सभाध्यक्षको नयाँ प्रस्ताव; दलहरुलाई तीव्र दबाब

Tuesday, January 13, 2015

संविधनसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सहमति गर्न नसके संविधानको मस्यौदा तयार पार्न आफूलाई जिम्मा दिन आग्रह गरेपछि राजनीतिक वृतमा नयाँ खालको तरङ प्रवाह भयो । अध्यक्षको प्रस्तावले संविधानका विवादित विषयमा सहमति जुटाउन थप दबाब परेपनि दिइएको समयमा सहमति जुटाउन राजनीतिक दलहरु अक्षम भए । संविधानसभामा अडकिरहेको संविधानका असहमतिका विषय संविधानसभाबाट पुन: राजनीतिक सहमति तथा संवाद समितिमा गएपनि सहमति जुटेन । दलहरुबीच वार्ता र संवाद धेरै भए । सहमतिमा पुग्नका लागि दबाब दिने काम जारी रहेपनि संविधानका विवादित विषय ज्यूका त्यूँ रहे ।

हलचलसहितको प्रस्ताव
राजनीतिक दलहरुबीच सहमति नभएको र संविधानसभा बैठक पनि प्रभावकारी नभएको बेला संविधानसभा अध्यक्ष नेम्वाङले संविधानको विवादास्पद विषयमा सहमति कायम गर्न राजनीतिक दलहरुलाई चार दिनको समय दिए । त्यसभित्र सहमति कायम गर्न नसके संविधानको मस्यौदा तयार पार्ने जिम्मेवारी आफूलाई दिन पनि उनले आग्रह गरे । ‘सहमति गर्नुहोस् । सहमति गर्न सक्नुभएन भने तपाईको अप्ठायारो म फुकाइदिन्छु । त्यो जिम्मेवारी मलाई दिनुहोस् । देश र जनताकाबीचमा तपाईँ सबैका तर्फबाट त्यो कालकुट विष पिउन म तयार छु’, कार्यव्यस्था परामर्श समितिको बैठकमा आफूले भनेको कुरा जानकारी दिँदै नेम्वाङले भनेका थिए । साथसाथै माघ ८ गते संविधान जारी गर्ने हो भने प्रक्रिया छोट्टयाएर जान सकिने भन्दै लिखित रुपमा खाका समेत पेश गरे ।