राज्यपुनर्संरचनामा माओवादी, काँग्रेस र एमालेको छुट्टा–छुट्टै प्रस्ताव ( बैशाख १०– बैशाख १६)
एकीकृत माओवादी, नेपाली काँग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच पाँच वर्षसम्म संवैधानिक अदालत राख्ने र आमा वा बाबु मध्ये एक जना नेपाली नागरिक भए उनीहरुका छोराछोरीलाई नेपाली नागरिकता दिनेमा सहमति भयो । शासकीय स्वरुपमा जनतावाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदवाट निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने किसिमको मिश्रित प्रणालीमा जानेमा दलहरु सहमति भएपनि राष्ट्रपति र प्रधानमन्त्रीको क्षेत्राधिकारबारे टुंगो लागेन । राज्य पुनर्संरचनाबारे माओवादी, काँग्रेस र एमालेले छुट्टा–छुट्टै प्रस्ताव पेश गरेपछि दलहरुबीच झन् दुरी बढ्यो ।
दलहरुबीच छलफल भइरहेको बेला सहमतिका लागि माओवादीले लिम्बुवान–मेची, किराँत–कोशी, ताम्सालिङ –इन्द्रावती, मधेश– विराट, नेवा–वागमती, तमुवान–गण्डक, मगरात–धौलागिरी, कर्णाली, सेती–महाकाली र थारुवान–लुम्बिनी प्रदेशको प्रस्ताव अघि सार्यो । माओवादीले संविधानसभामा छलफल र विभिन्न जाती जनजातीबाट आइरहेको धारणालाई लिएर पहिचानका आधारमा नयाँ प्रस्ताव अघि सारेको बतायो । काँग्रेस र एमालेले भने माओवादीको प्रस्तावप्रति आपत्ति जनाए । काँग्रेस नेता रामशरण महतले माओवादीले संघीयतामा नाममा उपहास भएको आरोप लगाए । एमाले नेता केपी शर्मा ओलीले माओवादीको प्रस्ताव आफूहरुलाई मान्य नहुने बताए । तर, मोर्चाले भने विभिन्न जातजाती, भाषा र समुदायलाई सम्बोधन हुने गरी आएको भन्दै माओवादी प्रस्तावलाई समर्थन गर्यो ।
माओवादीले प्रस्ताव अघि सारेको अर्का दिन बसेको दलहरुको बैठकमा काँग्रेसले सात वटा प्रदेशको अवधारणा पेश गर्यो । पहिचान र सामथ्र्यका आधार काँग्रेसले कोशी, जनकपुर, बागमती, गण्डकी, कर्णाली, खप्तड र सिदार्थ प्रदेश प्रस्ताव गर्यो । काँग्रेस नेता रामचन्द्र पौडेलले पार्टीको प्रस्तावले संघीयतालाई सफल बनाउने दाबी गरे । तर, काँग्रेसको प्रस्तावप्रति माओवादी र मोर्चाले आपत्ति जनाए । मोर्चाका नेता हृदयेश त्रिपाठीले काँग्रेसको प्रस्ताव मधेश विरोधी भएको बताए ।
राज्य पुनर्संरचनाबारे छलफल भइरहँदा बसेको एमाले केन्द्रीय समितिको बैठकले संघीयता सम्बन्धी सहमतिको प्रस्ताव ल्याउने जिम्मेवारी स्थायी समितिलाई दियो । त्यसपछि एमालेले १२ वटा प्रदेशको प्रस्ताव अघि सार्यो । पहिचानका आधारमा एमालेले अघि सारेको प्रस्तावलाई माओवादीले सकारात्मक भनी टिप्पणी गर्यो । शासकीय स्वरुप र राज्यपुनर्संरचनाबारे सहमति नभएपछि दलहरुले विवाद समाधान गर्नका लागि छलफल गर्ने समय बढाए । तरपनि शासकीय स्वरुप र राज्य पुनर्संरचनाबारे दलहरुबीच सहमति हुन सकेन ।
मुख्य गतिविधीहरु
