माओवादी संस्थापन पक्षद्वारा शान्ति र संविधानमा जोड ( चैत्र ५– ११ )

Sunday, March 25, 2012
Written By: Bhuwan KC/ Tilak Pathak

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्य पक्षले पत्रकार सम्मेलन गरी प्रधानमन्त्री बाबुराम भट्टराइको राजीनामा माग्दै आन्दोलन घोषणा गरे लगतै अध्यक्ष पुष्पकमल दाहालले आफुनिकट पदाधिकारीहरुसँग छलफल गरे । अध्यक्ष दाहालसहित उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव पोष्टबहादुर बोगटीवीच भएको छलफलमा ‘बैद्य पक्षले माग्दैमा प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र शान्ति तथा संविधान निर्माण प्रक्रियालाई अघि बढाउने’ सहमति भयो ।

त्यसको अर्का दिन माओवादी संस्थापन पक्षका नेताहरुको कुपण्डोलस्थित समिट होटलमा भेला भयो । भेलामा नेताहरुले राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरुबीच सहमति भए वा संसदमा अविश्वासको प्रस्ताव ल्याएर बहुमत पुगे मात्रै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने धारणा व्यक्त गरे । नेताहरुले ‘बैद्य पक्षले अवरोध गरेपनि शान्ति र संविधान निर्माण प्रकृया अघि बढाउन’ नेतृत्वलाई सुझाव दिए । साथै उनीहरुले ‘बैद्य पक्षले आन्दोलन र संघर्षका कार्यक्रम घोषणा गरेर पार्टी अनुशासन उल्लंघन गरेको’ आरोप पनि लगाए ।

बैद्य पक्षले पार्टी फुटाउन खोजे पनि आफू भने एकताको पक्षमा रहेको अध्यक्ष दाहालले दाबी गरे । दुई दिनसम्म भएको संस्थापनको भेलाले पार्टीभित्रको विवाद समाधानबारे छलफल गर्नका लागि केन्द्रीय समितिको बैठक बोलाउन पार्टी नेतृत्वलाई सझुाव दियो । केन्द्रीय समितीको बैठक बोलाउनेबारे दाहालले वैद्यसँग परामर्श गरे । भेटमा केन्द्रीय समितीको बैठक बोलाउन अध्यक्ष दाहालले गरेको प्रस्तावलाई उपाध्यक्ष बैद्यले ठाडै अस्वीकार गरे । उनले अघिल्लो केन्द्रीय समितिले गरेको निर्णय कार्यान्वयन नभएसम्म बैठक बोलाउनुको अर्थ नहुने बताए ।

त्यसको अर्का दिन लाजिम्पाटस्थित आफ्नो निवासमा केही पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले ‘बैद्य पक्ष शान्ति र संविधान निर्माण प्रक्रिया भाँडन र पार्टी फुटाउन लागेको’ आरोप लगाए । उनले शान्ति र संविधानलाई बीचमा छोडेर मुलुकलाई अन्धकारमा धकेल्न आफूले नचाहेको पनि प्रष्टयाए । उता, बैद्य पक्षले मधेशी जनअधिकार फोरम, नेकपा माओवादी, जनजाती महासंघ सहित ११ वटा दल र जातीय मोर्चासँग छलफल गरी संयुक्त राष्ट्रिय जनआन्दोलन समिति गठन गर्यो । र, जनसंविधान निर्माण लगायतका विषयलाई लिएर आन्दोलन गर्ने घोषणा पनि गर्यो ।

यसबीचमा बसेको एमाले स्थायी समितिको बैठकले शान्ति र संविधान निर्माणको पक्षमा दबाब सिर्जना गर्न जनपरिचालनका कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्यो । एमालेका सभासद्हरुले समयमै संविधान निर्माणका लागि दबाब समिति बनाए । एमाले सभासद्हरुको अग्रसरतमा भएको संविधानसभामा रहेका नौ वटा दलका सभासद्हरुको भेलाले शान्ति र संविधानको कामको टुंगो लगाउन संवैधानिक समिति, सेना समायोजन विशेष समिति र शिर्ष नेताहरुलाई चैत्र १० गतेसम्मको अल्टिमेट दियो ।

