संविधानसभा विघटनपछिको राजनीतिक परिदृश्य (जेठ १४–२०)

Sunday, June 3, 2012
Written By: Bhuwan KC/ Tilak Pathak

संविधानसभा विघटन
संविधान जारी गर्ने मुख्य जिम्मेवारी पूरा नगरी संविधानसभा विघटन भयो । चारवर्षसम्म प्रयास गर्दापनि दलहरुले संविधान जारी गर्न सकेनन् । पछल्लिो समयमा मूलतः एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेतृत्वले संविधान निर्माणका विवादित विषयमा छलफल गरेका थिए । तर, उनीहरुको प्रयासबाट ठोस परिणाम आएन । पहिचान र सामथ्र्यका आधारमा प्रदेश निर्माण गर्नमा दलहरु सहमत भएपनि प्रदेशको नाम एकल जातिय पहिचान कि बहुजातिय पहिचानबाट राख्ने भन्नेमा तिव्र मतान्तर थियो । माओवादी र मधेशी मोर्चा एकल पहिचानको पक्षमा थिए भने काँग्रेस र एमाले बहुपहिचानको पक्षमा थिए । त्यसमा सहमति नभएपछि दलहरुले विकल्पबारे छलफल गरे । त्यसमा दलहरुबीच सहमति भएन । दलहरुबीच सहमति नभएकाले नै संविधानसभाको बैठक समेत बस्न सकेन । राजनीतिक दलहरुबीच छलफल हुँदाहुँदै समय निर्क घर्किसकेका थियो । त्यहीँबीचमा प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी मंसीर ७ गतेका लागि संविधानसभाको नयाँ निर्वाचन घोषणा गरे । र, संविधानसभाको म्याद समाप्त भयो ।

राजनीतिक मुद्दाः

दलिय आरोप प्रत्यारोप : संविधानसभाको नयाँ मिति प्रस्ताव गर्नासाथ दलहरुबीचको विवाद झन बढ्यो । सरकारमा सहभागी एमाले र राप्रपाका मन्त्रीले राजीनामा दिए । संविधानसभा विघटनको दोष पनि एकअर्कालाई लगाउन थाले । संविधानसभा विघटन भएपछि काँग्रेस, एमाले, मधेशी जनअधिकार फोरम, फोरम लोकतान्त्रिकका शरतसिंह भण्डारी, राजपाका सहअध्यक्ष प्रकाशचन्द्र लोहनी राष्ट्रपतिको कार्यालय पुगी ज्ञापनपत्र बुझाए । ज्ञापनपत्रमा ‘संविधानसभाको नयाँ निर्वाचनका लागि संविधानसभामा आवश्यक संशोधन गर्नुका साथै अन्य आवश्यक प्रबन्ध गरी सहमतिका साथ जानुका साटो सरकारले सर्वसत्तावादी चरित्र प्रदर्शन गरेको’ उल्लेख गर्दै भनिएको छ, ‘प्रधानमन्त्रीको यस्तो कार्यबाट विश्वमै अनुपम रुपमा रहेको समावेशी समानुपातिक संविधानसभा भंग भएको छ । प्रधानमन्त्री जननिर्वाचित संविधानसभा भंग गरी निरंकुश किसिमले सत्ता कब्जा गर्ने दुरासयका साथ उद्यत रहेको स्पष्ट भएको छ ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहालले काँग्रेस र एमालेका कारण संविधानसभा विघटन भएको आरोप लगाए । ‘सारमा भन्दा नेपाली जनताको सामन्तवाद र साम्राज्यवाद विरोधी संविधानका लागि लडेका थियौ । र, त्यो पहिचान सहितको संघीयताको स्थापना गर्ने कि नगर्ने विषयमा गएर अन्तरविरोध संकेन्द्रीत हुन पुग्यो । देशलाई पहिचान सहितको संघीयतामा जान दिन नचाहने एकात्मकवादीहरु घोर पुरातनवादी र यथास्थितिवादीहरुले संविधानसभालाई सफल हुन दिएनन्’–माओवादी अध्यक्ष दाहालको आरोप थियो, ‘काँग्रेस–एमालेका साथीहरु संघीयताको मर्म बुझ्न असफल हुनुहुन्छ र हुनुभयो पनि । नेपालमा विभेदको अन्त्य गर्न संघीयता चाहिएको कुरा उहाँहरु बुझ्नुहुन्न, संघीयता भन्न बित्तिकै तर्सिेनुहुन्छ । एउटा समस्या त्यसका कारण पनि प¥यो ।’
काँग्रेसले भने संघीयतामा माओवादीले बखेडा झिकिरहँदा समस्या आएको आरोप लगायो । ‘हामीले पहाडमा दुईवटा संयुक्त पहिचानलाई एकै ठाउँमा मिलाएर लिम्बु र राई बसोबास क्षेत्र, नेवार र तामाङ क्षेत्र, गुरुङ र मगर बसोबास क्षेत्र र सिजा डोटयाली सभ्यतालाई एकै ठाउँमा राखेर चार प्रदेश बनाऔ भनेको हो । त्यति गर्दा सबैको सहमतिमा बनेका दुई मुख्य आधार पहिचान र सामथ्र्य दुवै पूरा हुने हाम्रो तर्क हो’, काँग्रेसको आरोप छ, ‘तर, पहिचान र सामथ्र्य दुवैलाई उपेक्षा गरेर मनोगत रुपमा माओवादीले १४ प्रदेशमा अनावश्यक अडान लिएकै कारण पहाडमा एकल जातिय पहिचानका ८ र तराई मधेशमा भने संयुक्त पहिचानका २ प्रदेशको विल्कुलै अव्यवहारिक र असन्तुलित खालका प्रदेश निर्माण योजना अघि सार्यो ।’

