सेना समायोजनमा विवाद ( फागनु १४– २०)

Sunday, March 4, 2012
Written By: Bhuwan KC/ Tilak Pathak

एकीकृत माओवादी, नेपाली कांग्रेस र एमालेको बैठकले शान्ति प्रक्रिया र संविधान निर्माणबारे सहमतिको साझा प्रस्ताव तयार पार्ने र त्यसमा छलफल गरी सहमति जुटाउन जिम्मेवारी दिएपनि तीन दलका नेताबीच सहमति भएन । कांग्रेस सभापति सुशील कोइरालाको महाराजगञ्जस्थित निवासमा बसेको बैठकमा माओवादी, कांग्रेस र एमालेका शिर्ष नेताले मौखिक रुपमा आ–आफ्नो प्रस्ताव पेश गरे । माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया अघि बढेको तीन सातामा लडाकुहरु रहेको शिविरहरु खाली गर्ने प्रस्ताव गरे । नेताहरुले आ–आफ्नो पार्टीमा छलफल गरी अर्काे बैठकमा लिखित रुपमै साझा सहमतिको प्रस्ताव पेश गर्ने बताए ।

माओवादी, कांग्रेस र एमालेको अर्काे बैठक लाजिम्पाटस्थित माओवादी अध्यक्ष दाहालको निवासमा बस्यो । बैठकमा तीनै दलका शिर्ष नेताले मौखिक रुपमै प्रस्ताव पेश गरे । माओवादी अध्यक्ष दाहालले महानिर्देशनालयको दोस्रो तहमा मााओवादी लडाकु हुनुपर्ने प्रस्ताव गरे । विशिष्ट परिस्थिति भएकाले राजनीतिक सहमतिबाटै सेनामा लडाकुहरुको दर्जा निर्धारण गर्नुपर्ने दाहालको प्रस्ताव थियो । तर, कांग्रेस र एमालेले त्यसमा असहमति जनाए ।

बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान निर्माणमा मिल्न बाँकी रहेका विषयबारे जानकारी गराए भने कांग्रेस सभापति कोइरालाले बेपत्ता छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगबारे विधेयक समेत तयार भएकाले वृहत शान्ति सम्झौता र विगतका सहमतिका आधारमा आयोग गठन गर्नुपर्ने बताए । उनले आवश्यक परे विधेयकबारे सहमति जुटाउन गठित संसदीय उपसमितिका सदस्यहरुसँग शिर्ष नेताहरुले पनि छलफल गर्न सकिने धारणा व्यक्त गरे ।

सहमति नभएपनि छलफललाई दलहरुले जारी राखे । महाराजगञ्जस्थित कांग्रेस सभापति कोइरालाको निवासमा फागुन २० गते बसेको बैठकमा समायोजनमा जाने लडाकुले पाउने माथिल्लो तहबारे छलफल भयो । माओवादीले महानिर्देशनालययमा माओवादी लडाकु रहँदा सेना समायोजन र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सजिलो हुने जिकिर गर्यो । कांग्रेस र एमाले पहिलेकै अडान दोहोर्याए ।

दलहरुबीच छलफल हुँदा सहमति नहुने र समायोजन प्रक्रिया अघि नबढेका बेला कांग्रेस र एमालेका तर्फबाट सेना समायोजन विशेष समितिमा रहेका सदस्यले प्रधानमन्त्री बाबुराम भट्टराईसँग भेट गरी समितिको बैठक तत्काल बोलाउन आग्रह गरे । त्यसको अर्काे दिन बसेको विशेष समितिको बैठकले दश दिनभित्र १३ वटा सहायक शिविर खाली गर्ने निर्णय गर्यो । यस्तै बैठकले सहायक शिविरमा रहेका हतियार मुख्य शिविरमा राख्ने, खाली भएका भएका शिविरको सुरक्षा नेपाली सेना र सशस्त्र प्रहरीले गर्ने र समिति सचिवालयले ती शिविरहरुको लागत तयार पार्ने निर्णय गर्यो ।

यसबीचमा संवैधानिक समितिको बैठक बस्यो । बैठकमा एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दलहरुबीच भइरहेको छलफलबारे जानकारी गराए । मुख्य दलहरुबीच सहमति हुन नसकेपछि संवैधानिक समिति कार्य सूचीमा समेत प्रवेश गरेन । संविधानका विवादित विषयमा सहमति कायम गर्नका लागि संवैधानिक समितिले दलहरुलाई फागुन २० गतेसम्मको समय दिएको थियो । आफूहरुबीच सहमति नहुने स्थिति रहेपछि फागुन १९ गते बसेको संवैधानिक समितिको बैठकमा दलहरुले सहमति कायम गर्नका लागि थप समय माग गरे । त्यसपछि नौ दिनका लागि संवैधानिक समितिको बैठक स्थगित गरियो ।

