विवादमा सरकार, शान्ति र संविधानमा अवरोध ( कार्तिक २०-२६)
शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रगति भइरहेका बेला मन्त्रिपरिषद्ले कर्तव्य ज्यान मुद्दामा सर्वाच्च अदालतबाट सर्वास्व सहित जन्मकैदको सजाय पाएका सभासद् बालकृष्ण ढुंगेललाई माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गर्यो । यसका अतिरिक्त प्रधानमन्त्री बावुराम भट्टराईले १९ जना राज्य र सात जना सहायक मन्त्री थप गरी ४६ सदस्यीय मन्त्रिमण्डल गठन गरेपछि काँग्रेस, एमाले लगायतका प्रतिपक्षीदलहरुले आक्रोश व्यक्त गरे । उनीहरुले शान्ति प्रक्रिया र संविधान निर्माणका लागि दलहरुबीच बन्दै गएको विश्वासको वातावरण बिथोलिएको आरोप समेत लगाए ।
सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने सहमति भइसकेको र त्यस सम्बन्धी व्यवस्थापिका संसदको विधायन समितिमा रहेको विधेयकलाई अघि बढाउन पहल भएको बेला ढुंगेलबारे सरकारको निर्णयले कानूनी राज्यको उपहास गरेको प्रतिपक्षीहरुको भनाई छ । सहमतिको वातावरण बनाउन उनीहरुले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरे । पीडित परिवार, सशस्त्र द्वन्द्व पीडित, मानव अधिकारकर्मी, विद्यार्थी, कानून व्यवसायी लगायतले पनि सरकारको निर्णयको विरोध गरे । उनीहरुले राष्ट्रपतिलाई भेटी मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न आग्रह गर्यो ।
चौतर्फी विरोध भएपछि माओवादी नेताहरुले यसको प्रतिवाद गर्ने प्रयास गरे । व्यवस्थापिका संसदको बैठकमा माओवादीकी सभासद् देवी खड्काले राजनीतिक पूर्वाग्रहका आधारमा ढुंगेललाई फसाउन खोजिएको आरोप लगाइन । उनले द्वन्द्वकालका घटनामा फर्कने भए काँग्रेस, एमाले लगायतका नेताहरुलाई मुद्दा हाल्ने चेतावनी दिइन । माओवादी जिल्ला कमिटी ओखलढुङ्गाले पत्रकार सम्मेलन गरी ढुंगेल निर्दाेष रहेका जिकीर गर्दै जर्वजस्त फसाउने षड्यन्त्र भए प्रतिकार गर्ने चेतावनी दियो ।
यता सात वुँदे सहमतिअनुसार सेना समायोजनका विषयमा सचिवालयले तयार पारेको प्रस्ताव पारित हुन सकेन भने सशस्त्र द्वन्द्वका बेला कब्जा गरिएका सम्पत्ति फिर्तामा असर पर्यो । बरु, उल्टै माओवादीका उपाध्यक्ष मोहन बैद्य पक्षले संखुवासभा, कैलाली र कञ्नपुरमा सम्पत्ति फिर्ता नगर्ने र फिर्ता गर्ने प्रयास भए प्रतिकार गर्ने चेतावनी नै दियो । सात बुँदे सहमति कार्यान्वयन नभए माओवादी आफै समाप्त हुने काग्रेस र एमालेका नेताहरुले चेतावनी दिए ।
मुख्य गतिविधि
| कार्तिक २० | सवैधानिक समितिका सभापति निलाम्बर आचार्यद्वारा दलहरुबीच भएको सहमति अनुसार काम भए ६ महिनाभित्र सविधान जारी गरि एक वर्षमा आमनिर्वाचन गर्न सकिने धारणा व्यक्त । राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता । १७ औ सार्क शिखर सम्मेलन र शान्ति प्रक्रिया तथा संविधान निर्माणबारे भएको सहमतिबारे प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई जानकारी । माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वकालमा कब्जा गरिएका घर–जग्गा सहित सबै सम्पत्ति फिर्ता गर्न दिएको निर्देशनप्रति उपाध्यक्ष मोहन बैद्य पक्षद्धारा आपत्ति । दाहालको निर्देशन केन्द्रीय समितिको निर्णय विपरित भएको बैद्य पक्षका नेताहरुको भनाइ । |
| कार्तिक २१ | राष्ट्रिय जनमोर्चाद्वारा संघीयता विरुद्ध जनदबाब सप्ताह कार्यक्रम शुरु । काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाद्वारा शान्ति र संविधान निर्माण प्रक्रियाले पूर्णता पाउन नसके माओवादी नै जिम्मेवार हुनुपर्ने धारणा व्यक्त । माओवादीका उपाध्यक्ष मोहन बैद्य पक्षद्वारा संखुवासभामा पत्रकार सम्मेलन गरी कब्जा सम्पत्ति फिर्ता नगर्ने घोषणा । फिर्ता गरे प्रतिकार गर्ने चेतावनी । राष्ट्रिय सहमतिको सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने कांग्रेसका नेता सशांक कोइरालाको भनाइ । |
| कार्तिक २२ | प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा छैठौ पटक मन्त्रीमण्डल विस्तार । माओवादी, मधेशी मोर्चा र साना दल सहित ४६ सदस्यीय मन्त्रीमण्डल गठन । मन्त्रिपरिषद्को बैठक । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतद्वारा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका सभासद् बालकृष्ण ढुंगेलको सजाय माफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय । सेना समायोजन विशेष समितिको बैठक । बहुमत सदस्य अनुपस्थित भएपछि सचिवालयले तयार पारेको लडाकुहरुको पुनस्र्थापनासम्बन्धी प्याकेज अनुमोदन हुन सकेन । नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलद्वारा मन्त्रिपरिषद् विस्तार अर्थहिन रहेको टिप्पणी । मंसिर १४ गते अघि नै आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने जिकिर । सार्कको १७ औ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री बाबुराम भट्टराई माल्दिभ्स प्रस्थान । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालद्वारा अब बन्ने सरकारको नेतृत्व कांगे्रसलाई दिनुपर्ने जिकिर । काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन सक्ने विश्वास व्यक्त । |
