फेरि बन्यो, संविधान निर्माणको कार्यतालिका (मंसिर १८-२४)
प्रमुख तीन दल एकीकृत माओवादी, नेपाली कांग्रेस र एमलेसहित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चावीच मंसीर १३ गते भएको ६ वुँदे सहमतिको वुँदा नं ४ मा ‘सवैधानिक समितिवाट संविधान निर्माणको कार्यतालिका २०६८ मंसीर २० भित्र सार्वजानिक गरिने’ उल्लेख भएअनुसार संविधान निर्माणको कार्यतालिका बनाइयो । संविधानसभा संवैधानकि समितिको विवाद समाधान उपसमितिले संविधान निर्माणको कार्यतालिका तयार पार्यो । त्यसलाई संवैधानिक समितिले पारित गरी पठाएपछि संविधानसभाले संविधान निर्माणको कार्यतालिकालाई पारित गरेको हो ।
पहिले संविधानसभा सचिवालयले मस्यौदा तयार पार्ने, मुख्य सचेतकहरुबीच छलफल हुने र संविधानसभाले पारित गर्दथ्यो । तर, राजनीतिक दलहरुबीच शान्ति प्रक्रिया र सत्तामा विवाद भएकाले कार्यतालिका अनुसार काम भएन । यसपटक भने कार्यतालिका फरक ढंगले तयार भयो । दलका शिर्ष नेताहरु रहेको विवाद समाधान उपसमितिले मस्यौदा तयार पारी त्यसलाई संवैधानिक समिति हु“दै संविधानसभामा पठाइयो । यसले गर्दा कार्यतालिकाप्रति संविधानसभाको स्वामित्व वढन गएको छ ।
२०६८ साल मंसिर २० गते पारित भएको कार्यतालिकामा समय, संवैधानिक समिति, उपसमितिले गर्नुपर्ने काम र यसबीचमा समानान्तर रुपमा गर्नुपर्ने काम प्रष्टस“ग उल्लेख छ । कार्यतालिकामा पौष १५ गतेसम्म विवाद समाधान उपसमितिले राज्यको पुनर्संरचना बाहेकका टुङ्गो लाग्न बाँकी सबै विषयमा सहमति कायम गरी संवैधानिक समितिमा प्रतिवेदन पेश गर्नुपर्ने र पौष २० गतेसम्म उपसमितिले सहमति कायम गरी दिएको प्रतिवेदनमाथि छलफल गरी विषयवस्तुबारे निर्णय गर्ने उल्लेख छ ।
कार्यतालिकामा पौष २५ गतेसम्म संवैधानिक समितिले सहमति भएका विषयहरुलाई पहिलो मस्यौदामा समावेश गर्दै जाने, माघ १५ गतेसम्म राज्यको पुनर्संरचनास“ग सम्बन्धीत विषय बाहेकका अन्य सबै विषयको पहिलो मस्यौदा तयार गरी संवैधानिक समितिमा छलफल गर्ने पनि किटान गरिएको छ । त्यस्तै कार्यतालिकामा फागुन १५ गतेसम्म संवैधानिक समितिले राज्यको पुनर्संरचना सुझाव उच्चस्तरीय आयोगको सुझावमाथि संविधानसभाले दिने निर्देशन बमोजिम पहिलो मस्यौदालाई अन्तिम रुप दिने, फागुन २२ गतेसम्म संवैधानिक समितिले मस्यौदालाई अन्तिम रुप दिने, २०६८ साल बैशाख ७ गतेसम्म संविधानको विधेयक तयार पार्ने र संविधानधानसभामा पेश गर्ने उल्लेख छ । २०६८ साल बैशाख ९ गतेदेखि जेठ ७ गतेसम्म संविधानसभामा छलफल गरी पारित गर्ने विषय पनि कार्यतालिकामा समेटिएको छ । जेठ १४ गतेभित्र संविधानसभाले पारित गरी त्यसलाई राष्ट्रपतिसमक्ष पेश गर्ने पनि कार्यतालिकामा उल्लेख छ ।
चारवर्षसम्म दलहरुबीच शान्ति प्रक्रिया कि संविधान निर्माण पहिले विवाद थियो । त्यस अतिरिक्त नेताहरुले शान्ति प्रक्रिया र संविधान निर्माण स“गस“गै हुनुपर्छ भन्ने विचार पनि व्यक्त गरेका थिए । संविधानसभाका अध्यक्ष नेम्वाङ शान्ति प्रक्रिया र संविधान निर्माणका लागि कार्यतालिका बनाएर काम भएकाले अब त्यो विवाद समाप्त भएको दाबी गर्छन । उनको भनाइ छ–‘अब कुनै पनि निहु“मा शान्ति प्रक्रिया र संविधान निर्माण अवरुद्ध हुन सक्दैन ।’
