सहमतीय नभएपछि बहमतीयतिर ( भदौ ४- ११ )

Sunday, August 28, 2011
Written By: Bhuwan KC/ Tilak Pathak

सहमतीय सरकार निर्माणका लागि राष्ट्रपति रामवरण यादवले आहन गरेपछि एकीकृत माओवादी र नेपाली काग्रेसले क्रमशः बाबुराम भट्टराई र शेरबहादुर देउवालाई उम्मेदवारको रुपमा अघि सारे । तर, सहमतीय प्रक्रियाबाट सरकार गठनको प्रयास सफल भएन । दलहरुको आग्रहमा राष्ट्रपति यादवले सहमतीय सरकार गठनका लागि थप तीन दिनको समय दिएपनि यसबीचमा पनि दलीय सहमति कायम हुन सकेन । त्यसपछि प्रधानमन्त्री चयनका लागि बहुमतीय प्रक्रिया अघि बढाइयो । सहमति जुटाउन नसकेपछि काग्रेसका वरिष्ठ नेता देउवाले चुनावी मैदान छाडे भने उनको पार्टीले वहुमतीय सरकारका लागि संसदीय दलका नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको रुपमा अघि सार्यो । भट्टराई र पौडेल दुवैले प्रधानमन्त्री निर्वाचनमा आ–आफूलाई सहयोग गर्न आग्रह गर्दै संसदमा रहेका दलहरुसँग पटक–पटक वार्ता गरे ।

माओवादीले शान्ति र संविधान सम्बन्धी प्रस्ताव सार्वजनिक ग¥यो जसमा आफ्नो नेतृत्वमा सरकार गठन भए डेढ महिनामा शान्ति प्रक्रियालाई टुङ्गो लगाउने कार्यतालिका समेत थियो । तर, माओवादीको प्रस्तावलाई काँग्रेस र एमालेले सकारात्मक नभएको टिप्पणी गरे । दुवै दलले माओवादी शान्ति र संविधान निर्माणप्रति इमान्दार नभएको र विगतको भन्दा पछि हटेर प्रस्ताव ल्याएको आरोप लगाए । काँग्रेसका तर्फबाट उम्मेदवार भएका रामचन्द्र पौडेले पनि आफू प्रधानमन्त्री भए शान्ति प्रक्रिया र लोकतान्त्रिक संविधान निर्माणलाई मुख्य प्राथमिकता दिने गरी ११ बुँदे कार्ययोजना सार्वजनिक गरे । एमालेले शान्ति प्रक्रियाप्रति लचिलो नभए काँग्रेसलाई मतदान गर्ने निर्णय गर्यो भने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले एकीकृत माओवादीलाई समर्थन गरेपछि भट्टराईको नेतृत्वमा वहुमतीय सरकार गठन भयो । काग्रेस र एमाले भने विपक्षमा छन् । छन् ।

