दलहरुबीच पाँच बुँदे सहमति, सरकार पुनर्गठन (बैशाख १७–बैशाख २३)

Sunday, May 6, 2012
Written By: Bhuwan KC/ Tilak Pathak

संविधान निर्माणका विवादित विषयमा छलफल गर्दै आएका एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा राष्ट्रिय सहमतिको सरकार गठनमा प्रवेश गरे । काँग्रेस र एमालेले राष्ट्रिय सहमतिको सरकार गठनका लागि राजीनामा दिन प्रधानमन्त्री बाबुराम भट्टराईलाई दबाब दिए । उनीहरुले प्रधानमन्त्री भट्टराईले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउने चेतावनी समेत दिए ।

एमालेले पार्टीगत रुपमा नै प्रधानमन्त्री भट्टराईको राजीनामा माग्यो । काँग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने÷नल्याउने भन्नेमा छलफल भयो । विवाद भएपछि बैठकले त्यसबारे टुंगो लगाउने जिम्मेवारी सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवालाई दियो । त्यसपछि काँग्रेसले नियमित अधिवेशनका लागि दबाब दिने निर्णय गर्यो ।

माओवादी र मोर्चाले भने काँग्रेस र एमालेले अविश्वासको प्रस्ताव ल्याए त्यसको सामना गर्ने निर्णय गरे । उनीहरुले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिने बताए । विवाद हुँदाहुँदै बसेको माओवादी, काँग्रेस, एमाले र मोर्चाको बैठकमा राष्ट्रिय सहमतिको सरकार गठनबारे सहमति भयो । तर, त्यसलाई काँग्रेस र एमालेले विघटन भनी अर्थाए भने माओवादी र मोर्चाले पुनर्गठन हो भन्ने दाबी गरे । सहमतिबाट पछि हटेको भन्दै एमालेले काँग्रेस लगायतका दलहरुसँग परामर्श गरी अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दियो । निकै रस्साकस्सीपछि माओवादी र मोर्चाका तर्फबाट मन्त्री भएकाहरुले वैशाख २१ गते राती राजीनामा दिए । त्यसपछि माओवादी, काँग्रेस, एमाले र मोर्चाबीच पाँच बुँदे सहमति भयो ।

राजनीतिक दलहरुबीच दुई दिनभित्र भट्टराईको नेतृत्वमा सहमतिको नयाँ सरकार गठन गर्ने, शासकीय स्वरुप, राज्यको पुनर्संरचना लगायतका सबै विषयलाई तीन दिनभित्र सहमतिमा टुंग्याउने, सहमति नभएका विषयलाई प्रक्रियाबाट निर्णयमा लाने लिखित सहमति भयो । सहमतिमा जेठ १४ अघि नयाँ संविधान घोषणा गर्ने, संविधान घोषणा गर्नु अघि वर्तमान प्रधानमन्त्रीले राजीनामा गरी काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने, एक वर्षभित्र राष्ट्रिय आमनिर्वाचन सम्पन्न गर्ने लगायतका विषय उल्लेख गरियो ।

त्यसको अर्का दिन दलहरुबीच राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल भयो । माओवादी र मोर्चाले अघिल्लो मन्त्रिपरिषद्का सदस्यहरुलाई नै नयाँ सरकारमा पठाउने तयारी गरे । एमाले केन्द्रीय कमिटीको बैठकमा भने भट्टराईको नेतृत्वमा सरकारमा जाने÷नजाने भन्नेमा बहस भयो । केन्द्रीय कमिटीमा बोल्ने अधिकांश सदस्यहरुले नैतिकता र पार्टीले विगतमा लिएको निर्णयलाई आधार बनाएर भट्टराई सरकारमा सहभागी हुन नहुने बताए । त्यसबारे निर्णय गर्ने भन्दै एमालेले एकदिन पछि मात्र केन्द्रीय कमिटीको बैठक राख्यो । दुई दिनभित्रमा एमालेले मन्त्रिहरुको नाम नदिएपछि प्रधानमन्त्री भट्टराईले माओवादी, मोर्चा र काँग्रेसलाई समेटेर मन्त्रिपरिषद् बनाए ।

