दलहरु होमिए चुनावमा

Wednesday, November 6, 2013
Written By: Bhuwan KC/Tilak Pathak

मोहन वैद्य नेतृत्वको नेकपा माओवादीसहितको ३३ दलीय मोर्चालाई छाडेर अरु राजनीतिक दलहरु संविधानसभा निर्वाचनमा होमिए । निर्वाचनलाई बिथोल्न ३३ दलीय मोर्चा निरन्तर सक्रिय भएपनि निर्वाचन आयोग र राजनीतिक दलहरु अघि बढिरहे । दल र निर्वाचन आयोगलाई सरकारले पुर्याएको सहयोगले ३३ दलीय मोर्चाले अवरोध गर्ने प्रयास गर्दा गर्दै मुलुक निर्वाचनमय हुन पुग्यो । उम्मेदवारको हत्यादेखि ठाउँ–ठाउँमा अवरोध हुँदा पनि निर्वाचनमा भाग लिएका राजनीतिक दलहरु जनताबीच पुगे । यसले गर्दा संविधानसभाको विघटनपछि अवरुद्ध राजनीतिक घटनाक्रम नयाँ ढंगले अघि बढ्न सक्ने वातावरण बन्यो । ३३ दलीय मोर्चा बाहिर रहेर गरिने निर्वाचनले निर्वाचन भयमुक्त हुनेमा शंका उत्पन्न भयो भने निर्वाचनपछि पनि संविधानसभाको पक्ष र विपक्षमा राजनीतिक धुव्रीकरण कायम रहने स्थिति रह्यो । संविधानसभाबाट संविधान जारी भएपनि राजनीतिमा नयाँ नयाँ राजनीतिक द्वन्द्व देखा पर्ने सम्भावना भने कायमै रह्यो ।