gototopgototop

Alliance for Social Dialogue

:: संक्रमणकालमा नेपाल मासिक अद्यावधिक Monthly Updates आन्दोलनको लहर ( बैशाख २४ -३०)
आइतवार, 13 मे 2012 21:14

आन्दोलनको लहर ( बैशाख २४ -३०)

एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच राज्यपुनर्संरचनाबारे छलफल भइरहेका बेला मुलुकभर विरोध र समर्थनमा बन्द तथा प्रदर्शन भए । माओवादीले एकल जातिय पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने र काँग्रेस तथा एमालेले जातिय आधारमा प्रदेशको नाम राख्न नहुने अडान लिएपछि दलहरुबीच सहमति हुन सकेन । यहीबेला अखण्ड सुदुरपश्चिम र मिथिला प्रदेश हुनुपर्ने भन्दै गरिएका बन्दले निरन्तरता पाए ।

सुदुरपश्चिममा भएको आन्दोलनबारे वार्ता गर्न सरकारले उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा मन्त्रीहरु वर्षमान पुन र महेन्द्र यादव रहेको वार्ता टोली गठन गरयो । उता, मुस्लिम समुदायले आफ्नो अधिकार संविधानमा सुनिश्चित हुनुपर्ने भन्दै तनहँ, जनकपुर लगायतका जिल्लामा बन्द आयोजना गरे ।

थरुहट प्रदेश, थरुवान पूर्वी कोचिाला प्रदेश, थामी स्वायत्त प्रदेश, बीरगञ्जलाई प्रदेशको राजधानी बनाउनुपर्ने लगायतका माग हुँदा जातिय राज्य हुन नहुने र संविधानमा आफूलाई आदिबासीको सूचीमा समावेश गर्नुपर्ने माग गर्दै ब्राहमण, क्षेत्री, दशनामी, ठकुरी लगायतले दुई दिन नेपाल बन्द आयोजना गरे । त्यतिमात्र होइन, अखण्डराज्यको माग गर्दै आन्दोलन भइरहेको सुदुरपश्चिम र जातिय राज्य हुनु हुँदैन भनेर नवलपरासीमा आन्दोलन हुँदा थरुहट राज्यको माग गर्दै आन्दोलन उत्रिएको थारु समुदायसँग झडप समेत भयो । ब्राहमण क्षेत्रीले नेपाल बन्द गरिरहेका बेला मुस्लिमको अधिकार सुनिश्चित हुनुपर्ने र अखण्ड मध्यपश्चिमको माग गर्दै अर्का बन्द गरिए ।
राज्यपुनर्संरचनाबारे विभिन्न क्षेत्रमा आन्दोलन भइरहेका बेला दलहरुबीच र एउटै पार्टीमा समेत धु्रवीकरण हुने स्थिति सिर्जना भयो । संविधानका विवादित विषयलाई टुंगो लगाउनका संविधानसभामा मतदान गर्ने तयारी भएको समयमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, आदिवासी जनजाति सभासद सभा (ककस)का सभासद्, दलित, मुस्लिम, स्वतन्त्र र साना पार्टीमा आवद्ध दलका सभासद्हरुले एकल पहिचानका आधारमा राज्यपनुर्संरचाको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरे ।

काँग्रेस र एमालेका जनजाती सभासद्हरुले समेत एकल पहिचानका आधारमा राज्यपुनर्र्संरचना हुनुपर्ने पक्षमा उभिएपछि दलहरुबीच हंगामा मच्चियो । काँग्रेस र एमालेका मुख्य सचेतकहरुले मतदान भएमा जनजाति सभासद्हरु पार्टीको निर्देशनमा रहने विश्वास व्यक्त गरेपनि जनजाति सभासद्हरुले आफूहरु बरु कारवाही भोग्न तयार हुने तर एकल पहिचानबाट पछि नहट्ने बताए । यसले गर्दा काँग्रेस र एमालेका नेताहरुले संविधानसभामा मतदान गर्न भन्दा सहमतिलाई बढी जोड दिए । विवाद समाधानका लागि असफल भएपनि त्यसमा सहमति खोज्ने कामलाई दलहरुले निरन्तरता दिइरहे । ११ प्रदेशमा काँग्रेस सकारात्मक भएपछि माओवादीले प्रदेशको नामाङ्कनको अन्तिम अधिकार प्रादेशिक संसदलाई दिने वा जनमत संग्रहमा जाने भन्ने लगायतका विकल्पमा जान सकिने निर्णय गर्यो । जातिय प्रदेशलाई पूर्ण रुपमा अस्वीकार गर्दै आएको एमालेले जातियताका आधारमा दुई सहित आठ र साझा पहिचानमा जान हो भने ११ प्रदेशमा जान सकिने निर्णय गर्यो । राज्यपुनर्संरचनामा केही न केही लचिलो भएका माओवादी, काँग्रेस र एमालेले ११ प्रदेशमा आफूहरु सहमति नजिक पुगेको दाबी गरे । मोर्चाका नेताहरुले भने १४ प्रदेश हुनुपर्नमा जोड दिए ।
देशका विभिन्न स्थानमा आन्दोलन भइरहँदा सरकारी वार्ता टोलीले अखण्ड सुदुरपश्चिमको माग गर्दै आन्दोलन गरिरहेको आन्दोलनकारीहरुको वार्ता टोलीसँग वार्ता गर्यो । ब्राहमण, क्षेत्री लगायतको वार्ता टोलीले पनि सरकारी वार्ता टोली, माओवादी, काँग्रेस र एमालेका शिर्ष नेताहरुबीच वार्ता गरेपनि सहमति हुन भने सकेन । यता, संविधानका विवादित मुद्दामा दलहरुबीच सहमति हुन नसकेपछि संविधानसभाको बैठक बारम्बार स्थगित भयो ।

