हतार–हतारमा छलफलः समस्या जहाँको त्यही ( असोज २९– कार्तिक ५)

Sunday, October 23, 2011

शान्ति प्रक्रियामा सहमति गर्ने भन्दै प्रधानमन्त्री बाबुराम भट्टराईले भारत भ्रमणमा जानु भन्दा एक दिन अघि मुख्य राजनीतिक दलहरुसँग छलफल गरे । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको छलफलमा नेपाली काँगेस, एमाले र एकीकृत माओवादीबीच लामो कुरा हुन सकेन । वरु, शान्ति प्रक्रियाबारे आफनै दलभित्र पर्याप्त गृहकार्य नभएको भन्दै माओवादीका शिर्ष नेताहरुले छुट्टै छलफल गरे । पार्टीमा थप वहस गर्न आवश्यक छ भन्नेमा उपाध्यक्ष मोहन बैद्य पक्षले अडान लिएपछि माओवादीवाटै सहमतिको वातावरण तयार भएन ।

त्रिदलीय छलफलमा बैद्य पक्षले नेपाली सेना अन्तर्गत हुने महानिर्देशनालयको नेतृत्व माओवादी सेनाको हुनुपर्नेमा जोड दियो । बैठकमा माओवादीका नेताले पार्टीमा थप छलफल गर्न आवश्यक भएको बताएपछि समायोजन हुने सेनाको संख्या, तह, पुनस्र्थापनाको प्याकेज लगायतका विषयमा कुराकानी हुन सकेन । तर, वैठकले शान्ति प्रक्रियाबारे मस्यौदा तयार पार्न माओवादीबाट वर्षमान पुन, काँग्रेसबाट कृष्णप्रसाद सिटौला र एमालेबाट भिम रावल रहेको टोली गठन गर्यो ।

प्रधानमन्त्री भारत भ्रमणमा जाने दिन पनि दलहरुबीच शान्ति प्रक्रियाबारे छलफल भयो । तर, सहमति हुन सकेन । हतार–हतारमा निर्णय नगरौ भन्दै प्रधानमन्त्री स्वदेश फर्केपछि थप छलफल गरी निर्णयमा पुग्ने सहमति भयो । त्यसै दिन भएको सेना समायोजन विशेष समितिको वैठकले शिविरमा रहेका माओवादी लडाकुको संख्या अध्यावधिक गर्न सर्वेक्षण टोलीहरु पठाउने निर्णय गर्यो ।

उता, प्रतिपक्षी दलहरुले फौजदारी अभियोग लागेका भूमी सुधार मन्त्री प्रभु साह र राष्ट्रिय अखण्डता विपरित बोलेको आरोप लागेका शरतसिंह भण्डारीको राजीनामा माग्दै संसद बैठक अवरुद्ध गरे । त्यसपछि माओवादीले शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रभाव नपरोस भन्दै भुमीसुधार मन्त्री साहलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गर्यो । साथै भण्डारीको विषयमा सम्बन्धित पार्टी फोरम लोकतान्त्रिकलाई निर्णय लिन आग्रह गर्यो । फोरम लोकतान्त्रिकले पनि पार्टीभित्र विवादकै वीच रक्षा मन्त्री भण्डारीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गर्यो । त्यसपछि प्रधानमन्त्री भट्टराईले मन्त्रीहरुलाई हटाएको जानकारी दिएपछि संसदको नियमित कारवाही अघि वढयो । र, प्रधानमन्त्री भट्टराई पनि भारत भ्रमणमा गए ।

भारत भ्रमणमा क्रममा प्रधानमन्त्री भट्टराईले आफू शान्ति र संविधान निर्माणप्रति पूर्ण प्रतिबद्ध रहेको बताए । यस अवधिमा राष्ट्रपति डाक्टर रामवरण यादव र सभाध्यक्ष सुवास नेम्वाङबीच पनि शान्ति र संविधानबारे छलफल भयो । संविधानसभाका विषयगत समितिका सभापतिहरुले बैठक गरी संविधान निर्माण प्रति मुख्य दलका नेताहरु गम्भीर नभएको भन्दै अन्तुष्टि व्यक्त गरे । उनीहरुले संविधान निर्माण प्रक्रियामा मुख्य दलका शिर्ष नेताहरु नजुटे उनीहरुका विरुद्ध दबाबमुलक कार्यक्रम ल्याउने चेतावनी समेत दिएका छन् ।