प्रधानमन्त्री बाबुराम भट्टराईले अग्रगामी र यथास्थितिवादी सोचवीचकै अन्तरविरोधका कारण संविधानसभा विघटन भएको आरोप लगाए । एमालेले संविधानसभा विघटन हुनुमा माओवादी मुख्य दोषी भएको आरोप लगायो । पत्रकार सम्मेलन गरी एमालेले भन्यो–‘यो निर्णय कुनै आकस्मिक, बाध्यात्मक र अप्रत्यासित थिएन । यो माओवादी सर्वसत्तावादको एउटा अभिव्यक्ति मात्रै हो र उसले विघटनपछिको शून्यतामार्फत् बन्दुकबाट प्राप्त हुन नसकेका, प्रचण्डले आफू प्रधानमन्त्री हुँदा गर्न नसकेका र कथित सहरी विद्रोहबाट समेत स्थापित हुन नसकेका आफ्ना एजेण्डालाई पूरा गर्न चाहेको छ ।’
काँग्रेसले पनि माओवादीले षडयन्त्रमूलक ढंगबाट संविधानसभा विघटन गरेको आरोप लगायो । काँग्रेसले ‘नियोजित रुपमा सत्ता कब्जा गर्ने एनेकपा (माओवादी)को षडयन्त्रबाट नेपाली जनताद्वारा निर्वाचित ऐतिहासिक संविधानसभा हठात अवसान भएको र संविधानसभा, व्यवस्थापिका–संसद, राजनीतिक सहमति र संवैधानिक प्रक्रियालाई छलेर सरकारले कपटपूर्ण ढंगले एकलौटी गरेको निर्वाचन घोषणाले देशलाई गम्भीर संवैधानिक र राजनीति संकटतर्फ धकेलेको भन्दै सरकारको कदमलाई असंवैधानिक, प्रतिगामी र निरङकुश’ भनी टिप्पणी ग¥यो । उता, माओवादी उपाध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापाले भने संविधानसभा विघटन हुनुमा आफ्नै पार्टीका शिर्ष नेताहरु सबैभन्दा बढी दोषी रहेको आरोप लगाए ।

दलिय धुव्रीकरण : संविधानका विषयवस्तुमा पनि माओवादी र मोर्चाका धेरै नजिक थिए भने काँग्रेस र एमालेबीच बढी घनिष्टता थियो । सरकारले संविधानसभाको निर्वाचन घोषणा गर्नासाथ त्यसको पक्ष र विपक्षमा तीव्र धुव्रीकरण सुरु भइहाल्यो । सरकारको कदम विरुद्ध काँग्रेस, एमाले, मधेशी जनअधिकार फोरम, राष्ट्रिय जनशक्ति पार्टी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिक (शरतसिंह भण्डारी) तत्कालै एकजुट भए । २०६९ साल जेठ १५ गते काँग्रेस, एमाले, राप्रपा, राष्ट्रिय जनशक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा माले, चुरे भावर राष्ट्रिय एकता पार्टी र नव नेपाल निर्माण पार्टीको बैठक बस्यो । बैठकले माओवादी र सरकारको विरोध गर्दै भन्यो –‘सहमति भइसकेको विषयहरुलाई समेटेर संविधान जारी गर्ने र बाँकी विवादित विषयहरुलाई रुपान्तरित व्यवस्थापिका संसदबाट टुंगो लगाउने अथवा नयाँ जनादेशको लागि निर्वाचनमा जानका लागि संविधान संशोधन गरी उपयुक्त वैधानिक व्यवस्था मिलाउनका लागि सभामुख समेतको सहमतिमा संशोधन प्रस्तावको मस्यौदा समेत तयार भएको अवस्थामा अन्यन्त आपत्तिजनक र षडयन्त्रपूर्ण ढंगबाट मन्त्रिपरिषद्ले राजनीतिक दलहरु एवं सांसदहरु समेतलाई गुमराहमा राखी संविधानसभाको अन्त्य गर्ने कार्यको भत्र्सना गरेको छ ।