मुख्य गतिविधी


बैशाख २४

एमाले केन्द्रीय समितिको बैठक । प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने निर्णय । प्रधानमन्त्री भट्टराईले पाँचबुँदे सहमति उल्लंघन र आफ्नो पार्टीलाई वेवास्ता गरेको एमालेको आरोप ।
माओवादी र काँग्रेसका नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता । राज्यपुनर्संरचनाबारे छलफल । प्रदेशको संख्यामा सहमति नजिक पुगेको नेताहरुको दाबी ।
सिंहदरबारमा काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षिय नेताहरुको बैठक । पार्टीभित्रको विवाद प्याकेजमै समाधान नगर्दासम्म सरकारमा सहभागी नहुने निर्णय । सभापति सशुील कोइरालासँग वार्ता गर्ने अधिकार वरिष्ठ नेता देउवालाई ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेद्वारा जनताले चाहे अनुसारको संविधान नआउने धारणा व्यक्त । विदेशीहरुले नेपाली राजनीतिमा हस्तक्षेप बढाएको आरोप ।
प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा मन्त्री कृष्णप्रसाद सिटौलालाई उपप्रधानमन्त्रीमा नियुक्त । सिटौलाद्वारा सपथग्रहण ।
अखण्ड सुदूरपश्चिमको माग राखेर सुरु भएको आमहडताल आज दसौं दिनमा । ठाउँठाउँमा प्रदर्शन ।
नयाँ संविधानमा मिथिला राज्यको सुनिश्चित हुनपर्ने लगायतका माग गर्दै आहवान गरिएको मिथिला क्षेत्र बन्दका कारण जनकपुरको जनजीवन प्रभावित ।