मुख्य गतिविधि

असोज २९ महाराजगञ्जस्थित नेपाली काँग्रेसका सभापति सुशील कोइराला निवासमा काँग्रेस संस्थापन पक्षका नेताहरुको बैठक । भातृ संगठनहरुको कार्यसमिति विघटनपछि उत्पन विवादबारे लचिलो भइ देउवासँग छलफल गर्न सुझाव ।
फौजदारी अभियोग लागेका भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभु साह द्वारा पदबाट राजीनामा ।
विवादास्पद मन्त्रीहरुलाई नहटाएर प्रधानमन्त्रीले राष्ट्रिय अखण्डता र विधिको शासनलाई खिल्ली उडाएको आरोप । प्रतिपक्षीहरुद्वारा मन्त्रीहरुको राजीनामा नआएको भन्दै व्यवस्थापिका संसदको बैठक अवरुद्ध ।
असोज ३० रक्षा मन्त्री शरतसिंह भण्डारीले पदबाट राजीनामा दिने नदिनेबारे फोरम लोकतान्त्रिकको राजनीतिक समितिमा आठ घण्टा छलफल । बैठक विना निष्कर्ष टुंगियो ।
प्रतिपक्षी दलहरुद्वारा प्रधानमन्त्रीले विखण्डनकारीहरुलाई संरक्षण गरेको आरोप । पदबाट राजीनामा दिएका भूमी सुधार तथा व्यवस्था मन्त्रीलाई कानूनी कारवाही अघि बढाउन माग । व्यवस्थापिका संसदको बैठक अवरुद्ध ।
भारत भ्रमणबारे प्रधानमन्त्रीद्वारा सर्वदलिय बैठक आयोजना । थाती रहेका विषयमा समेत छलफल गर्न र सन्धी सम्झौता नगर्न सुझाव ।
कार्तिक १ संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता । मोर्चाका नेताद्वारा चारबुँदे सहमतिबारे प्रष्ट पार्न आग्रह ।
मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको तीन घण्टासम्म राजनीतिक समितिको बैठक । रक्षा मन्त्रीको राजीनामाबारे निर्णय हुन सकेन ।

माओवादीको स्थायी समितिको बैठक । दीर्घकालीन महत्वका र विवादित विषयहरूमा सन्धि–सम्झौता नगर्न प्रधानमन्त्री बाबुराम भट्टराईलाई सुझाव ।
माओवादीद्वारा चारबुँदे सहमतिबारे स्पष्टोक्ति । त्यसप्रति पूर्ण रुपमा प्रतिबद्ध भएको जानकारी ।
प्रतिपक्षी दलहरुद्धारा विवादास्पद मन्त्रीहरुलाई बर्खास्त गरेर मात्र भारत भ्रमणमा जान प्रधानमन्त्रीलाई सुझाव । व्यवस्थापिका संसदको बैठक अवरुद्ध ।
भारत भ्रमणबारे प्रधानमन्त्री द्वारा साना दलहरुसँग परामर्श । विवादित विषयमा सम्झौता नगर्न साना दलको सुझाव ।

कार्तिक २ प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा भूमि सुधार मन्त्री प्रभु साहको राजीनामा स्वीकृत र रक्षामन्त्री शरतसिंह भण्डारीलाई बर्खास्त । यसबारे सदनलाई जानकारी । भारत भ्रमणबारे पनि सदनलाई जानकारी । विवादास्पद विषयमा राष्ट्रिय सहमति विना सम्झौता नगर्ने प्रतिबद्धता ।
प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा राष्ट्रपति रामवरण यादवसँग भेट । भारत भ्रमण अघि शान्ति प्रक्रियाबारे महत्वपूर्ण राजनीतिक निर्णय हुन सक्ने जनाउ ।
सभामुख सुवास नेम्वाङद्वारा राष्ट्रपति डाक्टर रामवरण यादवलाई भेट । शान्ति र संविधान निर्माणबारे छलफल ।
शान्ति प्रक्रियाबारे मुख्य दलहरुबीच बालुवाटास्थित प्रधानमन्त्री निवासमा छलफल । शान्ति प्रक्रियाबारे मस्यौदा तयार पार्न माओवादीका वर्षमान पुन, एमालेका भीम रावल र काँग्रेसका कृष्णप्रसाद सिटौला रहेको टोली गठन ।
मन्त्रीपरिषद्को बैठक । भारत भ्रमणमा जाने टोली र कार्यक्रम अनुमोदन ।
रक्षामन्त्रीबाट पदमुक्त भएका शरतसिंह भण्डारीद्वारा मधेसका जायज मुद्दा उठाउँदा आफूविरुद्ध षड्यन्त्र भएको आरोप । त्यसका विरुद्ध मधेस जागरण अभियान चलाउने घोषणा ।
कार्तिक ३ सेना समायोजन विशेष समितिको बैठक । माओवादी सेनाका लडाकुको तथ्यांक अध्यावधिक गर्न सर्वेक्षण टोलीलाई शिविरहरुमा पठाउने निर्णय ।
प्रधानमन्त्री बाबुराम भट्टराई चार दिने भारतको औपचारिक भ्रमणका क्रममा दिल्ली प्रस्थान । दिल्लीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्र्दै माओवादी जनसहभागितामूलक लोकतन्त्रको पक्षमा रहेको धारणा व्यक्त ।
कार्तिक ४ एमालेका वरिष्ठ नेता माधवकुमार नेपालद्वारा शान्ति र सविधान निर्माणको काम पूरा गर्न राष्ट्रिय सहमतिको नयाँ सरकार निर्माण गर्नुपर्नेमा जोड ।
कार्तिक संविधानसभाका विषयगत समितिका सभापतिहरुद्वारा संविधान निर्माणमा गम्भीर नभएको भन्दै प्रमुख दलका शीर्ष नेताहरुको आलोचना । संविधानको एकीकृत मस्यौदा ल्याउने काममा दलका शीर्ष नेता र सभाध्यक्ष तत्काल नजुटे दबाबका कार्यक्रम गर्ने चेतावनी ।