प्राथमिकतामा मन्त्रीद्धय भण्डारी र साहको राजीनामा (असोज २२ – २८)

Sunday, October 16, 2011
Written By: Bhuwan KC/ Tilak Pathak

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टरार्ईले शान्ति प्रक्रियाबारे सहमतिको नजिक पुगेको भन्दै छिट्टै सहमति हुने दाबी गरेपनि व्यवहारमा ठोस परिणाम आएन । काँग्रेस र माओवादीबीचको छलफल निष्कर्षमा पुग्न नसकिरहेको वेला काग्रेसले एमालेसँग छलफल गर्यो । काँग्रेस र एमालेबीचको वार्ताले शान्ति र संविधानका विषयमा साझा अवधारणा तयार पार्ने निष्कर्ष निकाल्यो भने माओवादी चाहिं आन्तरिक विवादमा परिरह्यो ।

पार्टीभित्र आन्तरिक विवाद भइरहेका वेला भूमि सुधार तथा व्यवस्था मन्त्री प्रभु साहलाई हिन्दु युवा संघ विरगञ्जका अध्यक्ष काशिनाथ तिवारीको हत्यामा मुख्य योजनाकार रहेको भन्दै पक्राउका लागि प्रहरीले पूर्जि काटेको मुद्दाले महत्व पायो । रक्षा मन्त्री शरतसिंह भण्डारीले तराईका २२ जिल्ला अलग हुन सक्ने भनी दिएको अभिव्यक्तिबारेको मुद्दा पनि चर्कियो ।

दुवै मन्त्रीले पदबाट राजीनामा दिनुपर्ने भन्दै प्रतिपक्षी दलहरुले व्यवस्थापिका संसदको बैठक अवरुद्ध गरे । माओवादीको उपाध्यक्ष मोहन बैद्य पक्ष रक्षामन्त्री भण्डारीको अभिव्यक्ति विरुद्ध सडक आन्दोलनमा ओर्लिसकेको थियो । त्यसैवीच माओवादी संसदीय वोर्डको असोज २६ गतेको वैठकले रक्षामन्त्री भण्डारीले राजिनामा दिनुपर्ने निर्णय ग¥यो जसलाई त्यही दिन साँझ अध्यक्ष पुष्पकमल दाहालले पत्रकारहरुमाझ औपचारिक रुपमा सार्वजानिक नै गरे ।

सञ्चार माध्यममा निरन्तर समाचार र प्रतिपक्षी दलहरुको संसद अवरोधका गतिविधीका कारण गठवन्धन दलहरु रक्षामन्त्री भण्डारी र भूमिसुधार मन्त्री साहको विषयमा छलफल गर्न वाध्य भए । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र माओवादी नेतृत्वबीच असोज २८ को वार्तामा आ–आफ्नो पार्टीमा छलफल गरेपछि निर्णय गर्ने सहमति भयो । मन्त्रीद्धयको राजीनामाको मुद्दाले सबैतिर प्राथमिकता पाएपछि यो साता शान्ति प्रक्रियाको विषय ओझेलमा पर्यो ।

मुख्य गतिविधि

असोज २२ माओवादीको संस्थापन पक्षद्धारा असोज २९ गतेका लागि राष्ट्रिय प्रशिक्षण कार्यकर्ता भेला आह्वान । उपाध्यक्ष मोहन बैद्य पक्षद्वारा २८ गते त्यस्तै प्रशिक्षण भेला आह्वान ।
असोज २३ माओवादी र एमालेका शिर्ष नेताहरुबीच भेटघाट । वेपत्ता छानविन आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने, द्वन्द्वकालमा कब्जा घरजग्गा फिर्ता लगायतका शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा छलफल ।
कांग्रेस सभापति सुशील कोइरालाले सभामुख सुवास नेम्वाङबीच भेटघाट । माओवादीले विगतका प्रतिवद्धता कार्यन्वयन गरी विश्वसनीय वातावरण नबनाएसम्म शान्ति प्रक्रिया अघि बढ्न नसक्ने कोइरालाको भनाइ ।
काँग्रेस र माओवादी नेताबीच भेटघाट । सेना समायोजनबारे छलफल ।
असोज २४ काँग्रेस र एमालेका नेताबीच भेटघाट । शान्ति प्रक्रिया र संविधान निर्माणबारे साझा अवधारण तयार पार्ने सहमति ।
असोज २५ संविधानसभाका अध्यक्ष सुवास नेम्वाङद्वारा संविधानसभामा रहेका साना दलहरुसँग छलफल । शान्ति प्रक्रियामा ठूला दलहरूबीच सहमति जुट्न सके संविधान निर्माण कार्य अघि बढ्ने निष्कर्ष ।
माओवादी पदाधिकारी बैठक । दुवै पक्षको भेला स्थगित गर्ने निर्णय । कार्तिक १७ गतेदेखि केन्द्रीय कमिटि बैठक बोलाउने निर्णय । भूमिसुधार मन्त्री प्रभु साहलाई विना आधार हत्याको अभियोग लगाइएको भन्दै कारवाही प्रक्रिया अघि नबढाउन सरकारसमक्ष आग्रह ।
असोज २६ काँग्रेस, एमाले लगायतका प्रतिपक्षी दलहरुद्वारा रक्षामन्त्री भण्डारी र भूमिसुधारमन्त्री साहलाई बर्खास्त गर्न माग गर्दै व्यवस्थापिका संसदको बैठक अवरुद्ध ।
माओवादी संसदीय बोर्डको बैठक । रक्षा मन्त्री भण्डारीको राजीनामा माग्ने निर्णय । तर, तिवारीको हत्यामा प्रभु साह संलग्न नभएको दाबी गर्दै उनको वचाउ । साँझ पत्रकार सम्मलेन गरी अध्यक्ष दाहालद्वारा संसदीय वोर्डको निर्णय सार्वजानिक ।
असोज २७ माओवादी र एमाले नेताहरुबीच भेटघाट । राष्ट्रिय अखण्डता विरुद्ध अभिव्यक्ति दिने रक्षा मन्त्री र फौजदारी अभियोग लागेका भूमिसुधार मन्त्रीलाई तत्काल वर्खास्त गर्न प्रधानमन्त्रीलाई दबाब ।

 

असोज २८ माओवादीका नेता र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच वार्ता । मन्त्रीद्धयको राजिनामाको विषयमा सम्बन्धित दलले निर्णय लिने सहमति ।
एमाले भातृ संगठन अनेरास्ववियुद्वारा रक्षा र भूमिसुधार मन्त्रीलाई पदबाट तत्काल बर्खास्त गर्न माग गर्दै काठमाडौंमा र्याली प्रदर्शन ।