बैशाख २५

माओवादी, काँग्रेस र एमालेका नेताहरुबीच भेटवार्ता । पाँच बुँदे सहमति अनुसार सरकारमा आउने माओवादीद्वारा एमालेलाई आग्रह । एमालेद्वारा अहिलेको अवस्थामा सरकारमा सहभागी नहुने स्पष्ट ।
संविधान निर्माणमा देखिएका विवाद मिलाउने जिम्मा पाएको विवाद समाधान उपसमितिको म्याद दुई दिन थप । मतदानबाट विवादको टुंगो लगाउने तयारी ।
काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षिय नेताहरुको बैठक । शासकीय स्वरुप र संघीयतामा सहमति नहुँदासम्म सरकारमा सहभागी नहुने निर्णय ।
राष्ट्रपति रामवरण यादवद्वारा राजनीतिक स्थायित्वमा नाममा लोकतान्त्रिक मूल्य–मान्यतामा सम्झौतामा नगर्न नगर्न आग्रह । विभिन्न जाती, भाषा र समुदायका जनताका अधिकार सुनिश्चित गर्दा राष्ट्रिय एकतामा जोड दिन आग्रह ।
राज्यव्यवस्था समितिको बैठक । सेनाको पुनर्संरचना नगरिए अप्ठायारो पर्ने प्रधानमन्त्री बाबुराम भट्टराईको भनाइ ।
माओवादी र एमालेका नेताहरुबीच भेटवार्ता । एमाले सरकारमा सहभागी भए मन्त्रालय हेरफेर गर्न सकिने माओवादीको भनाइ । चार बुँदे सहमतिको निरन्तरता जस्तो भएको र शुन्यबाट सरकार गठन प्रक्रिया शुरु भएमात्र जान सकिने एमाले नेताहरुको भनाइ ।
माओवादी र काँग्रेसका नेताहरुबीच माओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा भेटवर्ता । राष्ट्रिय सहमतिको सरकार र संविधान निर्माणबारे छलफल ।
माओवादी, काँग्रेस र एमालेको बैठक । विवाद समाधानका लागि संविधानसभा विवाद समाधान उपसमितिलाई थप दुई दिने प्रस्ताव । संवैधानिक समितिको बैठक स्थगित ।
काँग्रेस र एमालेका नेताहरुबीच एमाले पार्टी कार्यालय बल्ुखमा वार्ता । संविधान निर्माणका विवादित विषयमा साझा धारणा बनाउनेबारे छलफल ।
संविधान निर्माणका विवादित विषयमा दलहरुबीच सहमति हुन नसक्दा सूचना टाँसेर संविधानसभाको बैठक स्थगित ।
माओवादी, काँग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक । संघीय संरचनाबारे छलफल ।
अखण्ड सुदूरपश्चिमको माग गर्दै एघार दिनदेखि बन्द । सरकारद्वारा उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन ।
कैलाली र कञ्चनपुरलाई थरुहट घोषणा गर्नुपर्ने माग गर्दै थारु समुदाय आन्दोलनमा ।
नयाँ संविधानमा मिथिला राज्य सुनिश्चित हुनपर्ने माग राखेर मिथिला राज्य संघर्ष समितिले आह्वान गरेको जनकपुर बन्दका कारण सातौं दिन पनि जनकपुरको जनजीवन प्रभावित ।
समग्र मधेश एक प्रदेशको माग गर्दै मधेशी जनअधिकार फोरमद्वारा सप्तरी प्रशासनमा धर्ना ।
पूर्वी थारुवान कोचिला संयुक्त संघर्ष समितिद्वारा पूर्वका छ जिल्लालाई पूर्वी थारुवान कोचिला प्रदेश राज्य बनाउन माग गर्दै बन्द । जनजीवन प्रभावित ।
मिथिला राज्य माग गर्दै शुरु भएको बन्द आठौं दिनमा ।

बैशाख २६

माओवादी, काँग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक । दलहरु आ–आफ्नो अडानमा । माओवादी जातिय प्रदेशमा जोड । काँग्रेस र एमालेद्वारा जातिय प्रदेश बनाउन नहुने अडान । काँग्रेसद्वारा हात्तीवन रिसोर्टको सहमतिबाट माओवादी पछि हटेको आरोप ।

माओवादी, काँग्रेस र एमालेको बैठक । राज्यपुनर्संरचनाबारे सहमति नजिक पुगेको दाबी ।
काँग्रेस र एमालेका नेताहरुबीच संविधान निर्माणका विषयमा छलफल । राज्यपुनर्संरचना र शासकीय स्वरुपबारे साझा धारणा बनाउने प्रयास ।
माओवादी र एमालेका नेताहरुबीच सरकारमा सहभागी हुनेबारे छलफल । संविधानका विवादित विषयमा सहमति भए सरकारमा सहभागी हुन सक्ने एमाले नेताहरुको भनाइ । माओवादीका नेताहरुद्वारा सरकार विस्तारमा केही कमजोरी भएको स्वीकार ।
संविधानसभाको बैठक सूचना टाँसेर स्थगित ।
नयाँ संविधानमा आफ्नो अधिकार सुनिश्चित हुनु पर्ने माग गर्दै ब्रामहण, क्षेत्री लगायतद्वारा राजधानीमा मोटरसाइकल ¥याली ।
प्रधानन्यायाधीश खिलराज रेग्मीद्वारा स्वतन्त्र न्यायपालिकाको मान्यतालाई संविधानमा प्रत्याभूत गर्न सकेमात्र न्यायपालिका स्वतन्त्र, सक्षम र लोकतान्त्रिक मान्यता स्थापित हुने धारणा व्यक्त ।
अखण्ड सुदुरपश्चिमाञ्चलको माग गर्दै आह्वान गरिएको हडताल १२ औं दिनमा । वार्ताका लागि आफूहरु तयार भएपनि सरकारले वेवास्ता गरेको आन्दोलन परिचालन समितिका संयोजक गोपाल देउवाको भनाइ । आदिवासी थारु समुदायद्वारा कैलाली कञ्चनपुरलाई थारुवान राज्य घोषणा गर्नु माग गर्दै धनगढीमा प्रदर्शन ।
नयाँ संविधानमा मिथिला राज्य सुनिश्चित हुनुपर्ने माग राखेर गरिएको आन्दोलन स्थगित । सरकारले वाताका लागि पत्राचार गरेकाले आन्दोलन स्थगित गरिएको फिर्ता लिएको संघर्ष समितिको भनाइ ।
अखण्ड सुदुरपश्चिमको माग गर्दै बन्द कञ्चनपुरको महेन्द्रनगर बजार खुल्ला । वार्ताका लागि सरकारले टोली गठन गरेपछि बजार खुलाएको भनाइ ।
थारु संघर्ष समितिद्वारा नवलपरासी बन्द । ठाउँठाउँमा झडप ।
थारुवानको कोचिला संयुक्त संघर्ष समितिद्वारा आयोजित बन्दको दोस्रो दिन । विरोधमा इटहरीमा व्यवसायी सडकमा ।

