शान्ति प्रक्रिया पुनः अवरुद्ध (पुस ३ – ९)
एकीकृत माओवादी सेनाका लडाकुहरुको पुनर्वर्गीकरणपछि सेना समायोजन विशेष समितिको सचिवालयले सेनाको समायोजन, स्वैच्छिक अवकाश र पनुस्र्थापनाबारे समितिमा कार्ययोजना पेश गर्यो । तर, माओवादी, कांग्रेस र एमालेबीच कुरा मिल्न नसकेपछि शान्ति प्रक्रिया अघि बढ्न सकेन ।
शिविर खाली गर्ने कार्यतालिकाबारे पनि तीन दलबीच सहमति हुन सकेन । कांग्रेस र एमालेले स्वैच्छिक अवकाश र पुनस्र्थापनामा जानेलाई राहतको कार्यक्रम दिइ शिविर खाली गर्दै जानुपर्ने बताए भने माओवादीले स्वैच्छिक अवकाश, पनुस्र्थापना र समायोजनलाई पूरा गरेर मात्र शिविरहरु खाली गर्नुपर्ने अडान लियो । दुवै पक्ष आ–आफ्नो अडानबाट टसमस भएनन ।
समायोजन हुने माओवादी लडाकुहरुको संख्या निर्धारण र तहबारे पनि दलहरुबीच कुरा मिलेन । माओवादीले पुनर्वर्गीकरणमा सेनामा समायोजन हुने लडाकुको संख्या दलहरुबीच भएको सहमति भए भन्दा बढी भएको भन्दै बढाउनुपर्ने बतायो । तर, कांग्रेस र एमाले संख्या बढाउन सहमत भएनन । सेनाको सख्या र तहबारे शिर्ष नेताहरुबीच छलफल भइ सहमति कायम गर्ने भनिएपनि यसबीचमा शिर्ष नेताहरुको बैठक बस्न सकेको छैन । दलहरुबीच सहमति नभएपछि सेना समायोजन विशेष समितिको बैठक समेत स्थगित गरियो ।
यसबीचमा कांग्रेस र एमालेको छुट्टै बैठक बस्यो । बैठकले शान्ति प्रक्रिया अघि बढ्न नसक्नेमा मुख्य दोष माओवादीलाई लगायो । बैठकले तत्काल शान्ति प्रक्रिया अघि नबढाए प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिनुपर्ने ठहर गर्यो । यस्तै २०६८ साल कात्तिक १५ गते भएको सातबुँदे सहमति अनुसार पहिले कब्जा गरिएका सम्पत्ति फिर्ता र लडाकुहरूको पुनःस्थापनाको काम अघि बढ्न नसकेको निष्कर्ष पनि निकाल्यो । एमाले स्थायी समितिको बैठक र कांग्रेस संसदीय दलको बैठकले पनि शान्ति प्रक्रिया अघि नबढनुमा माओवादी मुख्य दोषी भएको आरोप लगाए ।
शान्ति प्रक्रिया अवरुद्ध भएको भन्दै माओवादी जनमुक्ति सेनाका प्रमुख नन्दकिशोर पुन लगायतको टोलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेट्यो । तरपनि मुख्य दलहरुबीच पुन छलफल भएर सहमति हुने वातावरण तयार भएन । उता, माओवादी पार्टीभित्रको विवादको असर संविधान निर्माणमा समेत पर्यो । संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिमा भएका निर्णयबारे उपाध्यक्ष मोहन बैद्य पक्षले प्रश्न उठाउँदै उल्टाउने प्रयास गर्यो । जनयुद्ध शब्दलाई संविधानको व्याख्यात्मक टिप्पणीमा राख्ने सहमति अध्यक्ष पुष्पकमल दाहालले गरेको भएपनि बैद्य पक्षका सभासद् तथा प्रमुख सचेतक देव गुरुङले त्यो सहमति पार्टीगत नभई अध्यक्षको व्यक्तिगत भएको जिकिर गरे ।
मुख्य गतिविधि
| पुस ३ | कांग्रेसद्वारा तरुण दल चितवनका अध्यक्ष शिव पौडेललाई सहीद घोषणा र उनीमाथि लगाइएको मुद्दा फिर्ता लिन सरकारलाई अपरान्ह तीन बजेसम्मको अल्टिमेटम । माग पूरा नभएको भन्दै भोलिपल्टका लागि नेपाल बन्द गर्ने घोषणा ।