सरकारका कदम विरुद्ध विपक्षीहरु थप सक्रिय भए । संविधानसभा विघटन भएको अर्काे दिनमा आयोजित बैठकमा १५ राजनीतिक दल उपस्थित भए । उनीहरुले संविधानसभा विघटनमा माओवादी दोषी रहेको भन्दै सरकार विरुद्ध आन्दोलनमा जाने निर्णय गरे भने राजनीतिक संकटको निकासका लागि राष्ट्रिय सरकारको गठन र त्यसले गर्ने निर्वाचन भएको निष्कर्ष निकाले । सोही दिन भएको सत्ता पक्षीय गठबन्धनले आयोजना गरेको बैठकमा १६ वटा राजनीतिक दलको सहभागिता रह्यो । बैठकले निर्वाचन गराउने सरकारी निर्णयको स्वागत गर्दै भन्यो– ‘यो निर्णय संवैधानिक, लोकतान्त्रिक र सर्वाेच्च अदालतले गरेको फैसला अनुरुप छ । हामी यसलाई स्वागत गर्छाै, संविधानसभा विघटन हुने तत्कालिन स्थितिमा पुन जनताको जनादेश लिँदै संविधानसभाको अर्काे चुनाव गराउनु नै सरकारको बाध्यता थियो ।’ सत्ता पक्षीय गठबन्धनले निर्वाचनलाई जोड दिएपछि विपक्षी गठबन्धनले सरकार विरुद्ध सडक आन्दोलनमा जाने निर्णय गरे । राजनीति दलहरु झै विभिन्न संघ संस्थाहरु तथा व्यक्ति पनि निर्वाचन घोषणा गर्ने सरकारको पक्ष र विपक्षीमा धुव्रीकृत भए ।
जवाफदेहिता कसको ?

संविधानसभाको विटघनपछि राजनीतिक दल र तिनका नेताहरुले विना हिच्किचावट त्यसको नैतिक जिम्मेवारी लिनुपर्ने थियो । तर, सबै दलले आ–आफ्नो कमजोरीलाई सजिलै स्वीकार गरेनन् । संविधानसभाको नयाँ निर्वाचनको मिति घोषणा गरेका प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान निर्माणमा आफूहरु असफल भएको भन्दै त्यसका लागि दुःख व्यक्त गरे । उनले आफ्नो हिस्सामा पर्ने जिम्मेवारी मात्रै लिने बताए । ‘…संविधानसभाको एक जिम्मेवार सदस्य, संविधानसभाको प्रतिनिधित्व गर्ने एक राजनीतिक दलको जिम्मेवार नेता तथा यस कालखण्डको मुलुकको कार्यकारी प्रमुखको हैसियतले तोकिएको अवधीमा संविधान जारी गराउन नसक्दा मैले लिनुपर्ने जिम्मेवारीको हिस्साको उत्तरदायित्व महशुस गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति क्षमा याचना गर्दछु ।’ माओवादी अध्यक्ष दाहालले पनि माफी माग्दै भने–‘यस सन्दर्भमा हामी कमजोरीबाट मुक्त छौ भन्ने हाम्रो मनासाय होइन । हामीबाट पनि गल्ती भएका छन् । हामी नेपाली जनतासँग त्यसका लागि विनम्रतापूर्वक माफी माग्दछौ । र, फेरि पनि संविधानसभाको चुनाव गराएर जनतामा गएर नै हामी यो गल्ती कमजोरीलाई सच्चाउँदै आफ्नो जिम्मेवारी पूरा गर्न चाहान्छौ । सत्ता पक्षिय गठबन्धनले संविधानसभा विघटन हुनुलाई दुःखद छ मात्र भन्यो ।

संविधानसभा विघटनमा माओवादीलाई दोष लगाउँदै आएका काँग्रेस र एमालेले आफ्नो तर्फबाट केही न केही कमजोरी भएको भन्ने स्वीकार गरेनन् । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र संवैधानिक समितिका निलाम्बर आचार्यले पनि संविधानसभा विघटनमा आफ्नो जिम्मेवारी बोध गरेनन् । एमालेका नेता प्रदीप ज्ञवाली र उषाकला राईले सञ्चार माध्यमबाटै आफ्नो कमजोरी स्वीकार गरे । ‘हामीले तपाइहरुलाई नयाँ संविधान दिन सकेनौ । झण्डै ७५ वर्षदेखिको नेपालको लोकतान्त्रिक आन्दोलनको यो सर्वाेच्च प्राप्ति, तपाइ हाम्रा सपना गाँसिएको यो सर्वाेत्तम निकाय, नेपालको भविष्यको रेखाचित्र कोर्ने यो सुन्दर आर्ट हामीले सफल पार्न सकेनौ’, ज्ञवाली लेखेका छन्, ‘तर मलाइ जीवनकै एउटा पीडादायी क्षणको यो अनुभुतिले निकै आहत तुल्याएको छ । तपाईहरुको एकजना प्रतिनिधिको हैसियतले म तपाइहरुसँग विनम्रतापूर्वक हात जोडछु र तपाईहरुलाई निराश तुल्याएकोमा आत्मालोचित हुन्छु ।’

