राष्ट्रपतिद्वारा शान्ति र संविधानमा केन्द्रीत हुन सुझाव (माघ २९–फागुन ६)

Sunday, February 19, 2012
Written By: Bhuwan KC/ Tilak Pathak

संविधान निर्माणका शासकीय स्वरुप, राज्यपुनःसंरचना लगायतका विषयमा सहमति हुन नसकेको बेला राष्ट्रपति रामवरण यादवले एकीकृत माआवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललाई शितल निवासस्थित आफ्नै कार्यालयमा भेट गरे । भेटमा राष्ट्रपतिले संविधान निर्माणका क्रममा बाँकी रहेका विषयलाई फागुन मसान्तसम्ममा टुङ्गो लगाउन नेताहरुलाई सुझाव दिए । उनले विशेष ध्यान दिएर शान्ति प्रक्रियालाई अघि बढाउन नेताहरुलाई आग्रह गरे ।

एमाले अध्यक्ष झलनाथ खनालले शान्ति प्रक्रिया अघि बढिरहेको, संविधानका विवादित विषयमा छलफल भइरहेको र आफूहरुबीच छिटटै सहमति हुने बताएको जानकारी दिए । संविधानसभा कार्यतालिका अनुसार संविधान निर्माण प्रक्रिया नभएपनि त्यसले जेठ १४ गतेसम्ममा संविधान जारी गर्न कुनै असर नपुर्याउने धारणा नेताहरुको थियो ।

संविधानसभा विवाद समाधान उपसमितिका संयोजक, संसदीय दलका सचेतकहरुसँग छलफल गरेका संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधान भन्दा पहिले शान्ति प्रक्रिया टुङ्गो लगाउन दलहरु सहमत भएको जानकारी दिए । राज्यपुनःसंरचना आयोगको प्रतिवेदनबारे संविधानसभा अध्यक्षको उपस्थितिमा राज्यपुनःसंरचना तथा शक्ति बाँडफाँट समितिका पदाधिकारीको परामर्श लिने र त्यसपछि संवैधानिक समितिमा पठाउने विकल्पबारे पनि दलहरुले छलफल गरे । संविधानसभाका अध्यक्ष नेम्वाङले संविधानसभा नियमावली संशोधन उपसमितिमा दलहरुबीच सहमति हुन नसक्दा राज्यपुनःसंरचना आयोगको प्रतिवेदनमा छलफल हुन ढिला भएको बताए ।

यसबीचमा आमसञ्चार माध्यममा सेना समायोजनबारे नेपाली सेनाको प्रस्ताव र त्यसमा माओवादी लडाकुलाई सहायक रथीसम्म दिने भन्ने समाचार प्रकाशित भए । त्यसलाई माओवादीले सकारात्मक रुपमा लिएपनि सात बुँदे सहमति विपरित भएको भन्दै कांग्रेस र एमालेले विरोध गरे । सेना समायोजनबारे दलहरुबीच ‘मिडिया युद्ध’ भएपछि नेपाली सेनाले सहायक रथी दिने आफ्नो कुनै पनि प्रस्तावमा नभएको र अधिकतम सेनानीसम्म समायोजन हुने स्पष्ट पार्यो । सेनाका अनुसार पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालमा तयार पारेको अवधारणालाई पूर्ण रुप दिएर त्यसबारे प्रधानमन्त्री बाबुराम भट्टराईलाई जानकारी गराइएको हो ।

माओवादीको जनरल स्टाफको बैठक पनि बस्यो । बैठकमा माओवादी कमाण्डरहरुले राजनीतिक सहमतिका आधारमा हुने समायोजन प्रक्रियाबारे आफूहरु सहमत भएपनि महानिर्देशनालयको नेतृत्व या उपरथीको दाबी गर्न पार्टी नेतृत्वलाई सुझाव दिए । एमालेले प्रधानमन्त्री शान्ति प्रक्रिया र संविधान निर्माणमा बाधक भएको भन्दै प्रधानमन्त्री भटटराईको राजीनामा माग्यो ।
पार्टीभित्र र बाहिर समेत राजीनामा मागिरहेका बेला प्रधानमन्त्रीले आफ्नो राजीनामा माग्नेलाई शान्ति र संविधान विरोधीको संज्ञा दिए । राष्ट्रिय सहमतिको सरकार गठन माओवादी स्थायी समितिको मुख्य मुद्दा भएको भनिएपनि त्यसबारे भएको छलफलमा सहमति हुन सकेन । यसबारे कांग्रेस, एमाले र माओवादीबीच पनि सहमति भएन ।

