१६ दल एकातिर माओवादी अर्कातिर ( पुस २४– ३०)

Sunday, January 15, 2012
Written By: Bhuwan KC/ Tilak Pathak

शान्ति र संविधान निर्माण प्रक्रिया अघि बढ्न नसकेपछि काँग्रेस, एमाले लगायत सत्ता बाहिर रहेका १६ दल एकातिर भए भने एकीकृत माओवादी अर्कातिर । प्रतिपक्षमा रहेका दलहरुको वैठकले ‘माओवादी शान्ति प्रक्रिया र संविधान निर्माणबाट पछि हटेको’ निष्कर्ष निकाल्यो । उनीहरुले ‘विगतका सहमति कार्यान्वयनमा सरकार र माओवादी इमान्दार नहुँदा शान्ति प्रकृया नै अवरुद्ध हुने अवस्थामा पुगेको’ धारणा सार्वजानिक गरे । सहमतिहरुलाई पूर्णरुपमा कार्यान्वयन गर्न माओवादीलाई सजग गराउने उनीहरुको निर्णय थियो । लडाकु समायोजन तथा पुनस्थापनाको काम रोकिनु र विवाद समाधान उपसमितिमा भएका सहमति समेत उल्टाउने प्रयत्न हुनुले माओवादीप्रति झन् आशंका बढेको १६ दलको भनाइ रह्यो ।

शान्ति प्रक्रिया र संविधान निर्माणमा अन्य दलहरुले माओवादीलाई दोष थोपरिरहेको बेला माओवादीका नेताहरु भने पार्टीभित्रको आन्तरिक विवाद साम्य पार्न सक्रिय रहे । पार्टीको विवाद मिलाउन भनी भएका दुईपक्षीय छलफल र पदाधिकारीको बैठकले शान्ति प्रक्रिया र संविधान निर्माण नै जोखिममा परेको निष्कर्ष निकाल्यो । माओवादीका नेताहरुले कांग्रेसले शान्ति प्रक्रियालाई जोड दिएको तर संविधान निर्माणलाई गौण ठानेको भन्दै पार्टीका मुद्दा सशक्त रुपमा उठाउने सहमति गरे । शान्ति प्रक्रियाका सवालमा सेना समायोजन र कब्जा घरजग्गा फिर्ताको कुरा मात्र उठाएको भन्दै माओवादी नेताहरुले बेपत्ताहरुको स्थिति सार्वजनिक, शहीद परिवारलाई राहत, सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन लगायतका मुद्दालाई प्राथमिकताका साथ उठाउने निर्णय गरे ।

माओवादीका उपाध्यक्ष मोहन बैद्य पक्षले विवाद समाधान उपसमितिमा भएका सहमतिबारे संवैधानिक समितिमा आपत्ति जनाए । उनीहरुले संविधानसभाका विषयगत समितिमा भएका सहमति र देखिएका विवादलाई संवैधानिक समितिले मात्र टुंगो लगाउन सक्ने जिकिर गर्दै उपसमितिमा भएका सहमति नमान्ने बताए । सदन, तल्लो सभा र मताधिकार उमेरबारे उपसमितिमा भएको सहमतिलाई बैद्य पक्षका नेताहरुले नमान्ने प्रष्टयाएपछि संवैधानिक समितिको बैठक स्थगित भयो । समितिका सभापति निलाम्बर आचार्यले संविधान निर्माण प्रक्रियाबारे शिर्ष नेताहरुबीच थप छलफल गर्न आवश्यक रहेको बताए भने कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पहिले भइसकेका कुरा उल्टाउन खोजेर माओवादीले संविधान बनाउन नचाहेको टिप्पणी गरे । बैद्य पक्षका माओवादी सभासद् तथा समिति सदस्य खड्गबहादुर विश्वकर्माले पार्टी नीति विपरित उपसमितिमा भएका सहमतिलाई आफूहरुले नमान्ने प्रष्टयाए ।