यता, संवैधानिक समितिको सभापति नीलाम्बर आचार्यको अग्रसरतामा बसेको संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, माओवादी अध्यक्ष पुष्कमल दाहाल, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल सहित प्रमुख दलका सचेतकहरुको बैठक बस्यो । बैठकमा नेताहरु सेना समायोजन विशेष समितिको बैठक बोलाइ शान्ति प्रक्रिया र संविधानका विवादित विषयमा छलफल गर्न सहमत भए । त्यसको लागि मुख्य तीन दलको बैठक बोलाउने विषयमा पनि उनीहरुवीच सहमति भयो ।

सेना समायोजन विशेष समितिको बैठकले समायोजन हुने लडाकुहरुको विधि, प्रकृया र मापदण्ड तय गर्ने जिम्मा समितिको सचिवालयलाई दियो । विवाद समाधान उपसमितिको बैठकमा शान्ति प्रक्रियालाई अघि बढाएपछि संविधानका विवादित विषयमा छलफल अघि बढाउन नेताहरु सहमत भए । उपसमिति र सोही दिन बसेको संवैधानिक समितिको बैठकमा मुख्य दलका नेताहरु संविधानका विवादित विषयलाई टंगो लगाउने भन्दै फेरि पनि विवाद समाधान उपसमितिको समय बढाउन सहमत भए ।