संवैधानिक मुद्दा

विवाद अधिकारको : संविधानसभा विघटन भएपछि कार्यकारी अधिकारबारे विवाद शुरु भयो । बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री बाबुराम भट्टराईले कार्यकारी अधिकार आफूमा भएको दाबी गरे । उनले भने–‘अन्तरिम संविधान अनुसार देशको कार्यकारी अधिकार मन्त्रिपरिषद्मा निहित छ । अन्तरिम संविधानमा स्पष्ट रुपमा कार्यकारी अधिकार मन्त्रिपरिषदमा निहित छ । त्यसो भएको हुनाले कुनै पनि दुविधा हुन्छ भन्ने लाग्दैन । मेरो नेतृत्वको मन्त्रिपरिषद्ले कार्यकारी अधिकार प्रयोग गरी आमनिर्वाचन सम्पन्न गर्नेछ । संविधानले मार्गनिर्देश गरेको पनि यही हो ।’ त्यसपछि पनि प्रधानमन्त्रीले कार्यकारी अधिकार आफूमा भएको दाबी गरे ।

एमालेले भने त्यसलाई स्वीकार गरेन । एमालेको निष्कर्ष थियो, ‘जनप्रतिनिधि निकायलाई कायम राखी संवैधानिक बाटोबाटै नयाँ जनादेशमा जाने उपयुक्त बाटो रहँदारहँदै पनि मुलुकलाई संकटतर्फ अघि बढाउने माओवादी नेतृत्वको सरकारले संवैधानिक र राजनीतिकरुपमा आफ्नो औचित्य गुमाइसकेको छ ।’ त्यसपछि एमाले अध्यक्ष खनालले घोषित निर्वाचन हुन नसक्ने पनि प्रष्टयाए । उनले भने, ‘हाम्रो पार्टी संविधानसभा बिघटन भएको अवस्थामा वर्तमान सरकार कामचलाउ अवस्थामा रहेको निष्कर्षका साथ यस्तो सरकारबाट वर्तमान चुनौतीको सामना गर्दै सहमतिका साथ संविधानसभाको निर्वाचन हुन नसक्ने कुरा स्पष्ट गर्न चाहन्छ ।’
काँग्रेस केन्द्रीय कार्य समितिको बैठकले पनि सरकारको हैसियत समाप्त भएको निष्कर्ष निकाल्यो । ‘…वर्तमान प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई सत्तामा रहिरहने कुनै संवैधानिक र राजनैतिक आधार नभएकाले प्रधानमन्त्रीले तत्काल राजीनामा गरी सत्ता छोडनुपर्छ ।’ विपक्षी गठबन्धनको बैठकले पनि प्रधानमन्त्री भट्टराईको संवैधानिक र नैतिक हैसियत समाप्त भएको ठहर गर्यो । र, भन्यो–‘संवैधानिक आधार समाप्त भइसकेका प्रधानमन्त्रीको हैसियत ‘काम चलाउ’ मा भएको र उनीबाट भएको निर्वाचनको घोषणाले विधिको शासन र संवैधानिक प्रकृयामाथि आधात पुगेको छ ।’
यस्तै विपक्षी गठबन्धनले संविधानसभा विघटन भएको र सरकारले राजनैतिक एवं संवैधानिक हैसियत गुमाएको बताएपनि माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने त्यसलाई स्वीकार गरेनन । उनले भने, ‘मलाइ के लाग्छ भने यो कुनै संवैधानिक संकटको विषय होइन । हामी भ्रममा नपरौं । अहिले कुनै संवैधानिक संकट आएको छैन । चार वर्षभित्र संविधान बनाउन सकेनौ, सर्वाच्चले अब नथप भन्यो, नयाँ चुनावमा जाउ भन्यो, हामीले त्यही गर्यौ । अनि संवैधानिक संकट कहाँबाट आउँछ ? यो बाहियात कुरा हो । संवैधानिक संकट छैन ।

विभिन्न पार्टी तथा संघसस्थाका प्रतिनिधिहरुले राष्ट्रपतिकहाँ पुगेर प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाउन आग्रह गरिसकेका थिए । विपक्षी गठबन्धनले ज्ञापनपत्र बुझाइ संविधानको धारा ३६ (क) अनुसार संविधानको संरक्षण र पालना गर्नुपर्ने प्रावधानलाई समेत ध्यानमा राख्दै उपयुक्त कदम चाल्न राष्ट्रपतिलाई अनुरोध गरे । उनीहरुले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल थाल्न राष्ट्रपतिलाई आग्रह गरे । जवाफमा राष्ट्रपतिले भने–‘अहिले संसद र संविधानसभा छैन । मैले भन्ने संविधानसभा अध्यक्षलाई हो । उहाँ पनि संविधानतः पदमुक्त भइसक्नुभयो । अब त्यो अवस्था छैन । म संविधानभन्दा बाहिर जान सक्दिन ।’