त्यसपछि संविधान निर्माणबारे मात्र होइन, शान्ति प्रक्रियाबारे पनि दलहरुबीच औपचारिक रुपमा छलफल हुन सकेन । स्वैच्छिक अवकाशमा जाने माओवादी लडाकूहरुलाई बिदाइ गर्ने सेना समायोजन विशेष समितिका प्रस्तावको कार्यान्वयन प्रक्रिया सुरु हुन सकेन । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको सेना समायोजन विशेष समितिको बैठक बस्नै सकेन । कांग्रेसवाट समिति सदस्य रहेका मिनेन्द्र रिजालले शान्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री भट्टराई स्वयंले नचाहेको आरोप लगाए । माओवादी लडाकुका प्रवक्ता चन्द्रदेव खनालले लडाकूहरुले अघि सारेका मागहरु सम्बोधन नभएसम्म शान्ति प्रक्रिया अघि बढनै नसक्ने ठोकुवा गरे ।
यसैबीच चीनका प्रधानमन्त्री वेन जियाबाओले नेपाल भ्रमण गरे । राष्ट्रपति डाक्टर रामबरण यादव, प्रधानमन्त्री बाबुराम भट्टराई, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँगको भेट तथा कुराकानीमा उनले शान्ति प्रक्रिया र संविधान निर्माणमा मिलेर अघि बढ्न सुझाव दिए ।

मुख्य गतिविधि

पुस २४ मधेशी जनआधिकार फोरम नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता । अध्यक्ष उपेन्द्र यादवद्वारा सरकार इतिहासमा सबैभन्दा भ्रष्ट भएको आरोप ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक । सरकार मधेश मैत्री भएको निष्कर्ष ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन बैद्यपक्षबीच पार्टीभित्रको विवादबारे छलफल । जनपक्षिय संविधान बनाएर अघि जानेमा नेताहरु सकारात्मक ।

व्यवस्थापिका संसदको बैठक । शान्ति प्रक्रिया र संविधान निर्माण अघि बढ्न नसक्नुमा माओवादी र कांग्रेसबीच आरोप–प्रत्यारोप ।

कांग्रेस, एमाले लगायत १५ दलको बैठक । शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउन माओवादी र सरकारलाई दबाब दिने निर्णय ।

कांग्रेस संसदीय दलको बैठक । सहमतिविपरित माओवादीले शान्ति प्रक्रिया कार्यान्वयनमा अवरोध गरेको निष्कर्ष ।

पुस २५ संवैधानिक समितिको बैठक । माओवादीको उपाध्यक्ष मोहन बैद्यपक्ष सभासद्द्वारा उपसमितिले विवाद समाधान गर्न नसक्ने जिकिर । संवैधानिक समितिका सभापति निलाम्बर आचार्यद्वारा दलका नेताहरुबीच थप छलफल गर्न आवश्यक भएको धारणा व्यक्त ।

कांग्रेस, एमाले लगायत १६ दलको बैठक । माओवादी शान्ति प्रक्रिया र संविधान निर्माणबाट पछि हटेको ठहर । शान्ति प्रक्रियाका लागि माओवादीलाई दबाब दिने निर्णय ।

माओवादी पदाधिकारी बैठक । अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन बैद्यको प्रतिवेदनलाई थाँती राख्ने र नयाँ कार्ययोजनाकासाथ अघि बढ्नेबारे छलफल ।

पुस २६ निर्वाचन आयोगद्वारा ३१ वटा राजनीतिक दलहरुले आय व्ययको विवरण नबुझाएको सार्वजनिक ।

निर्वाचन आयोगद्वारा एक करोड ६३ लाखले फोटोसहितको मतदाता नामावली दर्ता गराएको जानकारी । २०६३ सालको संविधानसभाको तुलनामा फोटोसहितको मतदाताको संख्या ४२ प्रतिशतले घटेको आयोगको भनाई ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराई निकट पोलिटव्यूरो सदस्यको प्रधानमन्त्री निवास बालुवाटारमा छलफल । वर्तमान सरकारको विकल्प नभएको निष्कर्ष ।