बैशाख २७

विवाद समाधान उपसमितिको बैठक । विवादित विषयलाई मतदानबाट टुग्याउने सहमति ।
संवैधानिक समितिको बैठक । मतदानबाट टुंग्याउने सहमतिलाई अनुमोदन ।
संविधानका विवादित विषयमा सहमति खोज्न माओवादी, काँग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक ।
एमाले स्थायी समितिको बैठक । जातिय राज्य स्वीकार नगर्ने निर्णय । सात प्रदेशको अडान नछोडने । निर्वाचक मण्डलबाट राष्ट्रपति र संसदबाट प्रधानमन्त्री चयन गर्ने प्रणालीमा जान सकिने ।
कम्युनिष्ट नेता निर्मल लामाको १२ औं स्मृति दिवस । माओवादीका अध्यक्ष पुष्पकमल दाहालद्वारा पूर्व पश्चिममा भइरहेको आन्दोलनमा प्रतिगामीले षडयन्त्र गरी संघीयता आउन नदिन लागेको आरोप ।
अखण्ड मध्यपश्चिमको पक्षमा नेपालगञ्जमा आन्दोलन शुरु । बाहुन, क्षेत्री, दशनामी, ठकुरी, दलित समुदायद्वारा मसाल जुलुस प्रदर्शन ।
सुदुरपश्चिममा बन्दको १३औं दिन । आन्दोलनकारीका तर्फबाट सुदुरपश्चिमभरीबाट ५० सदस्यी वार्ता टोली गठन । सरकारले कैलालीलाई मात्र लक्षित गरी वार्ता टोली बनाएको डोटी संघर्ष समितिको आरोप ।
धादिङ जिल्लामा क्षेत्री, ब्राम्हण, ठकुरी, नेपाल दशनामी, दलित, खस, पिछडा वर्ग, मुस्लिम समाज लगायतका जातजाति सम्मिलित संयुक्त संघर्ष समितिद्वारा संघर्षका कार्यक्रम घोषणा ।
जातीय आधारमा राज्य पुर्नसंरचना गर्न नहुने र ब्राम्हण क्षेत्री लगायतलाई पनि आदिवासीको सुचीमा राख्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रीएको ब्राम्हण क्षेत्री दशनामी दलित लगायतद्वारा पोखरा, धादिङ, मोरङ, बाँके लगायतका ठाउँमा जुलुस प्रदर्शन ।
बीरगञ्जलाई प्रदेश राज्य बनाउन माग गर्दै सर्वदलिय समितिद्वारा दबाबमुलुका कार्यक्रम ।
संविधानका आफ्ना अधिकार सुनिश्चित गर्न माग गर्दै मुस्लिम समुदायद्वारा सुनसरीमा प्रदर्शन ।
अखण्ड सुदुरपश्चिमको माग गर्दै आन्दोलनरत सुदुरपश्चिम जागरण मञ्चद्वारा बैतडीमा रिले अनसन ।

