संविधानसभाको म्याद नथप्न सर्वाच्च अदालतको आदेश ( जेठ ७ –१२)
संविधान निर्माणमा सबैभन्दा विवादास्पद विषयको रुपमा रहेको राज्यपुनर्संरचनाबारे दलहरुबीच सहमति भएन । एकल पहिचानका आधारमा प्रदेशको निर्माण गर्ने कि बहुपहिचानमा भन्नेमा दलहरुबीच विवाद जारी रह्यो । प्रदेशको संख्या र सीमाबारे एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच सहमति नभइरहेको बेला सरकारले अन्तरिम संविधान २०६३ मा तेह्रौ संशोधन गरी संविधानसभाको म्याद तीन महिना थप्ने निर्णय गर्यो ।
संविधान संशोधनका लागि सरकारले संसद सचिवालयमा प्रस्ताव दर्ता गर्यो । माओवादी र मोर्चाले यस प्रस्तावको समर्थन गरेपनि सत्तारुढ दल काँग्रेस र एमालेले विरोध गरे । दलहरुबीच विवाद जारी रहँदै गर्दा म्याद थप विरुद्ध सर्वाेच्चमा रिट दायर भयो । सहमति विना संविधानसभाको म्याद थप्ने प्रयास भएको भन्दै काँग्रेसले मन्त्रिपरिषद्बाट आफ्ना सदस्य फिर्ता गर्यो भने एमालेले प्रधानमन्त्रीको राजीनामा माग्यो ।
विवादित विषयलाई संविधानसभाको बैठकमा प्रवेश पनि नगराउने र सहमति पनि गर्न नसकेको अवस्थामा सर्वाेच्च अदालतले संविधान संशोधन गर्ने प्रस्ताव अघि नबढाउन सरकार र संविधानसभा अध्यक्षको नाममा अन्तरिम आदेश जारी गर्यो । संविधानसभाको म्याद नबढाउने अदालतको आदेशलाई काँग्रेस र एमालेले स्वागत गरे । माओवादीले अदालतले राजनीतिमा हात हालेको आरोप लगायो । सर्वाच्च अदालतको फैसलापछि या त जेठ १४ गते संविधानसभाबाट नयाँ संविधान जारी गर्ने या सर्वाच्च अदालतको पहिलेको फैसला अनुसार संविधानसभाको निर्वाचन, जनमत संग्रह वा अन्य उपयुक्त प्रबन्ध गर्नुपर्ने दबाब बढ्यो ।
विवादित विषयमा सहमति कामय गर्न भन्दै माओवादी, काँग्रेस, एमाले र मधेशी मोर्चाबीच पटक–पटक वार्ता भए । नयाँ –नयाँ प्रस्ताव अघि सार्दा पनि दलहरुबीच सहमति भएन । संविधानका मुद्दामा दलहरुबीच सहमति भइ बैठक बस्ने स्थिति नभएकाले संविधानसभाको बैठक पनि पटक–पटक स्थगित भयो । यसबीचमा संविधानमा आफ्ना अधिकार कायम हुनुपर्ने भन्दै आन्दोलनरत समूहरुसँग सरकारले वार्ता गरी सहमति गर्यो । मुलुकका विभिन्न भागमा स्थिति सहज भएपनि संविधानसभा भवन वरपरका क्षेत्रमा दबाबमुलुक कार्यक्रम सञ्चालन गर्नेको भिड भने बढ्दै गयो ।
मुख्य गतिविधि
| जेठ ७ | आदिवासी जनजाति संयुक्त संघर्ष समितिद्वारा नेपाल बन्दको आयोजना । मुलुकभरको जनजीवन प्रभावित । सञ्चारगृहका पत्रकार र सवारी साधनमाथि आक्रमण । संविधानसभा र व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगीत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक । थारु, आदिवासी जनजातिको आन्दोलनलाई समर्थन गर्ने निर्णय । सरकार र मुसलमान संघर्ष समितिबीच वार्ता । तराईमा प्रदेशको नामाकरण गर्दा मुसलमानको पनि पहिचान हुने गरी नाम राख्ने लगायतका ११ बुँदामा सहमति । काँग्रेस केन्द्रीय कार्यालयद्वारा राज्यको पुनर्संरचना गर्दा जिल्लाको नाम नटुक्राउने स्पष्ट । बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक पहिचान प्रकट गर्ने लगायतका पक्षमा बलियो हुनुपर्ने भनाइ । प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा मन्त्रिपरिषद् तेस्रो पटक विस्तार । माले, माले समाजवादी र चुरे भावर पनि सरकारमा सहभागी । सरकारद्वारा आन्दोलनरत आदिवासी जनजाति संयुक्त संघर्ष समितिलाई वार्तामा आउन आग्रह । माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा आदिवासी जनजातिले गरेको आन्दोलन जायज भएको टिप्पणी । |
