संविधानका लागि काँग्रेस र एमालेको नयाँ शर्त (भदौ १८ – २५ )
एकीकृत नेकपा माओवादीले हतियार राखिएका कन्टेनरका साँचो सेना समायोजन विशेष समितिको अनुमगन समितिलाई बुझाएपछि संविधान निर्माणको काम पनि पुनः अघि बढ्यो । संविधानसभामा विवादास्पद मध्येको महत्वपूर्ण मुद्दा राज्य पुनर्संरचनाबारे संवैधानिक समितिको विवाद समाधान उपसमितिमा छलफल सुरु भयो । तराई मधेश केन्द्रीत दलरुले भने झै माओवादी र एमालेले समेत समय कम भएको बताउदै विज्ञ समूह बनाउनुपर्र्नेमा जोड दिएपछि नेपाली काँग्रेसलाई पनि थप दबाब पर्यो ।
संवैधानिक समितिको विवाद समाधान उपसमितिमा छलफल हुँदा पनि काँग्रेसका नेताहरु विज्ञ समूह बनाउन सकारात्मक भए । तर उनीहरुले ‘केन्द्रीय कार्य समितिमा छलफल गरेपछि राज्यपुनर्संरचनाबारे स्पष्ट धारणा पेश’ गर्ने प्रतिवद्धता ब्यक्त गरे । २०६८ साल भदौ १९ गते भएको केन्द्रीय कार्यसमितिको वैठकमा धेरै नेताहरुले संविधान संशोधन गरी विज्ञ समूह बनाएर अघि बढ्न सुझाव दिए । तर, यसबीचमा शान्ति प्रक्रियाबारे थप काम भने भएन । काँग्रेस नेताहरुले माओवादीले साँचो बुझाएपनि शान्ति प्रक्रिया अघि वढाउन माओवादी त्यति इच्छुक नभएको आरोप लगाए ।
केन्द्रीय समितिको बैठकमा काग्रेस नेताहरुले शान्ति प्रक्रिया अघि नबढाई संविधान निर्माण प्रक्रियालाई गति दिदा पछि समस्या आउनेमा नेतृत्वलाई सचेत गराएका थिए । त्यसैबीच काँग्रेस र एमालेका नेताहरुबीच भएको छलफलले शान्ति प्रक्रिया अघि बढ्नेमा शंका व्यक्त गरे । ‘शान्ति प्रक्रिया अघि नबढ्दासम्म संविधान निर्माण प्रक्रिया अघि नबढाउने’ विषयमा काग्रेस र एमाले नेताहरुवीच सहमति नै भयो ।
‘वर्तमान परिस्थितिलाई ध्यानमा राखी वैकल्पिक व्यवस्थाबारे छलफल गर्न तयार भएतापनि शान्ति प्रक्रियाका मूलभुत कुराहरु लडाकु समायोजनको मोडालिटी, मापदण्ड तह निर्धारण, संख्या निर्धारण, राहत प्याकेज, द्धन्द्ध पीडितिहरुलाई राहत र क्षतिपूर्ति जस्ता कार्यहरु सहमति गरी तत्काल ठोस रुपमा अघि बढाएपछि मात्र उत्त विज्ञ समूहहरुको समिति गठन गर्नु उपयुत्त हुने कुरा नेपाली काँग्रेस ठहर गर्दछ’, भदौ २२ गते बसेको काग्रेस केन्द्रीय समितिको बैठकले निष्कर्ष निकाल्यो ।
काँग्रेसले सर्त सहित प्रस्ताव पारित गरेको भोलीपल्ट संवैधानिक समिति अन्र्तगतको विवाद समाधान उपसमितिको बैठक बस्दै थियो । बैठक शुरुअघि नै काँग्रेस उपसभापति रामचन्द्र पौडेलले आफनो निर्णय अन्य दलका नेताहरुलाई वितरण गरे । उपसमितिका संयोजक पुष्पकमल दाहालले काँग्रेसको निर्णय र नेताको शैलीप्रति आपत्ति जनाए । सर्त राखेर बैठकमा आउने हो भने सहमति हुन नसक्ने भन्दै दाहालले उपसमिति नै विघटन गर्न माग गरे जसका कारण छलफल राम्रोसँग अघि बढन सकेन । बैठक स्थगीत गरियो । माओवादीले शान्ति प्रक्रिया अघि नबढेको भन्दै काँग्रेस र एमालेले शर्त राखेपछि संविधान निर्माणको काम एकाएक अवरुद्ध हुन पुग्यो ।