मुख्य गतिविधि
| मंसिर १८ | माओवादी, काँग्रेस, एमाले र मधेशी मोर्चाको काठमाडौंको गोकर्ण रिसोर्टमा वार्ता । मंसिर मसान्तभित्र राष्ट्रिय सहमति सरकार गठनको टुङ्गो लगाउने जिम्मेवारी शिर्ष नेताहरुलाई दिन निर्णय । राज्यपुनर्संरचना आयोगको रिक्त दलित कोटामा मदन परियारलाई नियुक्त गर्न सरकारलाई सिफारिस गर्ने निणर्य ।
युवा स्वरोजगार कोषमा अनियमिता भएको भन्दै युवा संघद्धारा अर्थमन्त्री वर्षमान पुनलाई त्रिभुवन विमानस्थलको मुख्य द्वारमा विरोध प्रदर्शन । प्रहरी हस्तक्षप भएको भन्दै युवासंघद्वारा दुईवटा सरकारी गाडीमा आगजनी । संविधानसभा संवैधानिक समितिको बैठक । विवाद समाधान उपसमितिले संविधान निर्माणका लागि तयार पारेको कार्यतालिकामा सामान्य संशोधन गरी संविधानसभाको पूर्ण बैठकमा पठाउने निर्णय । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाद्वारा ‘सत्ता कव्जा गर्छौ’ भन्ने माओवादी अध्यक्ष पुष्पककमल दाहालको हाँक माओवादीको दीवास्वप्न मात्र हुने टिप्पणी । सत्ताकव्जा गर्ने दाहालको भनाइ अहिलेसम्मका सबैै सहमति विपरीत रहेको भनाइ । द्वन्द्वकालमा कब्जा गरिएको घरजग्गा फिर्ता गर्ने सरकार र माओवादीको निर्णयप्रति आपत्ति जनाउँदै माओवादी उपाध्यक्ष मोहन बैैद्य पक्षद्वारा कैलालीको धनगढीमा प्रदर्शन । कब्जा जग्गा फिर्ता नगर्न माग गर्दै माओवादी उपाध्यक्ष बैद्य पक्ष माओवादी कार्यकर्ताद्वारा दाङ, बाँके, बर्दिया र कञ्चनपुरस्थित स्थानीय प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र । |
| मंसिर १९ | सुनचाँदी व्यवसायीद्वारा हत्याको विरोधमा ललितपुर बन्दको आयोजना । राज्य पुनर्संरचना आयोगको बैठक सिंहदरबारस्थित संस्कृति मन्त्रालयमा । सार्वजनिक समारोह र आमसञ्चार माध्यममा राज्य पुनर्संरचनाको काम प्रभावित हुनेगरी सदस्यहरुले नबोल्ने निर्णय गरिएको प्रवक्ता कृष्ण हाछेथुद्वारा जानकारी ।
एमाले निकट युवा संघद्वारा मंसीर २० गते गर्ने भनिएको उपत्यका बन्द फिर्ता । प्रधानमन्त्री बाबुराम भट्टराईले युवा स्वरोजगार कोषको रकम दुरुपयोगबारे छानविन गर्ने र पक्राउ परेका युवा संघका पाँच कार्यकर्ता रिहा गर्ने प्रतिबद्धता जनाएकाले बन्द फिर्ता लिने निर्णय गरेको संघका अध्यक्ष महेश बस्नेतको भनाइ । कांगे्रस सभापति सुशील कोइरालाद्वारा अहिले नयाँ सरकार बनाउने र त्यसको नेतृत्व कसले लिने भन्ने कुरा गर्ने समय नै नभएको धारणा ब्यक्त । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाद्वारा भने अबको सरकार कांग्रेसको नेतृत्वमा बन्ने र राष्ट्रिय सरकारको नेतृत्व आफूले गर्ने दाबी । |
| मंसिर २० | संसदको बैठक । चितवनको कारागारभित्र तरुण दल चितवनका अध्यक्ष शिव पौडेल लगायतका कैदीमाथि भएको आक्रमणको विरोधमा काँग्रेसद्वारा सदन अवरुद्ध । आक्रमणबारे छानबिन गर्न सरकारद्वारा गृहमन्त्रालयका सहसचिव शंकर कोइरालाको संयोजकत्वमा चार सदस्यीय समिति गठन । सरकारद्वारा चितवनका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक खिनुप्रसाद आचार्य, जेलर चुडामणी शर्मा पौडेल र प्रहरी नायव निरीक्षक शिवराज क्षेत्रीलाई निलम्बन ।