| जेठ ८ | राष्ट्रपति रामवरण यादवद्वारा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छदारसँग भेटघाट । संविधान निर्माणमा गम्भीर भएर लाग्न सुझाव । माओवादी, काँग्रेस, एमाले र मधेशी मोर्चाको बैठक । राज्यपुनर्संरचनाबारे छलफल । माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा दश प्रदेशको प्रस्ताव । काँग्रेस र एमालेद्वारा अस्वीकार । माओवादी र मधेशीद्वारा निर्वाचनको प्रक्रियाबाट विवाद मिलाउनुपर्नेमा जोड । आदिवासी जनजाति संयुक्त संघर्ष समितिद्वारा नेपाल बन्द । जनजीवन प्रभावित । ठाउँ–ठाउँमा प्रेसमाथि आक्रमण । सरकार र आदिवासी जनजाती संयुक्त संघर्ष समितिबीच वार्ता । सहमति हुन सकेन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मोर्चाका संयोजक विजयकुमार गच्छदारद्वारा संयुक्त प्रेस वक्तव्य जारी । सामाजिक सदभाव राख्न आग्रह । यथोचित माग सम्बोधन गर्न तयार रहेको भन्दै आन्दोलन फिर्ता लिन आदिवासी जनजाति, थारु समुदाय, बृहत मधेशी मोर्चा लगायतलाई आग्रह । काँग्रेस र एमालेका युवा सभासद्हरुको बैठक । जेठ १४ गते संविधान जारी गर्नुपर्ने भन्दै शीर्ष नेताहरुलाई दबाबसहितको सुझाव पत्र पेश । केन्द्रीय सुरक्षा समितिको बैठक । उच्च सतर्कता अपनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन । संविधानसभाको बैठक सूचना टाँसेर स्थगीत । |
| जेठ ९ | माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादबीच भेटघाट । माओवादी, काँग्रेस, एमाले र मधेशी मोर्चाको बैठक । प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा म्याद थपको प्रस्ताव । काँग्रेस र एमालेद्वारा विरोध । मन्त्रिपरिषद् बैठक । संविधानसभाको म्याद तीन महिना थप्नका लागि प्रस्ताव अघि बढाउने निर्णय । सरकारद्वारा संविधानसभाको म्याद तीन महिना थप गर्नुपर्ने प्रस्ताव संसद सचिवालयमा दर्ता । काँग्रेस सभापति सुशील कोइरालाद्वारा महाराजगञ्जस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन । मन्त्रीपरिषद्बाट आफ्ना सदस्यहरु फिर्ता बोलाउने चेतावनी । आदिवासी जनजाति संयुक्त संघर्ष समिति नेपाल बन्दलाई निरन्तरता । सरकारी र आदिवासी जनजाति संयुक्त संघर्ष समितिको टोलीबीच वार्ता । जातिय पहिचान सहितको संघीयताको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत लगायतका नौ बुँदामा सहमति । एमाले केन्द्रीय अनुशासन आयोगद्वारा निर्णय विपरित नजान आफ्ना सभासद्हरुलाई निर्देशन । पार्टी अनुशासन विपरित भएका गतिवधिबारे सचेत रहन केन्द्रीय कमिटीलाई निर्देशन । एमाले स्थायी समितिको बैठक । पार्टी निर्णय नमान्नेको सवालमा विधान अनुसार अघि बढने निर्णय । माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच बैठक । संविधानसभा बैठकमा मतदानबाट विवादित मुद्धा टंगो लगाउनेमा जोड । काँग्रेस संसदीय दलको बैठक । जनजाति सभासद्हरुद्वारा जातिय पहिचानको आधारमा प्रदेश बनाउनुपर्नेमा जोड । संविधानसभाको बैठक सूचना टाँसेर स्थगीत । |
| जेठ १० | एमाले स्थायी समितिको बैठक । पाँच बुँदे सहमतिका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग । काँग्रेस केन्द्रीय समितिको बैठक । आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउन दबाब । आफू सरकारमा नभएको उपप्रधान एवं रक्षा मन्त्री कृष्णप्रसाद सिटौलाको भनाइ । आदिवासी जनजाति संयुक्त संघर्ष समिति र नेवाः स्वायत्त राज्य मंका संघर्ष समितिद्वारा राजधानीमा सभा । जातिय संघीयता सुनिश्चित नभएसम्म आन्दोलित भइरहने नेताहरुको भनाइ । सभासद् राधेश्याम अधिकारीद्वारा राजीनामा । सर्वाेच्च अदालतको निर्णय विपरित सरकारबाट म्याद थपको प्रस्ताव आएकाले राजीनामा दिएको भनाइ । माओवादी उपाध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापाद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी गरी षडयन्त्रमुलुक र पार्टीभित्र समेत छलफल नगरी म्याद थपको प्रस्ताव ल्याइएको आरोप । संविधानसभाको म्याद थप विरुद्ध सर्वाेच्च अदालतमा छुट्टा–छुट्टै तीनवटा रिट दर्ता । अदालतको अपहेलना गरेको भन्दै पनि मुद्दा दायर । नेपाल उद्योग बाणिज्य महासंघको अगुवाइमा राजधानीमा सद्भाव सभा । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालद्वारा जालझेल र षडयन्त्रको अर्काे नाम प्रचण्ड भएको भनाइ । माओवादी, काँग्रेस, एमाले र मधेशी मोर्चाबीच बैठक । काँग्रेस र एमालेद्वारा प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग । संविधान घोषणाको आधार तयार नभएसम्म राजीनामा नदिने माओवादी र मोर्चाको भनाइ । संविधानसभाको बैठक सूचना टाँसेर स्थगीत । |
| जेठ ११ | संविधानसभाको म्याद थप नगर्न सर्वाेच्च अदालतद्वारा प्रधानमन्त्री र सभामुखको नाममा आन्तरिम आदेश जारी । काँग्रेस र एमालेद्वारा स्वागत । माओवादीद्वारा सर्वाेच्च अदालतले राजनीतिक विषयमा हात हालेको आरोप । न्यायाधीश कल्याण श्रेष्ठको एकल इजलाशद्वारा अदालतको अपहेलनाबारे सात दिनभित्र लिखित जवाफसहित अदालतमा उपस्थित हुन प्रधानमन्त्री र कानून मन्त्रीलाई आदेश । माओवादी, काँग्रेस, एमाले र मधेशी मोर्चाका शिर्ष नेताहरुको बैठक । रुपान्तरित संसदमा जान काँग्रेस र एमालेको जोड । काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक । सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक । जेठ १४ गते नै संघीयता सहितको संविधान जारी गर्नुपर्नेमा जोड । बृहत लोकतान्त्रिक मधेशी मोर्चाको पत्रकार सम्मेलन । जेठ १४ गते संविधान जारी गर्नुको विकल्प नभएको भनाइ । मन्त्रिपरिषद्को बैठक । बन्दका क्रममा भएको क्षतिपूर्ति सरकारले दिने निर्णय । विभिन्न माग राखी मुलुकमा विभिन्न भागमा आन्दोलन र बन्द गर्नेक्रम जारी । माओवादी स्थायी समिति बैठक । काँग्रेस र एमालेले १४ प्रदेशमा सहमति जनाए प्रधानमन्त्रीले जेठ १४ गते अघि नै राजीनामा दिने निर्णय । विवाद समाधान उपसमितिको बैठक । षडयन्त्रकारी भनेकोमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालद्वारा माओवादी अध्यक्ष पुष्पकमल दाहाल सामु दुःख व्यक्त । सरकारले थरुहट राज्य दिने सहमति गरे लगत्तै अखण्ड सुदुरपश्चिमको माग गर्दै आन्दोलन शुरु । संविधानसभाको बैठक सूचना टाँसेर स्थगीत । |
| जेठ १२ | संविधानका विवादित विषयमा दलहरुबीच दिनभर वार्ता । सहमति हुन सकेन । दलहरुद्वारा एक–अर्कालाई आरोप । राष्ट्रपति रामवरण यादवद्वारा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति सुशिल कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मोर्चाका संयोजक विजयकुमार गच्छदारलाई भेट । बाँकी मुद्दालाई पछि टुंगो लगाउने गरी भएपनि संविधान जारी गर्न आग्रह । माओवादी स्थायी समिति बैठक । सहमतिका लागि अधिकतम पहल गर्ने निर्णय । सर्वोच्च अदालतको फैसला गलत भएको भनाइ । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनद्वारा संविधानसभाको म्याद सकिनु अघि नै संविधान जारी गर्न दलहरुको ध्यानाकर्षण । मिथिला राज्य संघर्ष समिति र सरकारी वार्ता टोलीबीच वार्ता । मिथिला राज्यको माग संविधानमा समावेश गरिने लगायतका विषयमा सहमति । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक । संघीयता सहितको संविधान बटमलाइन बनाउने निर्णय । बृहत मधेशी मोर्चाद्वारा राजधानीमा प्रदर्शन । यही संविधानसभाबाट संविधान चाहिने मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको भनाइ । माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक । सर्वाेच्च अदालतको आदेश हतार र पक्षपातपूर्ण भएको भनाइ । माओवादी उपाध्यक्ष मोहन बैद्य पक्षको बैठक । पहिचान सहितको संघीयता अनुसार संविधान जारी गर्नुपर्नेमा जोड । संविधानसभाको बैठक सूचना टाँसेर स्थगीत । |