यता राष्ट्रपतिले संविधानसभा र व्यवस्थापिका संसद नरहेको अवस्थामा प्रधानमन्त्रीको पद स्वतः समाप्त भएको स्पष्ट पारे । राष्ट्रपति कार्यालयले निकालेको प्रेस विज्ञप्तिमा ‘नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा (७) मा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने विभिन्न ४ वटा अवस्था उल्लेख गरिएको र सो उपधाराको खण्ड (ख) मा ‘निज व्यवस्थापिका संसदको सदस्य नरहेमा’ भन्ने वाक्यांश रहेको छ । ‘माथिको व्यहोराबाट संविधानसभा र व्यवस्थापिका संसदको अस्तित्व समाप्त भइसकेको स्थितिमा व्यवस्थापिका संसदको सदस्यको हैसियतमा प्रधानमन्त्रीको उम्मेदवार बनी निर्वाचित हुनु भएका तत्कालिन संविधानसभाका माननीय सदस्य डा बाबुराम भट्टराईको सदस्यता समेत संविधानसभाको समाप्तिसँगै स्वतः समाप्त हुन गएको’ भनी उल्लेख गरियो । यस्तै नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा (९) मा ‘उपधारा (७) बमोजिम प्रधानमन्त्री आफ्नो पदबाट मुक्त भएपनि अर्काे मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहनेछ’ भनी उल्लेख भएको हुँदा सम्माननीय राष्ट्रपतिले संवत २०६८ साल भाद्र १२ गतेका दिन तत्कालिन संविधानसभाका माननिय सदस्य डा बाबुराम भट्टराईको अध्यक्षतामा गठित मन्त्रिपरिषद्लाई नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा (९) बमोजिम अर्काे मन्त्रिपरिषद् गठन नभएसम्म दैनिक कार्य सञ्चालन गर्न स्मरण गराउनु भएको छ, उल्लेख गरियो । त्यसपछि पनि विपक्षी दलहरुले प्रधानमन्त्रीको राजीनामा माग्दै आन्दोलन गरिरहेका छन् ।
अन्तरिम संविधान २०६३ मा अहिलेका राजनीतिक अवस्थालाई सम्बोधन गर्नका लागि स्पष्ट कानूनी प्रावधान नहुँदा अन्योल सिर्जना भएको हो । सत्ता पक्ष र विपक्षीबीच द्वन्द्व तिव्र छ । तसर्थ अहिलेको राजनीतिलाई ‘ट्रयाक’मा ल्याउनका लागि राजनीतिक दलहरुबीच पुनः नयाँ सहमति जरुरी छ ।

