नागरिक समाज र नेतृत्व
Author: नीरा चन्डोक, गोपालकृष्ण गान्धी Publication Type: Books 

विगत केही वर्षदेखि नेपाली संघसंस्थाहरूले विभिन्न प्रकारका सामाजिक र राजनीतिक अभियानमार्फत संविधान र अधिकारसम्बन्धी विषयमा छलफल चलाइरहेका छन् । यस्ता छलफलको केन्द्रमा राजनीतिक सङ्क्रमण, संविधान
निर्माण प्रक्रिया, संविधानका विवादित मुद्दा तथा शान्ति प्रक्रियासँग जोडिएका विषयहरू रहने गरेका छन् । नेपालको घरेलु द्वन्द्व व्यवस्थापनका कुराले त्यहाँ विशेष प्राथमिकता पाउने गरेका छन् । आन्तरिक विषय र मुद्दामा बढी
केन्द्रित रहनु परेका कारण यस्ता छलफल र बहसले बाह्य अर्थात् क्षेत्रीय र विश्वस्तरमा उठिरहेका मुद्दा र विषयलाई भने पर्याप्त मात्रामा समेट्न सकेका छैनन् । तथापि, खुल्ला विश्व परिवेश र भूमण्डलीकरणले गर्दा क्षेत्रीय र विश्वस्तरमा हुने स्वतन्त्रता, अधिकार र न्यायसम्बन्धी बहसबाट अलग रहन सकिँदैन । यो पक्ष किन पनि महइभ्वपूर्ण छ भने अधिकार र न्यायका लागि हुने पैरवीलाई अन्य स्थानका उस्तै खाले घटना र बृहत्तर दार्शनिक प्रश्नसँग जोड्न सकिएन भने हाम्रा आन्तरिक छलफल र प्रयासहरूबाट मात्रै समाधान निकाल्न कठिन हुन्छ ।
यसर्थ, आन्तरिक द्वन्द्व र राजनीतिक विषयका अतिरिक्त नागरिकका दैनन्दिन समस्या, आर्थिक–सामाजिक तथा प्रविधिको क्षेत्रमा भइरहेका परिवर्तन तथा यससँग जोडिएका मुद्दाहरूमा पनि निरन्तर बहस हुनु जरुरी छ । नागरिकका
मुद्दाको बारेमा चर्चा गर्दा, त्यस्ता मुद्दाले असर गर्ने सरोकारवाला, पैरवी गर्ने निकाय र मुद्दालाई प्रभावकारी रूपमा उठान र सम्बोधन गर्न सक्ने नेतृत्वका बारेमा पनि समालोचनात्मक छलफल हुनु आवश्यक हुन्छ । यस्ता विषयमा हुने बहसको आयतनलाई फराकिलो पार्दै अन्तरक्रिया र गोष्ठीको परिधिलाई अलि खुल्ला क्षेत्रमा विस्तार गर्नु राम्रो हुन्छ । हाम्रो सन्दर्भमा, यस्ता बहसलाई बृहत् र फराकिलो बनाउन खुला प्रवचन तथा व्याख्यानहरू किफायती र भरपर्दो माध्यमका रूपमा देखिएका छन् । यसै सन्दर्भमा एलायन्स फर सोसल डायलग (एएसडी) ले आम सरोकारका विषयमा विज्ञहरूको विचार र नागरिकको समालोचनात्मक सहभागितालाई समेत प्रोत्साहित गर्न सक्ने साझ थलोको रूपमा खुला प्रवचनहरू आयोजना गर्ने जमर्को गरेको हो । यसै क्रममा, यो प्रकाशन नेपाली समाजलगायत दक्षिण एसियामा प्रमुख रूपमा उठ्ने गरेका मुद्दाहरू — मूलतः नेतृत्व र नागरिक समाजको भूमिका सम्बन्धमा छलफलको दायरा फराकिलो पार्ने उद्देश्यले आयोजित प्रवचनमा व्यक्त विचारहरूको सङ्ग्रह हो । यसमा सङ्ग्रहित विचार अङ्ग्रेजीबाट अनूदित हुन् । एएसडीले प्रवचनका निम्ति विभिन्न संस्थाहरूसँग सहकार्य गर्ने गर्दछ । प्रस्तुत प्रवचनमध्ये ‘नेतृत्व’ को प्रवचन हिमाल साउथ एसियासँगको सहकार्यमा सम्पन्न भएको हो ।
एएसडीको निमन्त्रणामा काठमाडौँ आई प्रवचन दिनुहुने श्री गोपालकृष्ण गान्धी तथा प्राध्यापक नीरा चन्डोकप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । साथै प्रवचन शृङ्खलालाई संयोजन गर्ने एएसडी कार्यक्रम अधिकृत शेहनाज बानु तथा अन्य साथीहरूप्रति धन्यवाद । साथै प्रस्तुत प्रकाशन पाठकका लागि उपयोगी हुने आशा गरेका छौँ ।