प्रधानमन्त्रीको बोली फेरियो ( असोज ८– १४)

Sunday, October 2, 2011

एकीकृत नेकपा माओवादीले भदौ ८ गते आफ्नो पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन भए ४५ दिनभित्र शान्ति प्रक्रियाका मूलभूत कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहितको प्रस्ताव अघि सारेको थियो । राष्ट्रिय सहमतिको सरकार गठन नभएपनि माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा बहुमतीय सरकार गठन भयो । प्रधानमन्त्री भए लगत्तै भट्टराईले ४५ दिनभित्र शान्ति प्रक्रियाका मूलभूत कामलाई सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरे । त्यसपछि हतियार राखिएको कन्टेनरको साँचो बुझाए लगपनि शान्ति प्रक्रियाका अन्य काम अघि बढन सकेन ।

संयुक्त राष्ट्रसंघको ६६औं महासभामा सहभागी हुन अमेरिका पुगेका भट्टराईले अन्तर्राष्ट्रिय समुदायलाई आफू शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुंगो लगाउन केन्द्रीत भएको बताए । तर, स्वदेश आएलगत्तै भट्टराईले बोलि फेरे । विमानस्थलमा पत्रकारहरुसँग भने, ‘राजनीतिक दलहरुबीच सहमति भएको ४५ दिनपछि शान्ति प्रक्रियाका मूलभूत काम सम्पन्न हुनेछन भनेको हुँ ।’ उनको यो भनाईलाई नेपाली काँग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलहरुले माओवादी र प्रधानमन्त्री दुवै आफ्नो प्रतिबद्धताबाट पछि हटेको रुपमा लिए । यसले गर्दा सत्तापक्ष र प्रतिपक्षीदलहरुबीच थप अविश्वास बढ्यो । परिणामस्वरुप शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रगति भएन ।

त्यसैवीच रक्षामन्त्री शरतसिंह भण्डारीले तराईको २२ जिल्लाले निर्णय गरे टुक्रिन सक्ने भनी दिएको अभिब्यक्ति र भुमीसुधारमन्त्री प्रभु साहलाई वीरगञ्जका काशीनाथ तिवारी हत्याकाण्डको आरोप लागेको भन्दै प्रतिपक्षीहरुले मन्त्रीद्धय भण्डारी र साहले राजिनामा दिनुपर्ने माग गरे । उनीहरुले फौजदारी अभियोग लागेको र राष्ट्रिय अखण्डता विरुद्ध अभिव्यक्ति दिएको भन्दै विरोध चर्काएपछि शान्ति प्रक्रिया र संविधान निर्माणका कुरा गौण भए ।