एमाले संघीय मामिला विभागले संघीय संरचनामा सांस्कृतिक पहिचान र आर्थिक संमृद्धिका सामथ्र्यका आधारमा आठ र त्यसको विकल्पमा १२ प्रदेशको प्रस्ताव अघि सार्यो । उता, शान्ति सुरक्षा कायम नभएको र सिरहामा मारिएका आफ्ना कार्यकर्ताबारे न्यायीयक छानविन गर्न समेत सरकार अग्रसर नभएको भन्दै व्यवस्थापिका संसदको बैठक अवरुद्ध गर्यो ।
सशस्त्र द्वन्द्वका बेला माओवादी जनसरकारले गरेका घरजग्गा कारोबार सम्बन्धी अध्ययन गरी सुझाव दिन सरकारले माओवादी पोलिटब्यूरो सदस्य तथा पूर्व शान्ति तथा पनुःनिर्माण मन्त्री जनार्दन शर्माको संयोजकत्वमा कार्यदल गठन गर्यो ।

मुख्य गतिविधि  

माघ २९ प्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रपति रामवरण यादवबीच भेट । राष्ट्रियता अखण्डतामा आँच आउने अभिव्यक्ति दिएको भन्दै सञ्चार मन्त्री जेपी गुप्ताबारे चासो व्यक्त । त्यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण ।
एमाले पोलिटब्यूरो बैठक । जातिय आधारमा राज्यपुनःर्संरचना गर्न नहुनेमा जोड ।
सेना समायोजन विशेष समितिको बैठक । शिविरको संख्या घटाउनका लागि सुझाव दिन सचिवालय सदस्य रामानन्द मिश्रको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन ।
माओवादी स्थायी समितिको बैठक । राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल ।
बाबु वा आमा नेपाली नागरिक हुनुभन्दा अघि जन्मेका छोराछोरीलाई नेपाली नागरिकता दिने सकारी निर्णय गैर कानूनी भएको भन्दै सर्वाेच्च अदालतमा रिट दायर ।
फागुन १ माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा पहिले शान्ति प्रक्रिया त्यसपछि संविधान निर्माण हुने धारणा व्यक्त । खुल्ला मञ्चमा आयोजित सभामा शान्ति प्रक्रिया र संविधान निर्माणमा षडयन्त्र भए जनविद्रोह गर्ने चेतावनी ।
व्यवस्थापिका संसदको बैठक । राष्ट्रिय अखण्डता विरुद्ध बोलेको भन्दै कांग्रेस, एमाले लगायतका दलहरुद्वारा सूचना तथा सञ्चार मन्त्री जयप्रकाश प्रसाद गुप्ताको राजीनामा माग । सम्पत्ति शुद्धिकरण सम्बन्धी सरकारद्वारा तीनवटा विधेयक पेश । माओवादी उपाध्यक्ष मोहन बैद्य समर्थक सभासद्द्वारा बैठक बहिस्कार ।
सुडान प्रकरणबारे विशेष अदालतको फैसला । पूर्व प्रहरी महानिरीक्षक ओमविक्रम राणालाई १७ करोड ६लाख, हेमबहादुर गुरुङलाई ६ करोड ४५लाख, रमेश चन्द ठकुरीलाई ४ करोड ८५ लाख सहित दुई वर्ष र शम्भु भारतीलाई २८ करोड ४० लाख जरिवान सहित एक वर्षको कैद ।
एमाले पोलिटब्यूरो बैठक । नागरिताका सम्बन्धी परिपत्र खारेज गर्न माग ।
प्रधानमन्त्री बाबुराम भट्टराई पोखरामा । आफ्नो राजीनामा माग गर्नेहरु शान्ति र संविधान विरोधी भएको आरोप ।
फागुन २ एमाले संघीय मामिला विभागद्वारा राज्यपुसर्नंरचनासम्बन्धी प्रस्ताव सार्वजनिक । साँस्कृतिक पहिचान र आर्थिक समृद्धिका आधारमा आठ र १२ प्रदेशको प्रस्ताव ।
संविधानसभाको म्याद थप्न नहुने प्रधानमन्त्री बाबुराम भट्टराईको भनाइ ।
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाद्वारा राज्य पुनर्संरचना आयोगको प्रतिवेदन मान्य नहुने धारणा व्यक्त ।
फागुन ३ एमाले केन्द्रीय समितिको बैठक । अध्यक्ष झलनाथ खनालद्वारा राजनीतिक प्रतिवेदन पेश ।
माओवादी जनरल स्टाफको बैठक । लडाकुका कमाण्डरहरुद्वारा राजनीतिक सहमति आफूहलाई मान्य भएको धारणा व्यक्त ।
राष्ट्रपति रामवरण यादवद्वारा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग भेट । शान्ति र संविधानमा केन्द्रित हुन सुझाव ।
कांग्रेस संसदीय दलको बैठक । परिमार्जनसहित तीनवटा विधेयक पारित गर्नुपर्नेमा जोड । माओवादीका उपाध्यक्ष मोहन बैद्य पक्षले नै विधेयकको विरोध गरेकोमा दुःख व्यक्त ।