मुख्य गतिविधी

चैत्र ५ माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालद्वारा पत्रकार सम्मेलन । व्यापक विरोधपछि सगरमाथा आरोहणका लागि उनीसहितको टोलीलाई सरकारले छुट्याएको दुई करोड रुपैयाँ नलिने घोषणा । सो रकम द्वन्द्व पीडितलाई दिन आग्रह ।
माओवादीको संस्थापन पक्षका शिर्ष नेताहरुबीच छलफल । प्रधानमन्त्रीले राजीनामा नदिने बरु राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिने सहमति ।
कांग्रेसद्वारा जेठ १४ गतेसम्म आफ्ना सभासद्हरुलाई विदेश नजान ह्वीप जारी । संविधानसभाको बैठक जुनसुकै समय बस्न सक्ने भनाइ ।
प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा मन्त्री, राज्यमन्त्री र सचिवहरुलाई निर्देशन । सरुवामा नियम विपरित काम गरेको पाए कारवाही गर्ने चेतावनी । दबाब आए आफू र प्रधानमन्त्री कार्यालयलाई जानकारी दिन आग्रह ।
कानून व्यवसायीहरुको राष्ट्रिय भेला सम्पन्न । १५ दिनभित्र शान्ति प्रक्रिया टुंगो लगाउन आग्रह । नयाँ संविधानमा स्वतन्त्र न्यायपालिकाको सुनिश्चितता हुनुपर्ने सहित काठमाडौं घोषणापत्र जारी ।
एमाले सभासद्हरुद्वारा समयमै संविधान निर्माणका लागि यमलाल कडेलको संयोजकत्वमा दबाब समिति गठन ।
स्वास्थ्य राज्यमन्त्री सरोज यादवद्वारा मदिरा सेवन गरी वीर अस्पतालका चिकित्सकमाथि दुव्र्यवहार ।
चैत्र ६ कानून व्यवसायीहरुद्वारा एमाले अध्यक्ष झलनाथ खनाललाई पार्टी कार्यालयमा भेट । शान्ति र संविधान आगामी जेठ १४ गतेभित्र आउने कि नआउने भन्ने माओवादीको भूमिकामा निर्भर रहने खनालको भनाइ ।
माओवादी संस्थापन पक्षको कुपण्डोलस्थित समिट होटलमा भेला । नेताहरुद्वारा उपाध्यक्ष मोहन बैद्य पक्षको दबाबमा राजीनामा नदिन प्रधानमन्त्री बाबुराम भट्टराईलाई सुझाव ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको संसदीय दलको बैठक । सरकारमा सहभागी नेताहरुको भूमिका, सरकार गठनका बेला माओवादीसँग भएको चार बुँदे सहमति कार्यान्वयन लगायतका विषयमा छलफल ।
एमाले सभासद्हरुद्वारा समयमै संविधान निर्माणका लागि गठित दबाब समितिको बैठक । शान्ति र संविधान निर्माण प्रक्रिया पूरा गर्न दबाबका कार्यक्रम ल्याउने निर्णय ।
प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा स्वास्थ्य राज्यमन्त्री सरोज यादव, भूमिसुधार राज्यमन्त्री ज्वालाकुमारी शाह र श्रम तथा व्यवस्था मन्त्री सरिता गिरीसँग स्पष्टिकरण । आगामी दिनमा यस्ता काम नदोहा¥याउन सचेत गराएको प्रधानमन्त्रीका प्रेस सल्लाकार रामरिझन यादवको भनाइ ।
चैत्र ७ माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा आफू समर्थक केन्द्रीय नेताहरुको भेलालाई सम्बोधन । आफू पार्टी एकताको पक्षमा रहेको भनाइ । विवादबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउन नेतृत्वलाई सुझाव ।
संविधानसभा संवैधानिक समितिका सभापति निलाम्बर आचार्यको अग्रसरतामा संविधान सभाध्यक्ष सुवास नेम्वाङ, प्रमुख सचेतक सहित माओवादी, कांग्रेस र एमालेका शिर्ष नेताहरुको बैठक । शान्ति प्रक्रिया र संविधान निर्माणबारे समझदारी खोज्न दुई दिनभित्र सेना समायोजन विशेष समिति र तीन दलको बैठक बोलाउने सहमति ।
एमाले सभासद्हरुको अग्रसरतामा संविधानसभामा रहेका नौ वटा दलका सभासद्हरुको भेला । शान्ति र संविधानको काम टुंगो लगाउन संवैधानिक समिति, सेना समायोजन विशेष समिति र शिर्ष नेताहरुलाई चैत्र १० गतेसम्मको अल्टिमेट ।
पूर्व प्रधानमन्त्री एंव राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाद्वारा मालिगाउँस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन । संविधान जारी नगरे आगामी जेठ १४ गते पछि देशमा राजनीतिक दुर्घटना हुने सम्भावना व्यक्त ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग जेसिसका पदाधिकारीहरुको भेट । आफू लोकतान्त्रिक संविधानको पक्षमा रहेको माओवादी अध्यक्ष दाहालको भनाइ ।
चैत्र ८ माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा पार्टीको विवादबारे उपाध्यक्ष मोहन बैद्यसँग छलफल । केन्द्रीय समितिको बैठक बोलाउन अध्यक्षले गरेको आग्रहलाई बैद्यद्वारा अस्वीकार ।
