बैशाख १५ गतेभित्र संविधानको एकीकृत मस्यौदा तयार पार्न दलहरु सहमत ( चैत्र १९–२५)

Tuesday, April 10, 2012
Written By: Bhuwan KC/ Tilak Pathak

संविधानसभाले तयार पारेको संविधान निर्माणको कार्यतालिकामा तीन पटक संशोधन हुँदा र कार्यव्यवस्था परामर्श समितिले निर्धारण गरेको समय पाँच पटक गुज्रदा पनि संविधानका विवादित मुख्य मुद्दाहरुमा दलहरुबीच सहमति भएन ।

संवैधानिक समिति र त्यस अन्तरगतको विवाद समाधान उपसमितिको बैठक पटक–पटक बस्दा पनि सहमति नभएपछि कार्यव्यवस्था परामर्श समितिले एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल, नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, नेकपा एमाले संसदीय दलका नेता झलनाथ खनाल र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका संसदीय दलका नेता विजयकुमार गच्छदारलाई आफ्नो बैठकमा बोलायो । बैठकमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणको वर्तमान अवस्था र तत्काल प्रारम्भ गर्नुपर्ने काम र त्यसको समयबारे आधारपत्र पेश गरे ।

आधारपत्रमा बैशाख १ देखि ५ गतेसम्म संविधान निर्माणका मुद्दाहरुमा संविधानसभा र विवाद समाधान उपसमितिमा सहमति गर्ने, सहमति नभए वैशाख ६ र ७ गते निणयार्थ संविधानसभाको बैठकमा पेश गर्ने, सहमति र संविधानको निर्णयमा रहेर बैशाख १५ गतेभित्र संविधानको पहिलो मस्यौदा तयार पार्ने उल्लेख गरियो । प्रक्रिया छोटो पार्न संविधान र संविधानसभा नियमावली संशोधन गर्ने, बैशाख २ गते भित्र संवैधानिक समिति र संविधानसभाको बैठकमा छलफल गरी संविधानका पहिलो मस्यौदा स्वीकृत गर्ने र बैशाख २३ देखि मसान्तसम्म पहिलो मस्यौदा तयार गरी जनसंवादलाई घनीभूत पार्ने पनि आधारपत्रमा उल्लेख गरिएको छ । सभामुख नेम्वाङको यो आधारपत्रमा नेताहरुले पनि सहमति जनाए ।

यसबीचमा दलहरुबीच सेना समायोजनबारे छलफल भएपनि समायोजन हुने लडाकुले पाउने माथिल्लो तह, छनौट समिति, समायोजन हुने लडाकुले लिने तालिम अवधि, समायोजनको संख्या लगायतमा दलहरुबीच सहमति हुन सकेन । तैपनि समायोजनको आवश्यक व्यवस्था मिलाउन सेना समायोजन विशेष समिति अन्तरगतको सचिवालयका टोली विभिन्न शिविरमा पुगे ।

संवैधानिक समितिमा राज्यपुनसंरचना आयोगको प्रतिवेदनमाथि छलफल भएपनि सहमतिको आधार तयार भएन । सभासद्हरुले शान्ति र संविधान निर्माणका लागि भन्दै संवैधानिक समितिको कार्यालय अघि धर्ना दिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र माओवादी उपाध्यक्ष एंव प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति र संविधानमा जोड दिए भने उपाध्यक्ष मोहन बैद्य पक्षले जनसंविधान निर्माणका लागि भन्दै राजधानीमा हस्ताक्षर अभियान चलायो ।

त्यति मात्र होइन, २०४६ सालमा जनआन्दोलन उत्कर्षमा पुगेको चैत २४ को अवसरमा माओवादीका दुइ विचार समुहले राजधानीमा छुट्टा छुट्टै कार्यक्रम गर्यो । संस्थापन पक्षले बसन्तपुरमा र उपाध्यक्ष बैद्य समुहले रत्नपार्कमा कार्यक्रम आयोजना गरी एकअर्कालाई आक्षेप लगाए । तर, अध्यक्ष दाहाल भने स्वास्थ्यको कारण देखाइ कार्यक्रममा सहभागी भएनन् ।