संवैधानिक समिति अन्तर्गत विवाद समाधान उपसमितिको बैठक । नयाँ संविधानमा प्रदेशहरुले पनि केन्द्रीय व्यवस्थापिकामा संविधान संशोधन प्रस्ताव ल्याउन सक्ने प्रावधान राख्न राजनीतिक दलहरु सहमत । राजदूत र विशेष प्रतिनिधि नियुक्तिमा समानुपातिक समावेशी सिद्धान्त गर्नेमा पनि सहमति । माओवादी, कांग्रेस र एमालेको बैठक । स्वैच्छिक अवकाश र पुनस्र्थापना रोजेका माओवादी लडाकुलाई शिविरबाट बिदा गर्ने समयतालिकाबारे दलहरुबीच विवाद । स्वैच्छिक अवकाश र पुनस्र्थापना प्रक्रियामा जाने लडाकुहरुलाई उनीहरुले रोजेको प्योकेज दिएर तत्काल शिविर खाली गर्नुपर्ने कांग्रेस र एमालेको भनाइ । माओवादी स्वैच्छिक अवकाश, समायोजन र पुनस्र्थापनाको सम्पूर्ण काम सकिएपछि मात्र शिविर खाली गर्नुपर्ने पक्षमा । एमालेका महासचिव तथा सेना समायोजन विषेश समितिका सदस्य ईश्वर पोखर कांग्रेसद्वारा प्रधानमन्त्री बाबुराम भट्टराईका कारण स्वैच्छिक अवकासमा जाने लडाकुलाई शिविरबाट बाहिर पठाउन ढिलाइ भएको आरोप । माओवादी पूर्व लडाकुहरुको संगठन बर्हिगमन जनमुक्ति सेना संघर्ष समितिद्वारा आफ्ना मागको सुनवाइ नभएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा । पहिला भएको सहमति कार्यान्वयन गर्न माग । माओवादी पदाधिकारी बैठक । संविधानको विवादित विषयमा छलफल । पार्टी निर्णयबाट पछि नहट्न उपाध्यक्ष मोहन बैद्य पक्षको दबाब । राष्ट्रिपति डाक्टर रामबरण यादवद्वारा पाँच महिनाभित्र शान्ति प्रक्रियाको टुङ्गो लगाइ संविधान जारी गर्न सरकार र राजनीतिक दलहरुलाई विशेष ध्यानाकर्षण । संविधानसभाको म्याद थप्न नमिल्ने सर्वाच्च अदालतको फैसला भन्दा बाहिर जाने अवस्था नल्याउन पनि दलहरुलाई आग्रह । |
| पुस ४ | कांगे्रस द्वारा नेपाल बन्दको आयोजना । जनजीवन प्रभावित । राजधानी र बाहिर गरी १० सवारी साधन र ६ वटा एम्बुलेन्स तोडफोड ।
गृह मन्त्रालयका प्रवक्ता शंकरप्रसाद कोइरालाद्वारा पत्रकार सम्मेलन । फौजदारी अभियोग लागेका तरुण दल चितवनका अध्यक्ष शिव पौडेल सहित १५ जना अभियुक्तको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएको जानकारी । कांग्रेसले आयोजना गरेको बन्दका कारण संवैधानिक समितिको बैठक स्थगित । कांग्रेस केन्द्रीय समितिको बैठक । शिव पौडेलको मुद्दा फिर्ता लिई सहिद घोषणा नगर्दासम्म आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय । आन्दोलनको रुप भने बदलिने । |
| पुस ५ | दलहरुबीच कुरा नमिलेपछि सेना समयोजन विशेष समितिको बैठक स्थगित ।
संवैधानिक समिति विवाद समाधान उपसमितिको बैठक । संविधानको प्रस्तावनामा सबै आन्दोलनको भावना समेट्ने गरी ‘विगतका शान्तिपूर्ण आन्दोलन र सशस्त्र संघर्र्ष’ भन्ने शब्द राख्ने सहमति । बाँकीलाई व्याख्यात्मक टिप्पणीमा राख्ने सहमति । एमालेका अध्यक्ष झलनाथ खनाल र नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसी भेटवार्ता । शान्ति प्रक्रिया र संविधान निर्माणबारे छलफल । |
| पुस ६ | एमालेको भातृ संगठन अनेरास्ववियुद्वारा अखिल फोर्सको घोषणा ।