मुख्य गतिविधि

असोज ८ दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानलाई अध्यक्षबाट हटाइएको भन्दै सोही पार्टीका नौ जना केन्द्रीय सदस्यले सभासद् पद समेत खारेज गर्न सभामुख सुवास नेम्वाङ समक्ष निवेदन पेश ।
सरकारले विश्वासको वातावरण बनाउन नसक्दा शान्ति प्रक्रियामा गतिरोध आएको निष्कर्ष निकाल्दै माओवादीद्धारा कब्जा गरेको सम्पत्ति फिर्ता गर्नुपर्ने, वाईसीएलको अर्ध सैनिक संरचना तत्काल भङ्ग गर्नुपर्ने, समायोजन हुने लडाकुको संख्या निर्धारण गर्नुपर्ने, पुनस्र्थापना प्याकेज निर्धारण गर्नुपर्ने लगायतका राष्ट्रिय प्रजातन्त्र पार्टीको ६ बुँदे धारणा सार्वजनिक ।
असोज ९ नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाद्धारा बहुमतको निर्णय लाद्ने पार्टी सभापति सुशील कोइरालाको कार्यशैलीलाई अवज्ञा गर्दै अघि बढ्ने चेतावनी ।
संयुक्त राष्ट्रसंघको ६६ औं महासभामा सहभागी भएर प्रधानमन्त्री बाबुराम भट्टराई स्वदेश फिर्ता । सरकार गठन भएको ४५ दिनभित्र सेना समायोजनको काम आफू एक्लैले सक्ने प्रतिबद्धता नजनाएको प्रष्टोक्ति । दलहरुबीच न्यूनतम सहमति भएको ४५ दिनमा समायोजनको काम सकिने बताएको दाबी ।
प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति र संविधानको ४५ दिने कार्यतालिकाबारे बोली फेर्नु माओवादीको छलछाम र अल्मल्याउने प्रवृत्तिको निरन्तरता भएको कांग्रेस र एमालेको निष्कर्ष ।
रक्षामन्त्री शरतसिंह भण्डारीद्धारा तराईका २२ जिल्लाले निर्णय गरेर अलग हुन सक्ने चेतावनी ।
प्रधानमन्त्री भट्टराईद्धारा माओवादीभित्रको विवादले शान्ति प्रक्रिया र संविधान लेखनमा कुनै फरक नपार्ने जिकिर । ।
प्रधानमन्त्री बाबुराम भट्टराई र सभामुख सुवास नेम्वाङबीच भेटवार्ता । शान्ति र संविधान निर्माणमा दलहरुबीच सहमति जुटाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्रीको प्रतिबद्धता ।
असोज १० प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा राजनीतिक भेटघाटलाई तिव्र । राष्ट्रपति रामबरण यादव, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष मोहन बैद्य र नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग छुट्टा–छुट्टै भेट ।
नेकपा एमालेद्धारा रक्षामन्त्री शरतसिंह भण्डारी र भूमी सुधार मन्त्री प्रभु शाहलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग ।
असोज ११ भ्रातृ संगठन कार्यसमिति विघटनको विवाद नमिलेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाद्धारा केन्द्रीय सदस्य पदबाट राजीनामा ।
एकीकृत माओवादीको मोहन वैद्य समूह रक्षामन्त्री शरतसिंह भण्डारीलाई बर्खास्त गर्न माग गर्दै सडक आन्दोलनमा ।
नेपाली काँग्रेस र एकीकृत नेकपा माओवादीका शिर्ष नेताबीच बालुवाटार स्थित प्रधानमन्त्री निवासमा वार्ता । शान्ति प्रक्रिया छिटै निष्कर्षमा पुर्याउन दुई दल सहमत ।
असोज १२ एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक । रक्षा मन्त्री शरतसिंह भण्डारीको अभिव्यक्तिलाई सरकार गठनका बेला भएको चारबुँदे सहमतिसँग जोडेर व्याख्या नगर्न आग्रह ।
मन्त्रीपरिषद्को बैठक । रक्षा मन्त्री शरतसिंह भण्डारीद्धारा राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकताका विरुद्ध आफूले सोच्न पनि नसक्ने भनी प्रष्टोक्तिसहितको वचाउ ।

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकद्धारा पत्रकार सम्मेलन । भण्डारीको अभिव्यक्तिमा भाषागत र प्रस्तुतीमा त्रुटिपूर्ण भएपनि आसय गलत नभएको जिकिर ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल भारतबाट स्वदेश फिर्ता । शान्ति प्रकृया र नयाँ सविधान निर्माणका लागि राष्ट्रिय सहमतिको सरकार निर्माणमा जोड ।

असोज १३ रक्षामन्त्री भण्डारीको राजीनामा माग गर्दै एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्यपक्षद्धारा मुलुकका विभिन्न स्थानमा मशाल जुलुस ।
असोज १४ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालद्धारा शान्ति प्रकृया र सविधान निर्माणलाई नयाँ क्रान्ति र वर्ग संर्घषको तयारीका रुपमा उपयोग गर्नुपर्ने धारणा व्यक्त । समाजवादको लक्ष्यमा पुग्न अहिलेको सक्रमणकाललाई सफलतापुर्वक अवतरण गराउन आवश्यक भएको विचार व्यक्त ।