मुख्य गतिविधि

जेठ १४ माओवादी, काँग्रेस, एमाले र मधेशी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता । सहमतिका लागि भन्दै काँग्रेसद्वारा १३ प्रदेशको प्रस्ताव पेश । माओवादीले र मोर्चाले राखेको १० र १४ प्रदेशलाई संविधानको अनुसूचीमा राख्ने र जनमत संग्रहमा जान सकिने काँग्रेसको प्रस्ताव ।
माओवादी र आदिवासी जनजाति सभासदहरुको समूह ककसबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता । एकल पहिचानका आधारमा संघीयता हुनुपर्नेमा जोड । जनजातीका कारण संविधानसभा भंग नगर्न आग्रह । वार्ता सकारात्मक भएको जनजाति सभासद्हरुको भनाइ ।
माओवादी, काँग्रेस, एमाले, मोर्चा र महिलासभासद्हरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता ।
काँग्रेस सभापति शुसील कोइरालाको महाराजगञ्जस्थित निवासमा पदाधिकारी र केही केन्द्रीय सदस्यहरुको बैठक । १३ प्रदेशको प्रस्ताव अघि लैजाने र नमिलेको विषयलाई रुपान्तरित संसदबाट टुंगो लगाएर भएपनि संविधान जारी गर्नुपर्नेमा जोड ।
प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा राष्ट्रपति रामवरण यादवसँग भेट । संविधान निर्माणका लागि भएका प्रयास र नभएको अवस्थामा उत्पन्न हुने परिस्थितिबारे छलफल ।
सभामुख सुवास नेम्वाङ सहित माओवादी, काँग्रेस, एमाले र मोर्चाका नेताहरुबीच सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा वार्ता । संविधानका विवादित विषयमा सहमति हुन नसकेपछि बाँकी विषयलाई रुपान्तरित संसदमा लाने, संकटकाल लगाएर म्याद थप्ने, संविधान संशोधन गर्ने वा नयाँ जनादेशमा जाने विकल्पमा छलफल । राती अवेरसम्म छलफल गर्दा पनि सहमति कायम गर्न दलहरु असफल ।
राष्ट्रिय मानव अधिकारद्वारा प्रेस विज्ञप्ति निकाली विवादित विषयलाई टुंगो लगाउन नसके संवैधानिक प्रक्रियाद्वारा पछि टुंगो लगाउने सहमति गरेर भएपनि संविधान जारी गर्न राजनीतिक दलहरुलाई आग्रह ।
राष्ट्रपति रामवरण यादवद्वारा राजनीतिक स्थिति र त्यसपछि हुने सक्ने अवस्थाबारे आफू निकटका कानून व्यवसायीसँग परामर्श ।
प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी स्थायी समितिको बैठक । जसरी भएपनि संविधानसभाबाट संविधान जारी गर्नका लागि नेतृत्वलाई सुझाव ।
माओवादी उपाध्यक्ष मोहन बैद्य पक्षका पोलिटब्यूरो सदस्यको बैठक । संविधानसभाको राज्यपुनर्संरचना समितिमा प्रदेश बाहेक अन्य विषयमा मात्रै सहमति नगर्न आग्रह ।
संविधान जारी गर्न, आफ्ना अधिकार प्रत्याभुत गर्न र नयाँ जनादेशमा जान दबाब दिँदै वानेश्वरस्थित संविधानसभा वरपरका क्षेत्रमा धर्ना र नारा जुुलुस जारी ।
संविधान जारी गर्न दबाब दिँदै संविधानसभा भवन परिसरमा सभासद्हरुद्वारा नाराजुलुस ।
मन्त्रिपरिषद्को बैठक । प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा मंसिर ७ गतेका लागि संविधानसभा निर्वाचनको मिति प्रस्ताव । परामर्श नगरी संविधानसभाको प्रस्ताव आएको भन्दै एमाले, राप्रपा लगायतका मन्त्रीहरुद्वारा फरक मत राखी बैठक बहिस्कार ।
प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा राष्ट्रपति रामवरण यादवबीच भेट । निर्वाचनको मितिबारे जानकारी ।
प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन । काँग्रेस र एमाले अन्य विकल्पमा जान नचाहेपछि सर्वाेच्च अदालतको आदेश अनुसार संविधानसभाको निर्वाचनका लागि मिति प्रस्ताव गरेको भनाइ । संविधान बन्न नसकेकोमा दुःख व्यक्त । संघीयता विरोधीका कारण संविधान बन्न नसकेको आरोप । कार्यकारी अधिकार आफूमा भएको दाबी ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र काँग्रेसका उपसभापति रामचन्द्र पौडेलद्वारा चुनाव घोषणा गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको आरोप ।
काँग्रेस, एमाले, राजपा, मधेशी जनअधिकार फोरमका नेता, फोरम लोकतान्त्रिकका शरत्सिंह भण्डारी लगायतका नेताहरुद्वारा राष्ट्रपतिसँग भेटघाट । संवैधानिक शुन्यता उत्पन्न भएकाले संविधानको रक्षकको हैसियताले आफ्नो भूमिका निर्वाह गर्न राष्ट्रपतिलाई आग्रह ।
राती अवेरसम्म प्रयास गर्दापनि संघीयताबारे दलहरुबीच सहमति हुन सकेन । संविधानसभाको म्याद स्वतः समाप्त ।
भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहद्वारा प्रेस विज्ञप्ति जारी । नेपालको राजनीतिक प्रक्रिया विफल बनाउन बाह्य शक्ति सक्रिय भएको आरोप ।
जेठ १५ माओवादी स्थायी समिति बैठक । संविधानसभामा जाने सरकारको निर्णय सही भएको निष्कर्ष ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा पत्रकार सम्मेलन । संविधानसभाको म्याद स्वतः समाप्त भएकाले निर्वाचनमा जान सरकार बाध्य भएको भनाइ । मुलुकमा संवैधानिक संकट नभएको र प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल राजीनामा नदिने स्पष्ट ।