संविधानसभा संवैधानिक समितिको बैठक । माओवादीका उपाध्यक्ष मोहन बैद्य सभासद्द्वारा संविधानमा माओवादी सेनाका लडाकु समायोजनको विषय उल्लेख नगर्ने उपसमितिमा भएको सहमति उल्टाउन दबाब । प्रदेशहरुको नाम प्रदेशसभा राख्ने सहमति । नेपाली कांग्रेस संसदीय दलको बैठक । माओवादीका कारण शान्ति प्रक्रिया अघि बढ्न नसकेको निष्कर्ष । कांग्रेस र नेकपा एमाले नेताहरुको बैठक । शान्ति प्रकृया अवरुद्ध भएको निष्कर्ष । त्यसमा मुख्य दोषी माओवादी भएको आरोप । मन्त्रिपरिषद्को बैठक । नेपाली सेनालाई समावेशी बनाउन मधेशी समुदायबाट तीन हजार भर्ना गर्ने निर्णय । |
| पुस ७ | माओवादीका उपाध्यक्ष मोहन बैद्य समर्थक लडाकुहरुद्वारा अध्यक्ष पुष्पकमल दाहालसँग भेट । स्वैच्छिक अवकाश रोजेकालाई एकमुष्ठ रकम दिएर बिदा गरिनु पर्ने, घाइते, अपाङ्ग, सुत्केरी लडाकुलाई विशेष व्यवस्था गर्नुपर्ने, बिदा गर्दा राष्ट्रिय सम्मान पत्र दिनुपर्ने लगायतका दश बुँदे ज्ञापनपत्र पेश । प्रधानसेनापति छत्रमानसिंह गुरुङद्वारा राष्ट्रपति रामवरण यादवसँग भेट । मधेशी समुदायबाट तीन हजार युवालाई सेनामा भर्ना गर्ने सरकारी निर्णयबारे छलफल । संवैधानिक समिति विवाद समाधान उपसमितिको बैठक । माओवादीका उपाध्यक्ष मोहन बैद्य पक्षद्वारा संविधानको प्रस्तावनामा जनयुद्ध शब्द उल्लेख गर्नुपर्ने अडान । व्यवस्थापिका संसदको बैठक । कालिकोटका मनवीर सुनारको हत्या प्रकरणमा सरकार मौन रहेको भन्दै दलित सभासद्हरुले अवरोध गरेपछि बैठक स्थगित । बैठकमा बोल्न नदिएको भन्दै मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् तथा पुर्व राज्यमन्त्री सञ्जयकुमार शाहद्वारा सदनमा तोडफोड । एमाले स्थायी समितिको बैठक । शान्ति प्रक्रिया र संविधान निर्माणमा माओवादी गम्भीर नभएको आरोप । |
| पुस ८ | स्वैच्छिक अवकाश रोजेका लडाकुहरुद्वारा उपाध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापासँग भेट । आफूहरुलाई भेटेर शिविरबाट छिट्टै निकाल्न आग्रह ।
रक्षा मन्त्री विजयकुमार गच्छदारद्वारा पत्रकार सम्मेलन । सेनामा मधेसी समुदायको भर्ना अन्तरिम संविधान अनुसार नै खुला प्रतिष्पर्धाबाट गर्ने स्पष्टोक्ति । संवैधानिक समितिको बैठक । शिर्ष नेताहरुको उपस्थित नभएका कारण बैठकमा केही निर्णय हुन सकेन । |
| पुस ९ | संवैधानिक समिति विवाद समाधान उपसमितिको बैठक । बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादीका प्रमुख सचेतक देव गुरुङद्वारा माओवादीलाई आत्मसमर्पण गराएर संविधान निर्माण गर्ने षड्यन्त्र भएको आरोप । माओवादीले मात्र मुद्दाहरु छोड्दै गएको भन्दै गरुङद्वारा नेतृत्वको आलोचना ।
प्रधानमन्त्री बाबुराम भट्टराई सहित गृहमन्त्रालयमा सुरक्षा सम्बन्धी बैठक । उपत्यकाको सुरक्षामा सुधार गर्न प्रधानमन्त्रीद्वारा निर्देशन । माओवादी केन्द्रीय समितिको बैठक पुनः सुरु । शान्ति र संविधानलाई जोड दिँदै राजनीतिक प्रतिवेदन पेश । उपाध्यक्ष मोहन बैद्यद्वारा असहति व्यक्त । माओवादी उपाध्यक्ष मोहन बैद्य लडाकुहरुद्वारा प्रधानमन्त्री बाबुराम भट्टराईसँग भेट । स्वैच्छिक अवकाशमा जानेहरुलाई राष्ट्रिय सम्मानपत्रको व्यवस्था गरी तत्काल शिविरबाट निकाल्न आग्रह । |
