सहमति जुटाउन दलहरु असफल
प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका नेताहरुले आगामी माघ ८ गते संविधान जारी गर्ने बताउँदै आएपनि संविधानसभाको कार्यतालिका अनुसार संविधान निर्माणको प्रकृया अघि बढ्न सकेन । संविधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले सहमति निर्माणका लागि बारम्बार छलफल र वार्ता गरेपनि संविधानका विवादित मुख्य विषयहरु राज्यको पुनर्संरचना, शासकीय स्वरुप, न्याय प्रणाली लगायतका विषयमा खासै प्रगति भएन ।
यता, संविधान निर्माण प्रक्रियामा सहमति जुटाउन भन्दै संविधानसभा बाहिर रहेको नेकपा माओवादी लगायतका दलहरुसँग राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने मुख्य दल र सरकारको योजना पनि असफल भयो । छलफलका विषयमा देखिएको विवादका कारण सम्मेलन नै भाँडियो । सत्ता पक्ष र प्रतिपक्षी दलहरुबीच विगतका सहमति कार्यान्वयनको विषयमा देखिएको विवादका कारण संसदको बैठक निरन्तर रुपमा अवरुद्ध भयो । मुख्य दलहरुबीच सहमति हुन नसक्दा, नेकपा माओवादीसँग गर्ने भनिएको राष्ट्रिय राजनीतिक सम्मेलन भाँडिदा र सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच विवाद कायम रहँदा संविधान निर्माण प्रक्रियाको तालिका नै प्रभावित भयो । यसले प्रक्रियागत रुपमा राजनीतिक दलहरुले आगामी माघ ८ गते संविधान जारी गर्छन् भन्नेमा संशय उत्पन्न गरायो ।
कार्यतालिका प्रभावित
संविधानसभा राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा अधिकांश दलहरु नयाँ संविधानको नाम नेपालको संविधान राख्ने, भ्रष्टचार, नैतिक पतन र गम्भीर अभियोग प्रमाणित भएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने, सात वटा संवैधानिक आयोग बनाउने, नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बनाउने लगायतका विषयमा सहमति भए । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रामक व्यवस्था बनाउनेमा भने राष्ट्रिय जनमोर्चा र राप्रपा नेपालले विरोध गरे ।