माओवादी उपाध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापाद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी । राजनीतिक दलहरुसँग परामर्श नगरी संविधानसभा विघटन गरेको भन्दै विरोध ।
आदिवासी जनजाति महासंघद्वारा पत्रकार सम्मेलन । संविधानसभा विघटनप्रति असहमति । विघटनको दोष सम्पूर्ण सभासद्हरुले लिनुपर्ने भनाइ ।
प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित समारोहलाई सम्बोधन । संविधान जारी नगरी संविधानसभा विघटन हुनु नेपाली राजनीतिको सबैभन्दा दुःखद् घटना भएको भनाइ । सरकार गिराउने खेल र अग्रगमन स्वीकार नगर्ने राजनीतिक दलहरु संविधानसभा विघटनको मुख्य कारण भएको निष्कर्ष ।
पेशागत संघसंस्था र नागरिक समाजका अगुवाहरुको राजधानीमा भेला । राजनीतिक दलहरुको गैरजिम्मेवारीपनका कारण संविधानसभा निरर्थक रहेको निष्कर्ष । संविधानसभा विघटन हुनुले राजनीतिक दल र शिर्ष नेताहरु असफल र असक्षम भएको भनाइ । स्वतन्त्र निर्वाचनका लागि प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रिय सरकार गठन गर्नुपर्नेमा जोड ।
काँग्रेस, एमाले लगायतका राजनीतिक दलहरुको सानेपास्थित काँग्रेस कार्यालयमा बैठक । संविधानसभाको निर्वाचन घोषणा गर्ने प्रधानमन्त्रीको निर्णय गैरकानूनी भन्दै त्यसका विरुद्ध राजनैतिक र कानूनी संघर्ष गर्ने निर्णय ।
संवैधानिक समितिका पूर्व सभापति निलाम्बर आचार्यद्वारा संविधानसभाको अर्काे चुनाव हुन सक्ने संवैधानिक आधार नभएको भनाइ ।
राष्ट्रपति रामवरण यादवद्वारा राष्ट्रपति भवनमा चियापान कार्यक्रमको आयोजना । नेताहरुद्वारा संविधानसभा विघटन हुनुमा एकअर्कालाई दोषारोपण ।
जेठ १६ नयाँ निर्वाचन गर्ने प्रधानमन्त्रीको घोषणा विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर । घोषणा अन्तरिम संविधान विपरित रहेको जिकिर ।
प्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रपति रामवरण यादवबीच भेटघाट । राजनीतिक गतिरोध अन्त्य गरी सहमति कायम गर्दै अघि बढनेबारे छलफल । दुवै संस्थाले संवैधानिक मर्यादा कायम गर्नेबारे पनि छलफल ।
प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद र नेपालका लागि चिनियाँ राजदूत याङ् हौलानसँग छुट्टा–छुट्टै भेट । दुवै देशका राजदूतद्वारा मुलुकमा विकसित राजनीतिक घटनाक्रमबारे चासो व्यक्त । प्रधानमन्त्री भट्टराईद्वारा लोकतान्त्रिक प्रक्रियामा मुलुक अघि बढने भनाइ ।
राष्ट्रपति रामवरण यादवद्वारा प्रधानमन्त्री बाबुराम भट्टराई काम चलाउ भएको स्पष्ट । अर्काे मन्त्रिपरिषद् गठन नभएसम्म दैनिक कार्य सञ्चालन गर्न स्मरण ।
एमाले स्थायी समिति बैठक । संविधानसभा विघटनको मुख्य दोषी माओवादी भएको आरोप । संवैधानिक र कानूनी जटिलताको सामना गर्न वर्तमान सरकार विघटन गरी राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्नेमा जोड । सहमतिको सरकारले मात्र मुलुकलाई नयाँ निर्वाचनको दिशामा लान सक्ने भनाइ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा पार्टी केन्द्रीय कार्यालयमा कार्यकर्ताहरुलाई प्रशिक्षण । नयाँ संविधानसभा निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन । दुई तिहाई मत ल्याउने गरी केन्द्रीत हुन आग्रह ।
निर्वाचन आयोगद्वारा चुनाव गराउने प्रतिबद्धता व्यक्त । त्यसको लागि संविधान संशोधन हुन आवश्यक भएको भनाइ ।
संविधान निर्माणको जिम्मेवारी पूरा नगरी संविधानसभा स्वतः भंग भएकोमा गैरआवासिय नेपाली संघ (एनआरएन) द्वारा चिन्ता व्यक्त । २००७ सालदेखिको जनचाहनामा फेरि ठेस लागेको भनाइ ।
संविधानबिना संविधानसभा विघटन भएकोमा संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनद्वारा चिन्ता व्यक्त । बैधानिक प्रकृयाबाट संविधान निर्माणको कामलाई निरन्तरता दिन सुझाव ।
काँग्रेस, एमालेसहित एक दर्जन पार्टीको सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा बैठक । संविधानसभाको निर्वाचन घोषणा गर्ने सरकारको निर्णय असंवैधानिक भन्दै प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग । राष्ट्रिय सहमतिको सरकार गठन भएपछि मात्रै चुनावमा जान सकिने भनाइ ।
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा सत्तापक्षिय १९ दलको बैठक । काँग्रेस र एमालेका कारण संविघानसभा विघटन भएको आरोप । सरकारले गरेको नयाँ निर्वाचनको घोषणा संवैधानिक, लोकतान्त्रिक र सर्वाेच्च अदालतको फैसला अनुसार भएको निष्कर्ष ।
काँग्रेस केन्द्रीय कार्य समितिको बैठक । सत्ता कब्जा गर्ने रणनीतिअनुसार संविधानसभा विघटन गरेको आरोप ।
जेठ १७ कानून व्यवसायी र नागरिक समाजका अगुवाद्वारा राष्ट्रपति रामवरण यादवसँग भेट । कानूनको रक्षा गर्न राष्ट्रपतिलाई आग्रह । राष्ट्रपति यादवद्वारा संविधानभन्दा बाहिर गएर कुनै निर्णय नगर्ने स्पष्ट ।
पार्टीको भावी योजनाबारे काँग्रेसद्वारा पूर्व सभासद्हरुसँग छलफल । सरकारले एकलौटी रुपमा संविधानसभाको निर्वाचन घोषणा गरेको भन्दै पूर्वसभासद्हरुद्वारा आपत्ति । केही सभासद्हरुद्वारा पुनस्र्थापना गर्नुपर्नेमा जोड ।