संविधानसभाको बैठक । संविधान निर्माणको कार्यतालिका पारित । संवैधानिक परिषद्को बैठक । संवैधानिक निकायहरुमा हुने नियुक्तिको छनौट आधार तयार पार्ने जिम्मेवारी मुख्य सचिव मावधप्रसाद घिमिरेलाई । मन्त्रिपरिषद्को बैठक । राज्य पुनर्संरचना आयोगको संयोजकमा मदन परियारलाई नियुक्त गर्ने निर्णय । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाद्वारा षड्यन्त्र र मनपरीतन्त्रको अन्त्य गरी पार्टीभित्र एकता र मेलमिलाप कायम गर्न आवश्यक रहेको धारणा व्यक्त । |
| मंसिर २१ | लुम्बिनी विकास निर्देशक समितिबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई हटाउन माग गर्दै बुद्ध धर्मसँग सम्बन्धित समुदाय र संघ–संस्थाद्वारा काठमाडौंमा ¥याली । समितिको संयोजकमा बौद्ध धर्मावलम्बीलाई नै राख्नुपर्ने माग ।
कांग्रेस सभापति सुशील कोइरालाद्वारा राष्ट्रिय सहमतीय सरकारको नेतृत्व कांग्रेसले गर्ने दाबी । काँग्रेसको नेतृत्वमा छिटटै राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भनाइ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा राष्ट्रपति समक्ष एघारौ प्रतिवेदन पेश । मानवअधिकार उल्लंघनकर्तालाई कारवाही नभएकोमा विशेष ध्यानाकर्षण । संविधानसभा संवैधानिक समिति अन्तरगत विवाद समाधान उपसमितिको बैठक माओवादी अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण स्थगित । एमाले वरिष्ठ नेता माधवकुमार नेपालद्वारा राज्य पुनःसंरचना आयोगले निष्पक्ष काम गर्न नसक्ने धारणा व्यक्त । आयोगमा स्वतन्त्र व्यक्तिहरू राख्नुपर्नेमा दलगत भर्तीकेन्द्र बनाइएको आरोप । |
| मंसिर २२ | युरोपेली संघका राजदूतहरुद्वारा नेपालस्थित राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त कार्यालयको म्याद थपका लागि पहल सुरु । यसैक्रममा कांग्रेसका सभापति सुशील कोइरालासँग भेटघाट । कोइरालाद्वारा म्याद थप्न पहल गर्ने वचन ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङद्वारा कार्यतालिका अनुसार शान्ति प्रक्रिया र संविधान निर्माणका काम गर्न राजनीतिक दलहरुलाई आग्रह । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन र प्रधानमन्त्री बाबुराम भट्टराईवीच फोनवार्ता । नेपालस्थित राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको म्याद सकिएकोबारे चासो व्यक्त । राज्य पुनर्संरचना आयोगका संयोजक मदन परियारद्वारा पहाड र तराईलाई समेट्ने प्रादेशिक संरचना नेपालका लागि उपयुक्त हुने धारणा व्यक्त । सर्वोच्च अदालतद्वारा विभिन्न मितिमा पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री, मन्त्रीमण्डलका सदस्य, सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश, राजनीतिक दलका सभापति, पूर्व राजपरिवारका सदस्य लगायतलाई मन्त्रिपरिषद्ले बढाएको सेवा–सुविधा बदर गर्ने फैसला । काँंग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाद्वारा पार्टी सभापति सुशील कोइरालाले पटक–पटक जाली कुरा गरेकाले पार्टीभित्रको विवाद साम्य हुन नसकेको आरोप । राष्ट्रपति .