मुख्य गतिविधि

बैशाख १७ एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक । राष्ट्रिय सहमतिको सरकार, शासकीय स्वरुप र राज्यको पुनर्संरचनाबारे सहमति नजिक पुगेको नेताहरुको दाबी । राष्ट्रिय सहमतिको सरकारबारे छलफल शुरु ।
संवैधानिक समितिको बैठक । सहमतिका लागि प्रयास जारी रहेको भन्दै प्रमुख दलहरुद्वारा बैठक स्थगित गर्न माग । दलहरुको वार्ताको परिणामलाई हेरेर मात्र अर्काे बैठक बोलाउने समिति सभापति निलाम्बर आचार्यको भनाइ ।
संविधानका विवादित मुद्दामा दलहरुबीच सहमति हुन सकेन । संविधानसभाको बैठक सूचना टाँसेर स्थगित ।
व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिको बैठक । प्रधानसेनापति छत्रमानसिंह गुरुङद्वारा संगठनलाई सक्षम र सबल बनाउन पुनर्संरचनाको तयारी भइरहेको जानकारी ।
बैशाख १८ एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मेधशी मोर्चाको बैठक । राज्य पुनर्संरचना, शासकीय स्वरुप र राष्ट्रिय सहमतिको सरकार गठनमा छलफल । संविधानका विवादित विषयमा सहमति कायम गर्न प्रयास गर्ने, नभए प्रकृयाबाट टुंग्याउने नेताहरुको भनाइ । एमाले अध्यक्ष झलनाथ खनालद्वारा आगामी जेठ १४ गते संविधान जारी गर्ने सम्भावना क्षीण भएको टिप्पणी ।
एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापाद्वारा आफूहरुलाई शान्ति र संविधान विरोधीका रुपमा चित्रण गरिएको भन्दै आपत्ति प्रकट ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाद्वारा दलहरुको सत्ता लिप्साका कारण देश अराजकतामा फसेको धारणा व्यक्त ।
नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, एमाले नेता भिम रावल र एकीकृत नेकपा माओवादीका नेता लेखराज भट्टद्वारा सुदुरपश्चिमलाई नटुक्रयाउने प्रतिबद्धता ।
एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मार्चाको प्रधानमन्त्री निवास बालुवाटारमा बैठक । संविधान निर्माणको आधार तयार नभएसम्म सरकार गठनबारे छलफल गर्न नहुने निष्कर्ष ।
बैशाख १९ नेपाली काँग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक । जेठ १४ गतेभित्र संविधान जारी गर्ने वातावरण बनाउन आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय । सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कि नल्याउने भन्नेमा विवाद । यसबारे निर्णय गर्ने जिम्मेवारी सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवालाई ।
संविधानसभा बैठक । संविधानसभा नियमावली संशोधन । सहमति हुन बाँकी रहेका विषयलाई बहुमतीय प्रकृयाबाट टुंगो लगाउन सकिने । बहुमत नजुटे सहमतिका लागि पुनः संवैधानिक समितिमा पठाउन सकिने ।
संविधानसभा विवाद समाधान उपसमितिको बैठक । संविधानसभा नियमावालीलाई संशोधन गरेर संविधान निर्माण प्रक्रिया अघि बढाउने र सहमतिका लागि शिर्ष तहमा प्रयास जारी राख्ने निर्णय ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङद्वारा संविधान निर्माणका बाँकी काम र समयबारे प्रमुख दलका शिर्ष नेताहरुसँग परामर्श ।
मजदुर दिवसका अवसरमा राजधानीको खुल्लामञ्चमा कार्यक्रम । पहिचान र सामथ्र्यको आधारमा संघीय संविधान नबने विद्रोहका आँधीबेहरी चल्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको भनाइ ।
मजदुर दिवसका अवसरमा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्य पक्षद्वारा वसन्तपुरमा कार्यक्रम । लडाकु र हतियार बुझाएर अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिलाई धोखा दिएको आरोप ।
संविधान निर्माणका विवादित विषयमा सहमति खोज्न बस्ने भनिएको एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक भएन । विराटनगर गएका प्रधानमन्त्री बाबुराम भट्टराई मौसम खराव भएको भन्दै राजधानी नआउँदा बैठक प्रभावित ।
बैशाख २० प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा जनकपुरमा बम विस्फोटमा घाइते भइ शिक्षण अस्पताल भर्ना भएका बिरामीसँग भेटघाट । मिथिला प्रदेश नसमेटिएको भन्दै घाइतेहरुको गुनासो । प्रधानमन्त्री भट्टराईद्वारा सहमतिका लागि प्रयास जारी राखेको भनाइ ।
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनद्वारा राजधानीमा कार्यक्रम । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल लगायतका नेताहरुद्वारा नयाँ संविधानमा मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता ।
नेपाली काँग्रेस संसदीय दलको बैठक । सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने÷नल्याउनेबारे विवाद । रामचन्द्र पौडेलद्वारा अविश्वासको प्रस्ताव ल्याउनुपर्ने र नरहरि आचार्य लगायतका नेताहरु त्यसको विपक्षमा । संसदको अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय ।
