियामा सहयोग गर्न आग्रह ।
राष्ट्रपति डाक्टर रामवरण यादव र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको भेटमा शान्ति प्रक्रिया र संविधान निर्माणबारे छलफल । शान्ति प्रक्रिया र संविधान निर्माणवारे राष्ट्रपति यादवको चासो ।