मुख्य गतिविधि

चैत्र १९ तीन पार्टीका शिर्ष नेतासहित सेना समायोजन विशेष समितिको बैठक । समायोजनमा जाने माओवादी लडाकुको तह, मापदण्ड, तालिम समय लगायतमा दलहरुबीच सहमति हुन सकेन ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा वाइसिएललाई प्रशिक्षण । शान्ति र संविधानको पक्षमा दबाबमुलुक कार्यक्रम सञ्चालन गर्न निर्देशन । उपाध्यक्ष मोहन बैद्य पक्षले विरोध गरेपनि शान्ति र संविधानको पक्षमा लाग्ने अध्यक्ष दाहालको भनाइ ।
पूर्व राजा ज्ञानेन्द्र शाह धनगढीमा । सबै कुरा समयले निर्धारण गर्ने विचार व्यक्त ।
काँग्रेस सभपति सुशील कोइराला उदयपुरमा । जातिय राज्य र एक मधेश एक प्रदेश स्वीकार नगर्ने स्पष्ट ।
प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेद्वारा प्रेस विज्ञप्ति जारी गरी सेना समायोजनमा एमालेका नेताहरुले अडको थापेको र पहिलेको सहमतिबाट पछि हटेको आरोप
चैत्र २० संवैधानिक समितिको बैठक । राज्यपुनर्संरचना आयोगको प्रतिवेदनमाथि छलफल शुरु ।
सभासद्हरुद्वारा संवैधानिक समितिको बैठक कक्ष बाहिर धर्ना । शान्ति र संविधानका लागि दबाब । नेताहरुद्वारा धर्ना छोड्न आग्रह । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई बैठकमा अनुपस्थित ।
शिर्ष नेतासहित प्रधानमन्त्री कार्यालयमा सेना समायोजन विशेष समितिको बैठक । समायोजन हुने माओवादी लडाकुको दर्जा, तालिम, छनौट समितिमा सहमति हुन सकेन ।
एमाले स्थायी समितिको बैठक । प्रधानमन्त्री कार्यालयद्वारा एमालेमाथि लगाइएको आरोपको खण्डन । विश्वासको वातावरण बिथोलिने एमालेको चेतावनी ।
माओवादी संस्थापनपक्षको कार्यकर्ता प्रशिक्षण । अध्यक्ष पुष्पकमल दाहालद्वारा उपाध्यक्ष मोहन बैद्य पक्षले पार्टी नेतृत्वलाई बदनाम गरेको भन्दै त्यसको प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन ।
माओवादी उपाध्यक्ष बैद्य पक्षद्वारा जनसंविधानको पक्षमा राजधानीमा हस्ताक्षर अभियान शुरु । संस्थानपक्षले कागजको खोस्टोलाई संविधान मान्ने तयारी गरेको आरोप । त्यस्तो भए आफूहरुले नमान्ने चेतावनी ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा लडाकुका कमाण्डरलाई राजधानीमा प्रशिक्षण । समायोजन प्रक्रियामा सहयोग पुर्याउन निर्देशन । महानिर्देशनालयमा प्रतिनिधित्व हुनेमा निश्चिन्त हुन आग्रह ।
संवैधानिक समितिको बैठक । शिर्ष नेताहरु उपस्थित नहुँदा बैठक प्रभावकारी हुन सकेन ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको पत्रकार सम्मेलन । आगामी चैत्र ३० गतेभित्र शान्ति प्रकृया टुंगो लागि संविधान जारी गर्ने वातावरण तयार नभए कठोर कदम चाल्ने चेतावनी ।
शान्ति र संविधानको पक्षमा दबाब सिर्जना गर्न सिस्नो पानी नेपालद्वारा व्यंग्य कार्यक्रम आयोजना ।
संविधानका विवादित विषयमा टुंगो लगाउन विवाद समाधान उपसमितिलाई दिइएको थप समय समाप्त ।
चैत्र २१ विशेष अदालतद्वारा पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहोराको मुद्दामा फैसला । अवैध सम्पत्ति कमाएको भन्दै डेढ वर्ष कैदका साथै जरिवाना र बिगो सहित ५३ लाख रुपैयाँ तिराउने फैसला ।
नेपाल मामीलाका भारतीय विज्ञ एसडी मुनी नेपालमा । वर्तमान सरकारले नै शान्ति प्रक्रिया टुंग्याउने भनाइ ।
माओवादी उपाध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापाद्वारा संयुक्त विज्ञप्ति जारी । पार्टी अध्यक्ष दाहालले एकमनावाद चलाएको आरोप । नेतृत्वमा दक्षिणपन्थी, अवसरवादी र संशोधनवादी प्रवृति पुनारावृति भएको आरोप ।
महाधिवेशनको माग गदै नेविसंघद्वारा काँग्रेस केन्द्रीय कार्यालयमा धर्ना ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल रोल्पामा । विवादले पार्टी नफुटने र शान्ति तथा संविधान पहिलो प्राथमिकता भएको भनाइ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा प्यूठानमा । आगामी जेठ १४ गते संविधान नबन्ने ठोकुवा ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेपालगञ्जमा । सेना समायोजनको टुंगो लागि जेठ १४ गते संविधान बन्ने भनाइ ।