प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा अखण्ड सुदुरपश्चिम तथा विभिन्न प्रदेशको माग राखी बन्द तथा हडताल गरेकालाई वार्तामा आउन आग्रह । सुदुर पश्चिम एकता मञ्च, अखण्ड सुदुर पश्चिम संघर्ष समिति, क्षेत्री समाज, सुदुर पश्चिम जागरण मञ्च, संयुक्त लोकतान्त्रिक थारु मोर्चा, थारु संयुक्त संघर्ष समिति, मिथिला राज्य संघर्ष समिति लगायतको मागप्रति सरकारको ध्यानाकर्षण भएको जानकारी ।
सिंहदरवारस्थित एकीकृत नेकपा माओवादी संसदीय दलको बैठकमा माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक । प्रतिपक्षी दलहरुले अविश्वासको प्रस्ताव ल्याए त्यसको सामना गर्ने निर्णय, अविश्वासको प्रस्ताव ल्याउन खोज्नु शान्ति र संविधान निर्माणलाई बिथोल्नु भएको आरोप ।
एमाले स्थायी समितिको बैठक । राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिनुपर्ने निर्णय ।
एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक । राष्ट्रिय सहमतिको सरकार गठनका लागि सहमति । एमाले अध्यक्ष झलनाथ खनालद्वारा सरकार विघटन हुने भनाइ । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठद्वारा बाबुराम भट्टराईको नेतृत्वमा नै सरकार बन्ने दाबी ।
बैशाख २१ एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा बैठक । शान्ति र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पु¥याउन वर्तमान सरकारलाई नै निरन्तरता दिने सहमति ।
एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छदारको बैठक । सहमतिका लागि साझा प्रस्तावबारे छलफल ।
सरकार विघटन कि पुनर्गठन भन्नेमा दलहरुबीच विवाद ।
एमाले स्थायी समितिको बैठक । माओवादी सहमतिबाट पछि हटे सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय ।
सूचना टाँसेर संविधानसभाको बैठक स्थगित । बैठक अर्काे दिन बस्ने ।
एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक । सरकार गठन कि पुनर्गठन भन्नेमा विवाद । विवादका बीच माओवादी र मोर्चाका तर्फबाट मन्त्री भएकाद्वारा राजीनामा ।
एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच पाँचबुँदे सहमति । बाबुराम भट्टराईको नेतृत्वमा नै राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति । सहमतिमा संविधान जारी अघि काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने र त्यसले एक वर्षभित्र आमनिर्वाचन गराउने उल्लेख ।
अखण्ड सुदुरपश्चिमको माग गर्दै सात दिनदेखि जारी बन्दका कारण सुदुरपश्चिमको जनजीवन कष्टकर ।
नेताहरु संविधानका विवादित विषयमा केन्द्रित भएकाले संवैधानिक परिषद्को बैठक अनौपचारिकतामा सिमित ।
बैशाख २२ आफनो पार्टीले अघिल्ला मन्त्रिपरिषद्का सदस्यहरुलाई नै वर्तमान मन्त्रिपरिषद्मा निरन्तरता दिने एकीकृत नेकपा माओवादीको भनाइ ।
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक । बाबुराम भट्टराईले नेतृत्व गरेको सरकारमा जाने÷नजानेबारे विवाद । बैठकमा बोल्ने अधिकांश सदस्यहरुद्वारा सरकारमा नजान दबाब ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालद्वारा दलहरुबीच भएको पाँचबुँदे सहमतिले विश्वासको वातावरण बनाएको धारणा व्यक्त । छिट्टै सहमतिको सरकार बनाइ संविधान निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड ।
एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको प्रधानमन्त्री निवास बालुवाटारमा बैठक । भोलिसम्म राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति । संविधानका विवादित विषयबारे विवाद समाधान उपसमिति र संवैधानिक समितिको बैठक बोलाएर सहमति खोज्ने नेताहरुको भनाइ ।
बैशाख २३ प्रधानमन्त्री बाबुराम भट्टराई र नेपाली काँग्रेसका सभापति सुशील कोइरालाबीच भेटवार्ता । मन्त्रिपरिषद् विस्तारबारे छलफल ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र संयुक्त राष्ट्रसंघका प्रतिनिधि स्याम्युएल ताम्राटबीच भेटवार्ता । संविधान निर्माणका लागि मिलेर अघि बढन सुझाव ।
संविधान निर्माणका विवादित विषयमा एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच छलफल । राज्य पुनर्संरचनाबारे थप छलफल गर्ने सहमति ।
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको निवासमा पदाधिकारी सहित केही नेताहरुको बैठक । वरिष्ठ नेता शेरबहादुर देउवासँग परामर्श गरी सरकारमा पठाउने नेताको नाम टुंगो लगाउने अधिकार सभापति कोइराला र उपसभापति रामचन्द्र पौडेललाई ।
प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र मधेशी मोर्चाका गरी १२ जनालाई मन्त्रिपरिषद्मा सामेल ।