| कार्तिक २३ | सभासद् बालकृष्ण ढुंगेलको सजाय माफी गर्ने निर्णय विरुद्ध नेपाल माओवादी पिडित संघ र द्वन्द्वपीडित टुहुरा समाजद्वारा सिंहदरवारको दक्षिण गेटमा एक घण्टा धर्ना । दोषीलाई कारवाही गर्न माग । नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघद्वारा सभाषद् बालकृष्ण ढुंगेलको सजाय माफी नगर्न राष्ट्रपति रामवरण यादवसँग आग्रह । माफी भएमा राज्यमा दण्डहीनता बढ्ने भनाइ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनबीच अमेरिकामा भेटवार्ता । शान्ति प्रक्रिया र संविधान निर्माणबारे छलफल । एमाले नेता शंकर पोखरेलद्वारा वर्तमान सरकार मंसिर सात गतेपछि राष्ट्रिय सहमतिको सरकार बन्ने विश्वास व्यक्त । |
| कार्तिक २४ | सभासद् बालकृष्ण ढुङगेललाई सजाय माफी दिने सरकारी निर्णयको विरोधमा नेविसंघ र नेकपा एमाले समर्थक अनेरास्ववियुले राजधानीका विभिन्न क्याम्पस अघि प्रदर्शन । एमाले संसदीय दलको बैठक । सभासद् बालकृष्ण ढुंगेललाई माफी दिने निर्णय दलीय सहमति विपरित रहेको निष्कर्ष निकाल्दै त्यस्तो निर्णय फिर्ता लिन सरकारसँग माग । नेकपा एमालेका नेता केपी शर्मा ओलीद्वारा सरकारले राजनीतिलाई अपराधीकरण गर्न खोजेको आरोप । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाद्वारा सभासद् बालकृष्ण ढुंगेलको सजाय माफी गर्ने निर्णयलाई तत्काल सच्चाउन सरकारसँग आग्रह । निर्णयले कानूनी राज्यको उपहास भएको टिप्पणी । माओवादी उपाध्यक्ष मोहन बैद्यपक्षधर कैलाली र कञ्चनपुरका इन्चार्जद्वारा कव्जा सम्पत्ति फिर्ता गर्ने निर्णय सच्चाउन माग । त्यसलाई नसच्याइए आन्दोलन चर्काउने चेतावनी । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाद्वारा सभासद् बालकृष्ण ढुंगेललाई उन्मुक्ति दिनु कानुनी राज्यको उपहास भएको टिप्पणी । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालद्वारा आगामी मंसीर सात गतेभित्र ठोस प्रगति नभए वर्तमान सरकारको विकल्प खोज्नु पर्ने धारणा व्यक्त । |
| कार्तिक २५ | कार्यान्वयनमा ढिलाइ भएको भन्दै प्रधानमन्त्री स्वदेश फर्कने बित्तिकै सात बुँदे सहमतिबारे छलफल हुने कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाको भनाइ । सभासद् बालकृष्ण ढुंगेललाई सजाय माफी दिन आग्रह गर्दै राष्ट्रपतिलाई पठाएको पत्र संविधान, कानून र मानव अधिकारका अन्तर्राष्ट्रिय प्रतिवद्धतामा नेपालले जनाएको सहमति अनुरुप भएरनभएको हेरिने राष्ट्रपतिका प्रेस सल्लाहार राजेन्द्र दाहालको भनाइ । सभासद् बालकृष्ण ढुङ्गेललाई माफी दिने सरकारको निर्णयप्रति प्रतिपक्षी दलहरुद्वारा संसदमा आपत्ति । सभासद्हरुद्वारा निणर्य तत्काल फिर्ता नलिए परिणाम गम्भिर हुने चेतावनी । अन्तरिम संविधान २०६३ को एघारौ संशोधन विधयेक व्यवस्थापिका संसदमा पेश । कोरम नपुगेकाले विचार गरियोस भन्ने प्रस्ताव राख्नु अघि नै संसद बैठक स्थगित । माओवादी र साना केही दलका कारण व्यवस्थापिका संसद कार्यसञ्चालन नियमावलीका केही दफा निलम्बन हुन सकेन । मंसिर १४ पछि कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने एमाले उपाध्यक्ष वामदेव गौतमको भनाइ । एमाले अध्यक्ष झलनाथ खनालद्वारा सरकारले दण्डहीनतालाई प्रोत्साहन गरेको आरोप । |
| कार्तिक २६ | माओवादी ओखलढुंगा जिल्ला कमिटीद्वारा काठमाडौंमा पत्रकार सम्मेलन गरी बालकृष्ण ढुंगेललाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाउन खोजिएको आरोप । ढुंगेललाई कारवाही गरिए प्रतिकार गर्ने चेतावनी । व्यवस्थापिका संसदको बैठक । सभासद् ढुंगेललाई माफी दिने निर्णय फिर्ता गर्न सरकारसँग माग । राज्यपुनर्संरचनाका लागि अन्तरिम संविधानको एघारौं संशोधन विधयेक विचार गरियोस भन्ने प्रस्ताव पारित । कांग्रेसका सभापति सुशील कोइरालाद्वारा शेरबहादुर देउवालाई पत्र । केन्द्रीय सदस्यबाट दिएको राजीनामा अस्वीकृत भएको जानकारी । |