मुख्य गतिविधि
| भदौ १८ | प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा मन्त्रिपरिषद् विस्तार । मार्चाका घटकहरु सरकारमा सहभागी । माओवादी स्थायी समिति बैठक । साँचो विवादबारे छलफल गर्न असोज १ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय । नेकपा एमाले संसदीय विभागद्वारा सभामुख सुवास नेम्वाङसँग भेट । संविधानसभाको बैठक तत्काल डाक्न माग । संवैधानिक उपसमितिमा राज्यपुनर्संरचनाबारे छलफल । काँग्रेस संवैधानिक समिति बैठक । आयोग गर्न सम्भव नभए विज्ञ समूह बनाएर अघि बढ्न सकिने बाटो खुल्ला । |
| भदौ १९ | प्रधानमन्त्री भटट्राईद्वारा काँग्रेस, एमाले बाहेकका २२ दलसंग छलफल । शान्ति प्रक्रिया र संविधान निर्माणमा सहयोग पुर्यायाउन आग्रह । संवैधानिक उपसमितिको बैठक । संविधान संशोधन गरेर राज्यपुनर्संरचना आयोगको सट्टा विज्ञ समूह बनाउन काँग्रेस सकारात्मक । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री भट्टराईद्वारा काँग्रेस सभापति सुशील कोइरालासँग भेट । सरकारमा सहभागी हुन र शान्ति तथा संविधान निर्माणमा सहयोग गर्न आग्रह । आन्तरिक विवादले शान्ति प्रक्रियामा फरक नपार्ने जिकिर । |
| भदौ २० | काँग्रेस केन्द्रीय समितिको बैठक । राज्यपुनर्संरचनाबारे वहस । |
| भदौ २१ | काँग्रेस केन्द्रीय सदस्य बैठक । चार हजार माओवादी लडाकुलाई समायोजन गर्न सकिने प्रस्ताव पारित । प्रधानमन्त्री भट्टराईद्वारा पूर्व प्रधानमन्त्रीहरुसँग परामर्श । शान्ति र संविधानमा केन्द्रीत भई अघि बढ्न उनीहरुको सुझाव । |
| भदौ २२ | मन्त्रिपरिषद् बैठक । मोर्चाका तर्फबाट मन्त्री भएकाहरुको असहमतिका कारण परिमार्जन सहित अर्का दिन सहमति । काँग्रेस र एमालेका नेताबीच भेटवार्ता । शान्ति प्रक्रिया अघि नबढाउदा सम्म संविधान निर्माण प्रक्रियालाई अघि नबढाउने सहमति । माओवादी पदाधिकारी बैठक । केन्द्रीय कमिटी बैठक असोज १३ गतेदेखि गर्ने निर्णय । काँग्रेस केन्द्रीय समितिको बैठक । शान्ति प्रक्रियाका मूलभुत पक्षमा सहमति गरी कार्यान्वयन प्रक्रिया अघि बढेपछि मात्र विज्ञ समूह गठन गर्न उपयुक्त हुने ठहर । |
| भदौ २३
|
सरकारद्धारा राहतका कार्यक्रम घोषणा । संवैधानिक समितिको उपसमितिको बैठक । शान्ति प्रक्रिया अघि नबढ्दासम्म संविधान निर्माणलाई अघि नबढाउने काँग्रेसको भनाइप्रति संयोजक पुष्पकमल दाहालद्वारा आपत्ति । उपसमिति विघटन गर्न माग । |
| भदौ २४ | एमाले सल्लाहकार परिषद्को बैठक । शान्ति र संविधान निर्माणमा सरकारसँग मिलेर अघि बढ्न सुझाव । |
| भदौ २५ | व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठक । दलिय सहमति भएमात्र पूर्व निर्धारित समयमा शान्ति र संविधानको काम पूरा हुने प्रधानमन्त्री भट्टराईको भनाइ । |