एमाले स्थायी समितिको बैठक । शान्ति र संविधान निर्माणा लागि दबाब अभियान सञ्चालन गर्ने निर्णय ।
न्यायपरिषद्को बैठक । पर्याप्त आधार नदेखिएको भन्दै २१ जना न्यायाधीश विरुद्ध परेको उजुरी तामेलीमा राख्ने निर्णय ।
जनसंविधान जारी गर्नुको विकल्प नभएको माओवादी उपाध्यक्ष मोहन बैद्यको भनाइ ।
न्यायाधीश नियुक्तिमा राजनीति भए न्यायपालिका स्वतन्त्र रहन नसक्ने प्रधानन्यायाधीश खिलराज रेग्मीको भनाइ ।
आगामी वैशाख १६ गते गर्ने भनिएको संयुक्त राष्ट्रसंघिय महासचिव वानकी मुनको नेपाल भ्रमण तत्कालका लागि स्थगित ।
चैत्र ९ सेना समायोजन विशेष समितिको बैठक । समायोजन हुने लडाकुहरुको विधि, प्रकृया र मापदण्ड तय गर्ने जिम्मा सचिवालयलाई ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा आफनै निवासमा केही पत्रकारसँग कुराकानी । उपाध्यक्ष बैद्य पक्षले शान्ति र संविधान निर्माण प्रक्रिया भाँडन चाहेको आरोप । दुई दिन भित्र सेना समायोजन प्रक्रिया सुरु गर्ने भनाइ ।
कांग्रेस सभापति सुशील कोइरालाद्वारा माओवादीले सात बुँदे सहमति कार्यान्वयन नगरेसम्म शान्ति र संविधान निर्माणको काम अघि बढन नसक्ने भनाइ । लोकतन्त्र र बहुलवाद विनाको संविधान आफ्नो पार्टीलाई मान्य नभएको धारणा व्यक्त ।
एमाले अध्यक्ष झलनाथ खनाल स्वाथ्य उपचार गर्न दिल्ली प्रस्थान ।
माओवादी उपाध्क्ष मोहन बैद्यद्वारा मधेशी जनअधिकार फोरम, नेकपा माओवादी, जनजाती महासंघ सहित ११ वटा संस्थासँग छलफल । मोर्चा बनाएर आन्दोलन गर्ने सहमति । आवश्यक परे पार्टी फुटाएर आन्दोलन गर्ने भनाइ ।
नयाँ संवधिनमा स्वतन्त्र न्यायपालिकाको प्रत्याभुति हुनुपर्ने भन्दै न्यायाधीश समाजद्वारा कांग्रेस सभापति सुशील कोइराला र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट ।
चैत्र १० संविधानसभा विवाद समाधान उपसमितिको बैठक । शान्ति प्रक्रिया अघि बढेपछि संविधानका काम तीव्र गतिमा अघि बढाउने निर्णय । विवाद टंगो लगाउनका लागि समय बढाउन संविधानसभा कार्य व्यवस्था परामर्श समितिलाई आग्रह गर्ने निर्णय ।
संवैधानिक समितिको बैठक । छलफलका लागि म्याद बढाउने सहमति ।
प्रधानमन्त्री बाबुराम भट्टराइद्वारा आर्थिक चलखेल गरेको भन्दै श्रममन्त्री सरिता गिरीलाई बर्खात । जनमुक्ति पार्टीका मालबरसिंह थापालाई श्रम मन्त्रीको जिम्मा । भूमी सुधार राज्य मन्त्री ज्वालाकुमारी शाहलाई पर्यटनमा । पर्यटन राज्यमन्त्री दिलिप महर्जनलाई भूमि सुधारमा ।
सभासद्हरुको भेला । शान्ति र संविधानका लागि शिर्ष नेताहरुलाई दबाब दिनका लागि संविधानसभा र सिंहदरबारमा समेत धर्ना दिने चेतावनी ।
तदर्थ समिति गठनप्रति असहमति जनाउँदै २८ जना नेविसंघका केन्द्रीय नेताद्वारा पार्टी सभापति सुशिल कोइराला समक्ष राजीनामा ।
माओवादी उपाध्यक्ष बैद्य पक्षका नेताहरु सहित संयुक्त राष्ट्रिय जनआन्दोलन समिति गठन । जनसंविधान निर्माण लगायतका विषयमा जोड ।
प्रधानमन्त्री बाबुराम भटटराईद्धारा प्रधानसेनापति छत्रमान गुरुङ, सेना समायोजन विशेष समिति सचिवालय बालानन्द शर्मा, माओवादी लडाकुका प्रवक्ता चन्द्रप्रकाश खानाल, सरकारका मुख्य सचिव मावधप्रसाद घिमिरेसँग छलफल । पाँच दिनभित्र सेना समायोजन सम्बन्धी कार्य योजना पेश गर्न सचिवालयलाई निर्देशन ।
मदिरा सेवन गरी हो हल्ला मच्चाउने स्वास्थ्य राज्यमन्त्री सरोज यादवद्वारा प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष आत्मालोचना ।
चैत्र ११ माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन बैद्यबीच लाजिम्पाटस्थित अध्यक्ष दाहाल निवासमा पार्टीको विवादबारे छलफल । सहमति हुन सकेन ।
नेकपा मसाल, नेपाल माले, नेकपा माक्र्सवादी लगायत १९ वटा साना राजनीतिक दलद्वारा प्रधानमन्त्री बाबुराम भट्टराईलाई ज्ञापनपत्र । जेठ १४ गते संविधान जारी नभए आन्दोलनमा उत्रने चेतावनी ।
महिला पत्रकारद्वारा प्रधानमन्त्री बाबुराम भट्टराईसँग भेट । प्रधानमन्त्री भट्टराईद्वारा दुई महिनाभित्र शान्ति प्रकृया टुंगो लगाइ संविधान जारी गर्ने प्रतिबद्धता ।