रामवरण यादवद्वारा नेपाली जनताको ठूलो बलिदानबाट प्राप्त भएको लोकतन्त्रलाई संस्थागत गर्न समयमै संविधान बनाएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त । |
| मंसिर २३ | संविधानसभा संवैधानिक समितिको बैठक । संविधान निर्माणमा देखिएका समस्या छिटो सुल्झाउन राजनीतिक दलहरुलाई आग्रह ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा सरकारले सरकारी सुविधाका लागि उपलव्ध गराएको गाडी नचढ्ने घोषणा । काँग्रेसद्वारा राज्यको संघिय संरचनाबारे पार्टीको आाधिकारिक धारणा बनाउन गृहकार्य शुरु । माओवादी सेनाका पूर्व लडाकूहरुद्वारा प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र । आफूहरुको दीर्घकालीन व्यवस्थापनका लागि एकमुष्ट आर्थिक सहयोगको कार्यक्रम ल्याउन माग । राष्ट्रपति डाक्टर रामवरण यादवद्वारा जातीयता, क्षेत्रीयता र वर्गीयताभन्दा माथि उठेर राज्य पुर्नसंरचना गर्नुपर्ने धारणा व्यक्त । भूगोल, भेषभूषा, संस्कृति र आर्थिक सम्भावनालाई राम्ररी अध्ययन गरेर मात्र राज्य पुनर्संरचना गर्न सुझाव । कांग्रेस सभापति सुशिल कोइरालाद्वारा अब बन्ने सरकारको नेतृत्व संसदीय दलका नेता रामचन्द्र पौडेलले नै गर्ने भनाइ । प्रधानमन्त्री हुने पार्टीका वरिष्ठ नेता शेरवहादुर देउवाको हालसम्मको दाबी व्यक्तिगत आकांक्षामात्र भएको आरोप । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाद्वारा पार्टीलाई एक ढिक्का बनाउन आफु देश दौडाहामा निस्केको दाबी । |
| मंसिर २४ | माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालद्वारा सरकारी सुविधाको गाडी फिर्ता ।
मानव अधिकार दिवसमा आवसरमा प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा अघिल्लो सरकारले नै नेपालस्थित राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयको म्याद नथप्ने निर्णय गरेको जिकिर । संविधानसभा संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उप–समितिको बैठक । आगामी बैठकदेखि संविधान निर्माणमा रहेका विवादित मुद्दामा सहमति गर्दै अघि बढ्ने निर्णय । माओवादी संस्थापन पक्षको पोलिटब्यूरो बैठक । सरकारको विकल्प खोज्नतिर लागे शान्ति प्रक्रिया र संविधान निर्माण भइरहेको प्रगति अवरुद्ध हुने ठहर । सबै शक्ति शान्ति प्रक्रिया र संविधान निर्माणमा केन्द्रीत गर्ने निर्णय । कांग्रेस सभापति सुशील कोइरालाद्वारा माओवादीका कारण शान्ति प्रकृया टुंगोमा पुग्न नसकेको आरोप । माओवादीको बोली र व्यवहार फरक हुने गरेकाले शान्ति प्रक्रिया निष्कर्षमा पुग्न ढिलाइ भएको भनाइ । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाद्वारा कांग्रेसले अरु दलसँग सहकार्य गरेर अघि बढ्न नसक्नुमा पार्टी सभापति सुशील कोइरालाको कमजोरी रहेको आरोप । |