माओवादीका उपाध्यक्ष मोहन बैद्य पक्षद्वारा आफू समर्थक केन्द्रीय सदस्य तथा सल्लाहकारहरुसँग आगामी कार्ययोजनाबारे छलफल ।
माओवादी उपाध्यक्ष मोहन बैद्यपक्षीय पोलिटब्यूरो सदस्यहरुको भेला । संविधानसभा विघटनबारे अध्यक्ष पुष्पकमल दाहालले स्पष्टिकरण दिनुपर्ने माग । संविधानसभा विघटन हुनुमा अध्यक्ष दाहाल र उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराई दोषी रहेको निष्कर्ष ।
काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाद्वारा दलहरुबीच सहमति भए संविधानसभा पुनस्र्थापना गर्न सकिने धारणा व्यक्त । माओवादीले सत्ता कब्जा गर्ने रणनीति अनुसार संविघानसभा विघटन गरेको आरोप ।
काँग्रेस केन्द्रीय कार्य समितिको बैठक । संविधानसभाको निर्वाचन घोषणा गर्ने प्रधानमन्त्रीको कदम विरुद्ध आफ्ना जनवर्गिय संगठनलाई परिचालन गर्ने निर्णय ।
प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिनुपर्ने भन्दै १६ विद्यार्थी संगठनद्वारा राजधानीमा प्रदर्शन ।
संविधानसभाको निर्वाचन पुन घोषणा गरेकोमा सर्वाेच्च अदालतद्वारा १० दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आदेश ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक । संविधानसभाको निर्वाचन गराउने सरकारको निर्णय सही भएको भन्दै निर्वाचनमा भाग लिने निर्णय । काँग्रेस, एमाले लगायतका दलहरुले पहिचान सहितको संघीयता विरोधी अडान राखेकाले संविधानसभा विघटन भएको आरोप ।
जेठ १८ सर्वाेच्च अदालतका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या । सर्वाेच्च अदालतद्वारा बममाथिको आक्रमण विधिको शासन धरासायी बनाउने दुश्प्रयासको रुपमा लिएको भनाइ ।
अदालतको अवहेलाना सम्बन्धी मुद्दामा जवाफ दिन प्रधानमन्त्री बाबुराम भट्टराई सर्वाेच्च अदालतमा हाजिर । अदालतको अवहेलना गर्न आफ्नो कुनै मनसाय नभएको दाबी । कानून तथा न्यायमन्त्रीबाट राजीनामा दिइसकेका काँग्रेस महामन्त्री पनि अवहेलना सम्बन्धी मुद्दामा जवाफ दिन अदालतमा हाजिर ।
काँग्रेस नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा काँग्रेस र एमालेका नेताहरुको बैठक । माओवादी नेतृत्वको सरकार विरुद्ध संयुक्त संघर्ष अघि बढाउने निर्णय ।
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाद्वारा संविधानसभाको विघटन अप्रत्याशित नभइ सुनियोजित षडयन्त्र अन्तर्गत भएको धारणा व्यक्त ।
एमालेद्वारा पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन । संविधानसभाको निर्वाचन घोषणालाई नौटंकीको संज्ञा । दलहरुबीच सहमतिको सरकार नबनेसम्म निर्वाचन असम्भव भएको भनाइ ।
प्रधानमन्त्री बाबुराम भट्टराई र एमाले अध्यक्ष झलनाथ खनालबीच भेटवार्ता । संविधानसभा माओवादीका कारण विघटन भएको एमाले अध्यक्ष खनालको आरोप । राष्ट्रिय सहमतिको वातावरण बनाउनका लागि प्रधानमन्त्रीद्वारा सहयोग गर्न आग्रह ।
जेठ १९ माओवादी केन्द्रीय समितिको बैठक । अध्यक्ष दाहालद्वारा पार्टी एकताका लागि पद त्याग्न तयार रहेको भनाइ । असार १५ देखि १७ गतेसम्म बिस्तारित बैठक गर्ने निर्णय । असार १ गते जनप्रदर्शन गर्ने र संघीयता पक्षधरबीच मोर्चाबन्दी गर्ने निर्णय ।
केन्द्रीय सुरक्षा समितिको बैठक । देशको सुरक्षा अवस्थामा सुधार ल्याउन प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन ।
प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा काँग्रेस सभापति सुशील कोइरालासँग भेटघाट गरी राष्ट्रिय सहमति कायम गर्नका लागि सहयोग गर्न आग्रह । कोइरालाद्वारा संविधानसभाको निर्वाचन घोषणा गर्ने निर्णय सच्याउन आग्रह ।
एमाले केन्द्रीय कार्यालयमा १९ दलको बैठक । प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग्दै देशभर प्रदर्शन गर्ने निर्णय ।
माओवादी बैद्य पक्षको पत्रकार सम्मेलन । समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा सर्वपक्षिय गोलमेचसभाको माग । नयाँ सरकार र संविधान निर्माण प्रक्रिया त्यहीबाट गरिनुपर्नेमा जोड ।
एमाले नेतृत्वद्वारा संविधानसभा विघटनमा माओवादी दोषी रहेको र १९ दलले लिएको निर्णयबारे स्पष्ट पार्न गाउँ गाउँमा जान पूर्वसभासद्हरुलाई निर्देशन ।
जेठ २० काँग्रेसद्वारा पत्रकार सम्मेलन । संविधानसभा विघटन हुनुमा माओवादी दोषी रहेको आरोप । सर्वसत्तावाद लागू गर्ने षडयन्त्रअनुसार माओवादीले संविधानसभा विघटन गरेको भनाइ ।
एमाले पोलिटब्यूरोको बैठक । आयोग बनाएर संघीयताबारेको विवाद मिलाउने प्रयास ।
बृहत मधेशी मोर्चाको पत्रकार सम्मेलन । अन्तरिम संविधान २०६३ को संरक्षक र राष्ट्रप्रमुखको हैसियतले मुलुकलाई निकास दिन राष्ट्रपति रामवरण यादवलाई आग्रह ।
राष्ट्रपति रामवरण यादवद्वारा एमाले अध्यक्ष खनाललाई भेट । राजनीतिक गतिरोध अन्त्य गर्नका लागि सहमतिबाट अघि बढन खनाललाई आग्रह ।