दलहरु संविधान निर्माण र सर्वदलिय सरकारतिर

Thursday, June 4, 2015
Written By: भुवन केसी / तिलक पाठक

भुकम्पले कटुतापूर्ण सम्बन्ध भएका राजनीतिक दलहरुलाई एक ठाउँमा ल्याइदियो । राजनीतिक दलहरु सत्तापक्ष र प्रतिपक्षी दल नभनी एक भएर अघि बढ्न तयार भए । भुकम्पलाई सम्बोधन गर्ने गरी दलहरुले व्यवस्थापिका संसदको बैठकबाट संकल्प प्रस्ताव पारित गरे । त्यससँगै विपत्तिको सामना गर्न राष्ट्रिय सहमतिको बलियो सरकारको प्रस्ताव पनि अघि सारे । त्यस अतिरिक्त संविधान जारी गर्न भन्दै संविधानमा मूलभूत विवादित विषयमा सहमति जुटाउन पनि दलहरु सकृय भए ।

दलहरुबीच एकता

भुकम्पपछि सरकारी भूमीका प्रभावकारी नभएको भन्दै आलोचना भयो । त्यसपछि प्रधानमन्त्री सुशील कोइरालाले सबै पार्टी एकजुट भएर भुकम्पीडितको समस्या समाधानमा जुट्न आग्रह गरे । २०७२ साल बैशाख २५ गते बसेको व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री कोइरालाले दलहरुको एकताबाट नै समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे । ‘हामी सबै राजनीतिक कदमहरु यो संकटलाई नयाँ शक्तिको स्रोतमा बदल्ने साझा संकल्प गर्दै आपसी संवाद, सहकार्य, एकता र मेलमिलापका माध्यमबाट नेपाललाई समृद्धिको बाटोमा लैजाने वाचा गर्दछौं’ज्ञ, प्रधानमन्त्री कोइरालाको भनाइ थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘संकटको सामना गर्न ससाना मत भिन्नता, संकिर्णता र स्वार्थलाई पञ्छाएर राष्ट्रिय संकटको सामना गर्न एकता र दलहरु एवं सबै पक्षबीच सहकार्यको वातावरण’द्द आवश्यक भएकोमा जोड दिए । एमाओवादीले पनि ‘राज्यको पुनर्संरचना र पुनर्निर्माणका लागि राष्ट्रिय संकल्प र एकता अनिवार्य छ, भन्यो ।