संवैधानिक समितिको बैठक । कांग्रेस, एमाले लगायतका दलहरुद्वारा पहिले शान्ति र त्यसपछि संविधान निर्माण गर्नुपर्नेमा जोड ।
फागुन ४ संविधानसभा विवाद समाधान उपसमितिको बैठक । ७ गतेदेखि विवादित विषयमा छलफल गर्ने सहमति । विवादित विषयमा आ–आफ्ना धारणा ल्याउन दलहरुलाई आग्रह ।
एमाले केन्द्रीय कमिटिको बैठक । अध्यक्ष झलनाथ खनाललको राजनीतिक प्रतिवेदन पारित । शान्ति र संविधानका लागि बाधक रहेको भन्दै प्रधानमन्त्री बाबुराम भटटराईको राजीनामा माग ।
कांग्रेस र साना दलहरुको छलफल । संशोधनसहित तीनवटा विधेयक पारित गर्न आग्रह ।
कांग्रेस, एमाले लगायत १६ दलद्वारा प्रधानमन्त्री बाबुराम भटटराईसँग भेट । नेपाल कालो सूचीमा परे त्यसको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने भनाइ ।
सूचना तथा सञ्चार मन्त्री जेपी गुप्ताद्वारा राष्ट्रपति रामवरण यादवसँग भेट । आफनो भनाईको आशय मधेशका मागलाई काठमाडौंले नसुनेको स्पष्टीकरण ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङद्वारा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र सदभावना पार्टीका नेता लक्ष्मणलाल कर्णलाई भेट । राज्यपुनसंरचना आयोगको प्रतिवेदनको छलफल प्रक्रियाबारे छलफल । दलहरु राज्यपुनर्सरचना तथा राज्यशत्तिको बाँडफाँट समितिमा राय लिने र संवैधानिक समितिमा पठाउनमा सकारात्मक भएपनि सहमति हुन सकेन ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङद्वारा प्रक्रियामा सहमति नभएको भन्दै दलहरुप्रति असन्तुष्टि व्यक्त । छिटो भन्दा छिटो सहमति कायम गर्न आग्रह ।
मन्त्रीपरिषद्को बैठक । सशस्त्र द्वन्द्वका बेला माओवादी जनसरकारले गरेका घरजग्गा सम्बन्धी कारोबारबारे अध्ययन गरी सुझाव दिन माओवादी पोलिटव्यूरो सदस्य जनार्दन शर्मा संयोजक रहने गरी कार्यदल गठन । भौतिक, योजना तथा निर्माणमन्त्री ह्दयेश त्रिपाठीद्वारा कार्यदलमा काँग्रेस, एमाले, पीडित व्यक्ति लगायत रहने जानकारी ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीद्वारा राजधानीमा पत्रकार सम्मेलन । संघीयताको विरोधमा माहोल बन्दै गएको दाबी ।
बावु वा आमा नेपाली नागरिक हुनुअघि जन्मेका छोरा छोरीलाई वंशजका आधारमा नागरिकता दिन गृहमन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश ।
संवैधानिक परिषद्को बैठक । संवैधानिक निकायमा नियुक्तिबारे दलहरुबीच सहमति हुन सकेन ।
फागुन ५ सिरहामा आफ्ना कार्यककर्ता मारिदा पनि सरकार गम्भीर नभएको भन्दै एमालेद्वारा व्यवस्थापिका संसदको बैठक अवरुद्ध । न्यायीयक छानविनको माग ।
प्रधानमन्त्री बाबुराम भट्टराई ‘ग्लोबल समीट अफ चेन्जीङ बिहार’को उद्घाटन गर्न भारतको पटना प्रस्थान । बिहार विकासको रोल मोडल भएको भनाइ ।
एमाले केन्द्रीय कमिटीको बैठक । अध्यक्ष झलनाथ खनालले पेश गरेको आन्तरिक एकता सम्बन्धी प्रस्ताव पारित । केपी शर्मा ओली मर्यादाक्रममा तेस्रो ।
निर्वाचन आयोगद्वारा पत्रकार सम्मेलन । एक हप्ताभित्र आय–व्ययको विवरण नबुझाए १८ वटा साना राजनीतिक दलको दर्ता खारेज गर्ने चेतावनी ।
फागुन ६ एकीकृत नेकपा माओवादी स्थायी समितिको बैठक । प्रवक्ता दिननाथ शर्माद्वारा नेताहरु व्यस्त रहेकाले बैठक विषयमा प्रवेश नै नगरी स्थगीत भएको जानकारी ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा सेना समायोजन विशेष समितिको निर्देशनमा नै सेनाले आफ्नो प्रस्ताव अघि सारेको भनाइ ।
नेपाली सेनाद्वारा स्थापीत मापदण्ड अनुसार नै माओवादी लडाकुहरुको समायोजन गरिने स्पष्ट । आमसञ्चारमा आए झै सहायक रथी दिने सहमति नभएको दाबी ।