लडाकुको भत्तावृद्धिप्रति काँग्रेस – एमालेको आपत्ति ( असोज १५– २१)

Sunday, October 9, 2011
Written By: Bhuwan KC/ Tilak Pathak

माओवादी लडाकुले मासिक पाँच हजार रुपैयाँ पाउँदै आएकोमा मन्त्रीपरिषद्को असोज १५ गतेको बैठकले त्यसमा मासिक १५ सय रुपैयाँ थप्ने निर्णय गर्यो । शान्ति प्रक्रियालाई टुङ्गो लगाई नयाँ संविधान जारी गर्नुपर्नेमा लडाकुको भत्ता बढाएकोमा प्रतिपक्षी दलहरु काँग्रेस र एमालेले आपत्ति व्यक्त गरे । सेना समायोजन विशेष समितिको बैठकमा छलफल नै नगरी लडाकुको सुविधा वृद्धि गरिएका कारण उनीहरुले आपत्ति जनाएका हुन् ।

लडाकुको भत्ता वृद्धि गर्नुमा शान्ति प्रक्रियालाई तत्काल टुङ्गो नलगाउने माओवादी नियत रहेको काग्रेसको भनाई छ । एकातिर शान्ति प्रक्रिया अघि बढाउन प्रतबद्धता व्यक्त गर्ने अर्कातर्फ एकतर्फी रुपमा लडाकुको भत्ता बढाउने विषय विरोधाभाषपुर्ण रहेको काग्रेस–एमाले नेताहरुको टिप्पणी छ ।

एमालेले लडाकुको मासिक भत्ता बढाउने सरकारको निर्णयले अन्तरिम संविधान र लडाकुहरुको रेखदेख, नियन्त्रण, निर्देशन प्रकृया र आचार संहितासम्बन्धी निर्देशिका २०६७ को गम्भीर उल्लंघन गरेको बतायो । महासचिव ईश्वर पोखेरलले विज्ञप्ति निकाली बजेटमा नसमेटिएको भत्ता वृद्धिको विषयलाई मन्त्रिपरिषद्बाट निर्णय गराएर सरकारले व्यवस्थापिका संसद्को अवहेलना गरेको आरोप लगाए । लडाकुको छिटो समायोजन गरी शान्ति प्रक्रिया टुंग्याउनुपर्नेमा भत्ता बढाउने निर्णय गरेर सरकार शान्ति प्रक्रियामा गम्भीर नदेखिएको एमालेको भनाइ रह्यो ।

माओवादीका अध्यक्ष दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले दशैं अघि नै शान्ति प्रक्रियामा ब्रेक थु्र हुने बताएपनि प्रगति भने हुन सकेन । काँग्रेस र माओवादीबीच शान्ति प्रक्रिया र संविधानबारे पटक पटक छलफल भएपनि सहमति बन्न सकेन । प्रधानमन्त्री भट्टराईले काँग्रेस र एमाले सहमत नभएकाले शान्ति प्रक्रिया अघि बढ्न नसकेको आरोप लगाए भने काँग्रेस नेताहरुले माओवादीका कारण शान्ति प्रक्रिया अघि नबढेको आरोप लगाए । तर, माओवादी पहिले भन्दा लचक भएको काग्रेस नेताहरुको टिप्पणी थियो । काँग्रेस र माओवादी नेताहरुबीच मात्रै भएको छलफलले एमाले नेताहरुमा भने आशंका जन्मायो । यति सम्मकि एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शान्ति र संविधानबारे माओवादी र काँग्रेसबीच सहमति भए आफ्नो पार्टीलाई मान्य नहुने अभिब्यक्ति नै दिए ।

मुख्य गतिविधि

असोज १५ शिविरमा रहेका माओवादी सेनाका लडाकुको मासिक भत्ता १५ सय रुपैयाँका दरले वृद्धि गर्ने मन्त्रीपरिषद्को निर्णय ।
माओवादीको स्थायी समितिको बैठकमा उपाध्यक्ष मोहन बैद्यसहित उनी पक्षका रामबहादुर थापा, सिपी गजुरेल, नेत्रविक्रम चन्द र देव गुरुङ अनुपस्थित ।
असोज १६

 

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र कांँग्रेसका सभापति सुशील कोइरालाबीच भेटवार्ता । लडाकुको मासिक भत्ता बढाएकोमा काँग्रेसद्वारा आपत्ति प्रकट ।

लडाकुको मासिक भत्ता बढाउने सरकारको निर्णयप्रति एमालेले गम्भीर आपत्ति । तलब बढाउने सरकारको निर्णयले अन्तरिम संविधान र लडाकुहरुको रेखदेख, नियन्त्रण, निर्देशन प्रकृया र आचारसंहितासम्बन्धी निर्देशिका २०६७ को गम्भीर उल्लंघन गरेको भनाइ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्तारुढ दलहरूको बैठक । चारबुँदे सहमति राष्ट्रघाती भनी लगाइएको आरोपको प्रतिवाद गर्ने निर्णय ।

असोज १७ एकीकृत नेकपा माओवादी र नेपाली काँग्रेसका नेताबीच भेटघाट । शान्ति प्रक्रिया र संविधान लेखनको कामलाई गति दिने सहमति ।
असोज १८ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल द्वारा माओवादी र कांग्रेस मिलेर शान्ति र संविधान निर्माणमा अघि बढ्न खोजे त्यो मान्य नहुने धारणा व्यक्त ।
असोज १९ प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा दशैंका अवसरमा शुभकामना व्यक्त गर्दै शान्ति प्रक्रियालाई पहिलो प्राथमिकता दिने सन्देश ।
असोज २० माओवादीका नेता देव गुरुङ द्वारा चारबुँदे सहमति नसच्चिए प्रधानमन्त्री भट्टराईको विकल्प खोज्न सकिने धारणा व्यक्त ।
असोज २१ माओवादी र काँग्रेसका नेताहरुबीच भेटघाट । शान्ति प्रक्रिया र संविधान निर्माणमा छलफल ।
एमाले स्थायी समितिको बैठक । रक्षामन्त्री शरतसिंह भण्डारीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै खेद व्यक्त ।
सभामुख सुवास नेम्वाङद्वारा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट । शान्ति र संविधान निर्माण प्रक्रियाबारे छलफलमा जुट्न आग्रह ।