| बैशाख १० | संविधानका विवादित मुद्दामा एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच छलफल । न्यायप्रणालीबारे छलफल । पाँच वर्षका लागि संवैधानिक अदालत राख्नेमा सहमति नजिक पुगेको नेताहरुको भनाइ । प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा संविधान निर्माणमा देखिएका विवादबारे दलहरुबीच छिट्टै सहमति हुने दाबी । केही दिनभित्र संविधानले पूर्णता पाउने विश्वास व्यक्त । कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा कम्युनिष्ट पार्टीहरुद्वारा राजधानीमा भिन्दा–भिन्दै कार्यक्रम । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालद्वारा पार्टी बन्नु र भत्कनु सामान्य भएको धारणा व्यक्त । शान्ति र संविधानबारे कम्युनिष्ट पाटीबीच सहकार्य हुन सके देश धेरै अघि जान सक्ने भनाइ । संवैधानिक समितिको बैठक केहीबेर बसी स्थगित । नेताहरुद्वारा विवादित विषय मिलाउन थप समय माग । तीन दिन थप्ने सहमति । जनजाति तथा आदिवासी समुदायका विभिन्न संघसंस्थाहरुद्वारा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई ज्ञापनपत्र । जातिय पहिचान र आत्मनिर्णयको अधिकार सहितको व्यवस्था संविधानमा गर्न माग । माओवादी अध्यक्ष दाहालद्वारा पहिचानमा आफूले सम्झौता नगर्ने प्रतिबद्धता । सरकारद्वारा संविधानको बाह्रौ संशोधन विधेयक संसद सचिवालयमा दर्ता । |
| बैशाख ११ | संविधानका विवादित मुद्दामा एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच छलफल । पाँच वर्षसम्मका लागि संवैधानिक अदालत राख्ने सहमति । मिश्रित निर्वाचन प्रणाली अपनाउन पनि दलहरु सहमत । संवैधानिक समिति र विवाद समाधान उपसमितिको बैठक । सहमति जुटाउन तीन दिन मागेपछि संविधानसभाको बैठक १४ गतेसम्मका लागि स्थगित । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालद्वारा जनताको आकांक्षा सम्बोधन हुने गरी समयभित्र संविधान जारी गर्ने दाबी । समय कम भएकाले छलफललाई लम्बाइरहन नहुने सुझाव । छैठौं लोकतन्त्र दिवस । सरकार र दलहरुका तर्फबाट कुनै औपचारिक कार्यक्रम भएन । |
| बैशाख १२ | संविधानका विवादित विषयमा एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म सामूहिक र पार्टीगत रुपमा छलफल । केन्द्रीय संसदको तल्लो सदन ३ सय २५ र माथिल्लो सदन ६० गरी तीन सय ८५ सदस्य हुनेमा सहमति नजिक पुगेको नेताहरुको भनाइ । साँझ सर्वदलिय बैठक । ठूला दलहरुलाई मिलेर अघि बढ्न साना दलहरुको सुझाव । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्य पक्षद्वारा स्थायी समिति सदस्य नेत्रविक्रम चन्द इन्चार्ज रहेको स्वयंसेवक संगठन गठन । |
| बैशाख १३ | कोचिला संघर्ष समितिद्वारा राजधानीमा पत्रकार सम्मेलन । झापा, मोरङ र सुनसरीको क्षेत्रलाई मिलाएर कोचिला प्रदेशको माग । संघीय सद्भावना पार्टीद्वारा राजधानीमा पत्रकार सम्मेलन । संघीयता सहितको संविधान जारी गर्नुपर्ने माग । हिमाल, पहाड र तराइ गरी तीन प्रदेश हुनुपर्ने भनाइ । एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेको बैठक । ठूलो आकारको संसद बनाएको भन्दै आलोचना भएपछि त्यसलाई पुनर्विचार गर्नेबारे छलफल । मिश्रित प्रणालीमा जाने भनिएपनि राष्ट्रपति र प्रधानमन्त्रीको क्षेत्राधिकारबारे दलहरुबीच विवाद कायमै । संवैधानिक समितिको बैठक । सहमति खोज्ने अवधि दुई दिन बढाउने सहमति । समितिका सभापति निलाम्बर आचार्यद्वारा विवाद समाधान उपसमितिले १६ गते लिखित प्रतिवेदन बुझाउने गरी बैठक टुंग्याएको जानकारी । नेपाली काँग्रेसको केन्द्रीय समिति र संसदीय दलको बैठक । शासकीय स्वरुपमा जाँदा संसदीय सर्वाेच्चतामा जोड दिन नेतृत्वलाई सुझाव । |
