संसदीय सुनवाई कर्मकाण्डमा परिणत
सर्वोच्च अदालतमा आठ जना स्थायी न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले गरेको सिफारिसलाई लामो विवाद र बहसपछि संसदीय सुनवाई विशेष समितिले अनुमोदन गर्यो । गम्भीर आरोपसहित न्यायाधीशहरुको सुनवाई हुनु तर तीमध्ये एक जनालाई पनि नरोक्नुले संसदीय सुनवाईको औचित्यमाथि प्रश्न उठ्यो । उता, संविधानसभा पहिले भन्दा संविधान निर्माण प्रकृयामा बढी केन्द्रीत भयो । अघिल्लो संविधानसभामा विभिन्न समितिले तयार पारेका सहमति र असहमतिका बुँदाबारे सभासद्हरुले संविधानसभामा छलफल गरे । तर, विभाजित मुद्दाहरुमा उनीहरु अघिल्लो संविधानसभाको भन्दा खासै फरक रुपमा प्रस्तुत भएनन् । पहिले झै राजनीतिक दलहरुको अडान अनुसार सभासदहरुले धारणा व्यक्त गर्दा स्वामित्व बढ्ने बाहेक थप उपलब्धी हुन सकेन । संविधानसभामा निर्वाचनबाट तेस्रो पार्टी भएको एकीकृत नेकपा माओवादीमा विवादका कारण भाँडभैलो सिर्जना भयो भने संविधानसभाको दोस्रो ठूलो दल नेकपा एमालेमा महाधिवेशनको सरगर्मी बढ्यो ।