मुख्य गतिविधीहरु

फागनु १४ कांग्रेस सभापति सुशील कोइरालाको महाराजगञ्जस्थित निवासमा माओवादी, कांग्रेस र एमालेका शिर्ष नेताहरुको बैठक । माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा शान्ति प्रक्रिया, कांग्रेस सभापति कोइरालाद्वारा आयोगहरु र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालद्वारा संविधानबारे साझा सहमतिको मौखिक रुपमा प्रस्ताव पेश । माओवादी अध्यक्षद्वारा तीन सातामा शिविरहरु खाली गर्ने प्रस्ताव ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक । जेपी गुप्ताको फैसला मधेशका मुद्दालाई निस्तेज पार्ने सिलसिलाका क्रममा भएको ठहर ।
माओवादी पदाधिकारीको बैठक । वाइसिलयलाई राहत दिनेबारे सुझाव दिन पूर्व शान्ति मन्त्री जनार्दन शर्मा र स्थायी समिति सदस्य नेत्रविक्रम चन्द रहेको कार्यदल गठन ।
फागुन १५ नेपाल आयाल निगमको केन्द्रीय कार्यालयअघि बम विस्फोट । तीन जनाको मृत्यु । छानविनका लागि नेपाल प्रहरीद्वारा टोली गठन ।
मन्त्रिपरिषद्को बैठक । प्रधानमन्त्रीद्वारा सुरक्षा व्यवस्था कडा पार्न गृहमन्त्रीलाई निर्देशन ।
प्रधानमन्त्री प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा जेठ १४ गतेभित्र नै शान्ति प्रक्रियाको टुंगो लागि संविधान जारी हुने विश्वास व्यक्त । स्थानीय निकायमा एक साताभित्र दलिय संयन्त्र गठन गर्ने भनाइ ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलद्वारा विगतका सहमति कार्यान्वयन नगरेको भन्दै माओवादीको आलोचना । जेठ १४ गतेसम्म अहिलेको अवस्था कायम राख्न खोजेको आरोप ।
फागुन १६ संवैधानिक समितिको बैठक । एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेलद्वारा शिर्ष नेताहरुबीच भएको छलफलबारे जानकारी ।
विवादित विषयलाई निर्णयका लागि संविधानसभामा पठाइने संवैधानिक समितिका सभापति निलाम्बर आचार्यको भनाइ ।
सेना समायोजन विशेष समितिमा रहेका कांग्रेस र एमालेका नेताहरुद्वारा प्रधानमन्त्री बाबुराम भट्टराईसँग भेट । विशेष समितिको बैठक बोलाउन आग्रह ।
वाइसिएलमा कार्यरत पूर्व लडाकुहरुद्वारा फागुन २२ गतेसम्म आन्दोलनका कार्यक्रम स्थगित । पार्टीले माग सम्बोधन गर्ने तयारी गरेकाले आन्दोलन स्थगित गरेको आन्दोलनरत वाइसिएलको भनाइ ।
फागुन १७ सेना समायोजन विशेष समितिको बैठक । दश दिनभित्र १३ वटा सहायक शिविर खाली गर्ने निर्णय ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भटटराईबीच लाजिम्पाटस्थित दाहाल निवासमा भेट । समायोजनबारे पार्टीको धारणाबारे छलफल ।
निर्वाचन आयोगद्वारा आय व्यवयको विवरण नबुझाएको र त्यसको कारण पनि स्पष्ट नपारेको भन्दै १२ वटा राजनीतिक दल खारेज गर्ने प्रक्रिया सुरु ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालद्वारा शान्ति प्रक्रिया र संविधान निर्माणमा माओवादी बाधक भएको आरोप ।
फागुन १८ लाजिम्पाटस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा माओवादी, कांग्रेस र एमाले नेताहरुको बैठक । शिर्ष नेताहरुद्वारा मौखिक रुपमा प्रस्ताव पेश । समायोजनमा जाने लडाकुले पाउने माथिल्लो पदबारे छलफल । माओवादीद्वारा महानिर्देशनालयको नेतृत्व पनउनुपर्ने माग ।
नेकपा एमाले स्थायी समितिको बैठक । प्रतिनिधि परिषद्मा पेश गरिने अध्यक्षको प्रतिवेदनलाई अन्तिम रुप ।
व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको बैठक । फास्ट ट्रयाक्कमा अनियमितता भए÷नभएकोबारे छानविन गर्न सदस्य रविन्द्र अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन
फागुन १९ संवैधानिक समितिको बैठक । माओवादी, कांग्रेस र एमालेद्वारा विवादित विषयमा छलफल गर्न समितिसँग माग । नौ दिनसम्म समितिको बैठक स्थगित ।
एमाले केन्द्रीय कमिटीको बैठक । प्रतिनधि परिषद्को बैठकबारे छलफल ।
राष्ट्रपति रामवरण यादव र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलबीच शितल निवासस्थित राष्ट्रपति निवासमा भेट । राष्ट्रपतिले शान्ति र संविधान निर्माणमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गरेको पौडेलद्वारा जानकारी ।
निर्वाचन आयोगद्वारा तीन वर्षको आय व्यवको विवरण नबुझाएको र त्यसको कारण पनि पेश नगरेको भन्दै दशवटा राजनीतिक दलको दर्ता खारेज ।
फागुन २० महाराजगञ्जस्थित कांग्रेस सभापति कोइरालाको निवासमा माओवादी, कांग्रेस र एमालेका शिर्ष नेताहरुको बैठक । समायोजनबारे छलफल । सेनाको स्थापित मापदण्ड र सातबुँदे सहमति भन्दा बाहिर जान नसकिने कांग्रेस र एमाले नेताको भनाइ । महानिर्देशनालयको नेतृत्व तहमा लडाकु हुनुपर्ने माओवादी अडान ।
कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भटटराईको प्रथम पुण्यतिथी । प्रधानमन्त्री भट्टराईद्वारा शान्ति र संविधान निर्माण टुंगोमा पुग्न नसके मुलुकमा ५० औं हजारको वलिदानी हुने चेतावनी । कांग्रेस सभापति सुशील कोइरालाद्वारा शान्ति प्रक्रियामा माओवादीले अवरोध सिर्जना गरेको आरोप ।
राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा अवसरमा नेकपा एमालेद्वारा पत्रकार सम्मेलन । बैठकबाट शान्ति र संविधान निर्माणका लागि जनदबाब सिर्जना हुने एमाले अध्यक्ष झलनाथ खनालको भनाइ ।