| बैशाख १४ | एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेको बैठक । माओवादी अध्यक्षद्वारा राज्यपुनर्संरचनाबारे १० वटा प्रदेशको प्रस्ताव पेश । माओवादी सहमतिबाट पछि हटेको काँग्रेस र एमालेको आरोप । संविधानमा विवादित मुद्दामा सहमति नभएपछि संसदको बैठक स्थगित । अर्काे बैठक १७ गते बस्ने । आगामी जेठ १४ गतेभित्र संघीयता सहितको संविधान जारी गर्न माग गर्दै मधेशी जनअधिकार फोरम नेपालद्वारा नयाँ वानेश्वरमा प्रदर्शन । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाद्वारा निर्धारित समयमै शान्ति प्रक्रिया टुंगोमा पुग्ने र संविधान जारी हुनेमा विश्वस्त हुन आग्रह । लोकतन्त्रको मूल्य, मान्यतासँग काँग्रेसले कसैसँग सम्झौता नगर्ने कोइरालाको भनाई । । |
| बैशाख १५ | एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मेधशी मोर्चाबीच छलफल । काँग्रेसद्वारा सात प्रदेशको प्रस्ताव पेश । काँग्रेसको प्रस्ताव मधेश विरोधी भएको मोर्चाको भनाइ । माओवादी अध्यक्ष दाहालद्वारा १० प्रदेशमा सहमति नभए पहिलेको १४ वटा प्रदेशमा आफूहरु कायमै रहने भनाइ । पूर्व लडाकुहरुलाई समेटेर माओवादीद्वारा पूर्व जनमुक्ति सेना गठन । संविधान निर्माणमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा कुनै सम्झौता नगर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको भनाइ । नेकपा एमाले केन्द्रीय समितिको बैठक । शासकीय स्वरुप र राज्यपुनर्संरचनाबारे छलफल । प्रदेशबारे टुंगो लगाउने जिम्मेवारी स्थायी समितिलाई । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपति हुने व्यवस्थाका लागि अझ बढी पहल गर्न नेतृत्वलाई सुझाव । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक । माओवादीको दश प्रस्ताव व्यवहारिक रहेको भनाइ । एक मधेश एक प्रदेशको मागमा आफूहरु कायमै रहेको दाबी । नयाँ संविधानमा आफूहरुको अधिकार सुनिश्चित हुनु पर्ने माग गर्दै राष्ट्रिय मुस्लिम संयुक्त संघर्ष समितिद्वारा रत्नपार्क र घण्टाघर क्षेत्रमा प्रदर्शन । सवारी साधनमा तोडफोड गर्न लागेपछि प्रहरी हस्तक्षेप |
| बैशाख १६ | संविधानका विवादित मुद्दामा एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच छलफल । एमालेद्वारा राज्य पुनर्संरचनाको १२ वटा प्रदेशको प्रस्ताव पेश । संविधानमा आफ्नो हक सुनिश्चित गर्न भन्दै दलित नागरिक समाज, कर्णाली स्वायत्त प्रदेश संघर्ष समिति र शेर्पा समुदायद्वारा संविधानसभा भवन अगाडि धर्ना । संविधानसभा उपाध्यक्ष पूर्णाकुमारी सुवेदीद्वारा नयाँ संविधानमा महिला अधिकार सुनिश्चित हुनुपर्नेमा जोड । पूर्व जनमुक्ति सेना संघद्वारा राजधानीमा पत्रकार सम्मेलन । संविधान निर्माणमा दलहरुलाई दबाब दिने भनाइ । संयुक्त लोकतान्त्रिक थारु मोर्चाको दुई दिने सम्मेलन सम्पन्न । आत्मनिर्णय सहितका अधिकार र अग्राधिकार सहित समग्र तराई अखण्ड थरुहट स्वायत्त प्रदेश हुनुपर्ने माग । |