व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिको बैठक । सरकारको कुटनीतिक असफलताकै कारण चिनीयाँ प्रधानमन्त्रीको नेपाल भ्रमण स्थगित भएको निष्कर्ष । वेनको नेपाल भ्रमणबारे मिति तय गर्न सरकारलाई निर्देशन ।

व्यवस्थापिका संसदको बैठक । गणपुरक संख्या नपुगेका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित ।

सर्वोच्च अदालतद्वारा शहीद गेटमा रहेको राजा त्रिभुवनको शालिक हटाउने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश ।

राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा भारतबाट स्वदेश फिर्ता । माओवादी आफ्नो प्रतिबद्धताबाट पछि हटेकाले शान्ति र संविधान निर्माण प्रक्रिया अड्किएको आरोप ।

असोज २७ माओवादीको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित । सरकारको पुनर्गठन र आगामी कार्ययोजनाबारे गृहकार्य गर्न बैठक स्थगित गरिएको भनाइ ।

सेनाको रासन ठेक्कामा भएको भनिएको अनियमितताबारे लेखा समितिको बैठकमा छलफल । गणपुरक संख्या नपुगेर स्थगित ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादबीच भेटघाट । शान्ति प्रक्रिया र संविधान निर्माणबारे छलफल ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल निटक पदाधिकारीको दाहाल निवासमा छलफल । उपाध्यक्ष मोहन बैद्य पक्षलाई सरकारमा ल्याउन पहल सुरु ।

अमेरिकी सरकारको स्वंसेवक कार्यक्रम पीस कोरले नेपालमा पुनः आफ्नो काम थाल्ने । सात वर्षपछि पिस कोर नेपाल आउने तयारीमा ।

एमाले लुम्बिनी समन्वय कमिटीको आयोजनामा बुटवलमा कार्यकर्ता प्रशिक्षण भेला सुरु । अध्यक्ष झलनाथ खनालद्वारा बुटवलबाट भावनात्मक एकता र सुदृढिकरणको सन्देश लिएर पार्टी गाउँ—गाउँमा पुग्ने भनाइ ।

पुस २८ माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन बैद्य पक्षबीच भेटघाट । आगामी कार्ययजनाबारे छलफल ।

संवैधानिक समितिको बैठक । मुख्य दलका शिर्ष नेताहरु अनुपस्थित । साना पार्टीद्वारा ठूला दलले शान्ति प्रक्रिया र संविधान निर्माण अघि नबढाएको ठूला पार्टीको आलोचना ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालद्वारा माओवादीलाई हतियार विहीन नपार्दासम्म शान्ति र संविधानले गति लिन नसक्ने ठोकुवा ।

पुस २९ शान्ति तथा पुनर्निर्माण मन्त्री सत्या पहाडीद्वारा पत्रकार सम्मेलन । राजनीतिक उद्देश्य लिई सशस्त्र संघर्ष गरेका समूहलाई वार्तामा आउन आग्रह ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालको नयाँ बजारस्थित निवासमा अध्यक्ष दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई, सचिव पोष्टबहादुर बोगटी र उपाध्यक्ष मोहन बैद्य, महासचिव रामबहादुर थापा र स्थायी समिति सदस्य देव गुरुङबीच कार्ययोजनाबारे छलफल ।

एमाले झलनाथ खनालद्वारा अब बन्ने संविधानमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र आलंकारिक राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त ।

पुस ३० चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ नेपालको भ्रमणमा । करिव चार घण्टाको भेटघाटपछि साउदी अरवतर्फ प्रस्थान । सहमतिका आधारमा अघि बढ्न राजनीतिक दलका नेताहरुलाई आग्रह । सरकारद्वारा चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमण अत्यन्त सफल र ऐतिहासिक भएको ठहर ।