मुख्य गतिविधि

भदौ ४ प्रधानमन्त्री झलनाथ खनालद्वारा सर्वदलीय बैठक आयोजना । सहमतिको वातावरण तयार पार्नका लागि राष्ट्रपति डाक्टर रामवरण यादवसँग थप तीन दिन माग गर्ने निर्णय । राष्ट्रपतिद्वारा तीन दिनका लागि समय प्रदान ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल र काङ्ग्रेस सभापति सुशील कोइरालाबीच भेट । राष्ट्रिय सहमति, शान्ति प्रक्रिया र संविधान निर्माणबारे छलफल ।
भदौं ५ काङ्ग्रेस पदाधिकारीको बैठक । शान्ति प्रक्रिया पूरा नहुँदासम्म आफ्नो नेतृत्वमा सरकार गठनमा सहयोग गर्न राजनीतिक दलहरूलाई आग्रह गर्ने निर्णय ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईद्वारा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट । सहमतीय सरकार गठनमा सहयोग गर्न आग्रह ।
एमाले केन्द्रीय कमिटिको बैठक । बहमुतीय सरकार गठनमा सहयोग नगर्न र त्यस्तो सरकारमा सहभागी नहुन पार्टी नेतृत्वलाई सुझाव ।
भदौ ६ सरकारद्वारा संविधानसभाको म्याद तीन महिना थप्ने गरी संविधान संशोधनको प्रस्ताव दर्ता । ६ महिना थप्नुपर्ने भन्दै माओवादीद्वारा सो प्रस्तावप्रति असहमति व्यक्त ।
मधेसी जनअधिकार फोरमद्वारा सहमतीय सरकार गठन गरेर संविधानसभाको म्याद ६ महिना थप्नुपर्ने प्रस्ताव ।
काङ्ग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट । राष्ट्रिय सहमतिमा देखिएका समस्या र सहमतिको सम्भावनाबारे छलफल ।
भदौ ७ सहमतिको सरकार गठन गर्ने दलहरूको प्रयास असफल । बहुमतीयबाट सरकार गठनको प्रक्रिया अघि बढाउन राष्ट्रपति डा. रामवरण यादवद्वारा संसद सचिवालयलाई पत्राचार ।
माओवादी पदाधिकारी बैठक । सहमतीय सरकार गठन हुन नसकेकोमा दुख व्यक्त ।
एमालेको संसदीय दलको बैठक । बहुमतीय प्रक्रियाभित्र पनि सहमतिको सरकार गठनका लागि अन्तिम समयसम्म प्रयास जारी राख्न नेतृत्वलाई सुझाव ।
सहमतिको सरकार बन्न नसकेपछि नेपाली काङ्ग्रेसद्वारा वरिष्ठ नेता शेरबहादुर देउवालाई चुनावी मैदानबाट फिर्ता ।
भदौ ८ व्यवस्थापिका–संसद सचिवालयद्वारा भदौ ११ गते प्रधानमन्त्रीको निर्वाचन गर्नेसहितको कार्यतालिका सार्वजनिक ।
डेढ महिनाभित्र शान्ति प्रक्रिया टुङ्गो लगाउने कार्यतालिकासहित माओवादीद्वारा अवधारणापत्र सार्वजनिक ।
काङ्ग्रेस केन्द्रीय समितिको बैठक । संसदीय दलका नेता रामचन्द्र पौडेललाई बहुमतीय प्रक्रियामा प्रधानमन्त्री बनाउने निर्णय ।
भदौ ९ माओवादीद्वारा काङ्ग्रेस र एमालेबाहेकका संसदमा रहेका दलहरूसँग छलफल । प्रधानमन्त्री निर्वाचनमा बाबुराम भट्टराईलाई सहयोग गर्न आग्रह ।
माओवादी र एमालेबीच वार्ता । एमालेद्वारा शान्ति र संविधानसम्बन्धी माओवादी प्रस्ताव सकारात्मक र भरपर्दाे नभएको टिप्पणी ।
काङ्ग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच वार्ता । लडाकू र हतियार व्यवस्थापन नभएसम्म आफ्नो नेतृत्वमा सरकार गठनका लागि सघाउन काङ्ग्रेसद्वारा मोर्चालाई आग्रह ।
काङ्ग्रेसका नेता सुशील कोइराला, रामचन्द्र पौडेल र प्रधानमन्त्री झलनाथ खनालबीच वार्ता । काङ्ग्रेस नेताद्वारा प्रधानमन्त्री निर्वाचनमा सहयोग गर्न प्रधानमन्त्रीलाई आग्रह । बहुमतीय सरकारको नेतृत्वका लागि माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई र काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलद्वारा उम्मेदवारी दर्ता । शान्ति र संविधान निर्माणको सुनिश्चिताका लागि उम्मेदवारी दिएको दुवै नेताको भनाइ ।
काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलद्वारा नेमकिपाका अध्यक्ष नारायाण्मान बिजुक्छे र तराई मधेस लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुरलाई छुट्टा–छुट्टै भेट । प्रधानमन्त्रीको निर्वाचनमा आफूलाई सहयोग गर्न अनुरोध ।
जगदीश घिमिरे, युवराज घिमिरे, भीमार्जुन आचार्य, सत्यमोहन जोशी, ज्योति बानियाँ, भरत बस्नेत, शेरबहादुर केसी, शम्भु थापा, प्रकाश राउत, सौरभ र पीएल सिंहद्वारा संविधानसभा विघटन गर्न माग । संविधानसभाको म्याद थप्दा मुलुकको आयु कटौति भएको तर्क ।
काङ्ग्रेस सभापति सुशील कोइरालाद्वारा अन्तर्राष्ट्रिय जगत्को आँखामा छारो हाल्न मात्र माओवादीले शान्ति प्रक्रियासम्बन्धी प्रस्ताव सार्वजनिक गरेको आरोप । समर्थन गर्न नसक्ने धारणा व्यक्त ।
भदौ १० प्रधानमन्त्रीका उम्मेदवार बाबुराम भट्टराई र रामचन्द्र पौडेलद्वारा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासँग छुट्टा–छुट्टै भेट गरी प्रधानमन्त्री निर्वाचनमा सहयोग गर्न आग्रह । राप्रपा नेपालद्वारा पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ लाई राष्ट्रिय एकता दिवस घोषणा गर्न प्रतिबद्धता जाहेर गर्नेलाई सहयोग गर्ने प्रस्ताव ।
एमाले स्थायी समिति बैठक । शान्ति प्रक्रियामा सबै दललाई मान्य हुने गरी माओवादीले ठोस प्रस्ताव नल्याए प्रधानमन्त्री निर्वाचनमा काङ्ग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय । माओवादी प्रस्तावले शान्ति प्रक्रियालाई थप जटिल बनाएको बैठकको ठहर ।
माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षद्वारा आफूसँग रहेका जनसेनाका लडाकू र हतियार फिर्ता ।
प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलद्वारा शान्ति र संविधानसम्बन्धी प्रस्ताव सार्वजनिक ।
भदौ ११ माओवादी र मधेसी मोर्चाबीच सहमति
माओवादी उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्रीमा निर्वाचित