काँग्रेस सभापति सुशील कोइराला जनकपुरमा । अब सरकारको नेतृत्व गर्ने पालो काँग्रेसको भनाइ ।
चैत्र २२ सेना समायोजन विशेष समितिको बैठक । विवादित मुद्दामा सहमति हुन सकेन । व्यवस्थापकिय काम अघि बढाउनका लागि सचिवालय मातहतको टोलीलाई शिविर पठाउने निर्णय ।
झापाका पत्रकार यादव पौडेलेका हत्या । हत्याको चौतर्फी विरोध ।
एमालेका सभासद्हरुद्वारा पार्टी अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल लगायतसँग भेट । राजधानी बाहिर नजान आग्रह ।
प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा सेना समायोजनबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस महामन्त्री कृष्ण सिटौलासँग छलफल ।
काँग्रेस र एमालेको बैठक । सात बुँदे सहमति अनुसार सेना समायोजन हुनुपर्ने अडानमा कामयै रहने सहमति ।
प्रधानमन्त्री बाबुराम भट्टराई गोर्खामा । शान्ति प्रक्रिया चैत्र मसान्तभित्र टुंगिने र संविधानका विवादित विषयमा छिट्टै सहमति हुने विश्वास व्यक्त ।
माओवादीका सचिव सीपी गजुरेल संयोजक रहेको संयुक्त राष्ट्रिय जनआन्दोलन समितिद्वारा नयाँ वानेश्वरमा कार्यक्रम । जनपक्षिय संविधान निर्माणका लागि आफूहरुले अभियान चलाएको दाबी । शान्ति र संविधानको विपक्षीका रुपमा आफूहरुलाई चित्रित गरिएको भन्दै आपत्ति ।
चैत्र २३ संविधानसभा कार्यव्यवस्था परामर्श समितिको बैठक । विवाद समाधानका लागि वैशाख पाँच गतेसम्मको समय । एकीकृत मस्यौदा तयार पार्नका लागि वैशाख १५ गतेसम्मको समय ।
एमाले अध्यक्ष झलनाथ खनालद्वारा विभिन्न जिल्लाका नेता, नागरिक अगुवा र पार्टी कार्यकर्तासँग विशेष टेलिफोन संवाद गर्न शुरु ।
मन्त्रीपरिषद्को बैठक । पत्रकार पौडेलका परिवारलाई १० लाख रुपैया सहयोग गर्ने निर्णय ।
चैत्र २४ जनआन्दोलन दिवसका अवसरमा एकीकृत माओवादीद्वारा राजधानीमा छुट्टा–छुट्टै कार्यक्रम । संस्थापनपक्षद्वारा बसन्तुर र उपाध्यक्ष मोहन बैद्यपक्षद्वारा रत्नपार्कमा । स्वास्थ्यका कारण देखाएर संस्थापन पक्षको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल अनुपस्थित । क्रान्ति र विद्रोह लहडमा नहुने भन्दै शान्तिपूर्ण बाटोबाट क्रान्ति हुने उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईको भनाइ । उपाध्यक्ष बैद्यद्वारा संशोधन, अवसरवादी र अभिजात वर्ग भन्दै संस्थापनपक्षको आलोचना ।
प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा राष्ट्रपति रामवरण यादवसँग भेट । शान्ति र संविधान निर्माण प्रक्रियाबारे छलफल ।
काँग्रेस सभापति सुशील कोइरालाद्वारा सर्लाहीमा आयोजित आमसभालाई सम्बोधन । शान्ति र संविधान नबन्नुमा माओवादी बाधक रहेको भनाइ । चैत्रभित्र शान्ति प्रक्रिया सम्पन्न नभए सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी ।
चैत्र २५ संवैधानिक समितिको बैठक । राज्यपुनर्संरचना आयोगको प्रतिवेदन विवाद समाधान उपसमितिमा पठाउने निर्णय ।
प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा चैत्र २६ गतेसम्म दलहरुबीच समायोजनबारे सहमति हुने र संविधान निर्माणमा केन्द्रीत हुने आशा व्यक्त । आफ्ना स्वकीय सचिव विश्वदीप पाण्डेमार्फत निकालिको प्रेस नोटमा शान्ति प्रक्रिया र संविधान निर्माणमा सहयोग गर्न दलहरुलाई आग्रह ।
सेना समायोजन विशेष समिति अन्तरगतको सचिवालयका टोलीहरु माओवादी शिविरमा । समायोजनमा जाने लडाकुहरुलाई स्वेच्छिक अवकाशको पुन अवसर दिइने ।
राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजद्वारा माओवादी, काँग्रेस र एमालेका नेताहरुसँग छलफल । नेताहरुद्वारा वेपत्ता छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक तत्काल संसदबाट पारित गर्ने प्रतिबद्धता व्यक्त ।