बैशाख २८

आदिवासी जनजाति सभासदको समूह ककस, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, दलित र मुस्लिम सभासदहरुद्वारा एकल पहिचान सहितको राज्यपुनर्संरचनामा उभिने सहमति ।
राष्ट्रपति रामवरण यादवद्वारा एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुसँग भेटघाट । संविधानका विवादित विषयलाई सहमतिका आधारमा टुग्याउन सुझाव । दलका नेताहरुद्वारा संधिवानसभाका अध्यक्ष सुवास नेम्वाङसँग पनि छलफल ।
ब्राम्हण, क्षेत्री, दशनामी लगायतका समुदायद्वारा जातिय राज्य हुन हुदैन भन्दै नेपाल बन्द । जनजीवन प्रभावित ।
एमाले अध्यक्ष झलनाथ खनालद्वारा आगामी जेठ १४ गते संविधान बन्नेमा आशंका व्यक्त । माओवादीले चाहे मात्र संविधान बन्ने भनाइ ।
बन्दका कारण सुदुरपश्चिमको जनजीवन अस्तव्यस्त । राजधानी आउन लागेका अखण्ड सुदुरपश्चिमको वार्ता टोलीलाई मध्यपश्चिमका बन्दकर्ताद्वारा अवरोध । बन्दकर्ताद्वारा कैलालीको लम्कीबाट कोहलपुर प्रसारण भइरहेको १३२ के.भी. विद्युत लाइनमा अवरोध ।
शान्ति तथा पुननिर्माण मन्त्रालयद्वारा ब्राम्हमण, क्षेत्री, दशनामी लगायतका समुदायको संघर्ष समितिद्वारा बन्द स्थगन गरी वार्तामा आउन आग्रह ।
नयाँ संविधानमा मुस्लिम समुदायको हकअधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै आहवान गरिको बन्दका कारण जनकपुरको जनजीवन प्रभावित ।
सर्वदलिय संघर्ष समितिद्वारा बीरगञ्जलाई प्रदेश राजधानी माग गर्दै प्रदर्शन ।
संयुक्त संघर्ष समिति र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन र अखण्ड मध्यपश्चिम संघर्ष समितिद्वारा बाँके बन्द ।
ब्राम्हण समाजद्वारा हुम्लाको सिमिकोट बन्द ।
सुदुर पश्चिम स्वयात्त राज्य सरकार घोषणा । अखण्ड सुदुरपश्चिम नागरिक आन्दोलन परिचालन समितिका संयोजक गोपाल देउवाद्वारा सरकारलाई दबाब दिन स्वायत्त राज्य घोषणा गरेको भनाइ ।
जतिय राज्य विरुद्ध उत्रेका र प्रहरीबीच पोखरामा झडप ।

बैशाख २९

माओवादी र काँग्रेसको नेताहरुबीच वार्ता । माओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा भएको वार्तामा माओवादीद्वारा एकल जातिय आधारमा र काँग्रेसद्वारा वहुजातिय पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने प्रस्ताव पेश ।
वृहत मधेशी मोर्चाद्वारा नयाँ संविधानमा मधेशी समुदायका मुद्दा सुनिश्चित गर्न मधेशी सभासद् एकजुट हुनुपर्नेमा जोड । एक मधेश एक प्रदेशको माग पूरा गराउनका लागि सबै एकजुट हुनुपर्नेमा मधेशी नेताहरुको जोड ।
स्थायी समिति सदस्य सहित एमाले संसदीय दलको बैठक । सहमतिका आधारमा संविधानका विवादित विषयलाई टुंगो लगाउन जोड । मतदान हुने अवस्था आए पार्टी निर्णय विपरित नजान अध्यक्ष झलनाथ खनालको निर्देशन ।
माओवादी र एमालेबीच शान्ति तथा पुननिर्माण मन्त्रालयमा वार्ता । ११ प्रदेशमा सहमति नजिक पुगेको नेताहरुको भनाइ ।
ककसको निर्णयलाई दबाबका रुपमा लिएको काँग्रेस र एमलोका मुख्य सचेतकहरुको भनाइ । मतदान भए पार्टीको पक्षमा मत हाल्ने विश्वास ।
ब्राम्हण, क्षेत्री, दशनामी लगायतद्वारा नेपाल बन्द । सरकारी वार्ता टोली र सुंयुक्त संघर्ष समितिबीच वार्ता । वार्ता टोली माग पूरा गर्न असमर्थ रहेको संघर्ष समितिको आरोप । माओवादी, काँग्रेस र एमालेका शिर्ष नेताहरु सहित वार्ता । माग पूरा गर्न शिर्ष नेताहरु गम्भीर नभएको आरोप ।
संवैधानिक समितिको बैठक । विवाद समाधानका लागि उपसमितिमा पठाउने निर्णय । मतादनमा जाँदा थप समस्या आउन सक्ने नेताहरुको भनाइ ।
तामसालिङ संयुक्त संघर्ष समितिद्वारा राजधानीमा पत्रकार सम्मेलन । तामाङ जातिको ऐतिहासिक भूगोल र वाहुल्य क्षेत्र खण्डित नहुने गरी तामसालिङ प्रदेशन सुनिश्चित गर्न माग ।
माओवादीको स्थायी समिति बैठक । प्रदेशको नामाङकनमा लचिलो हुने निर्णय । नामाङ्कनको अन्तिम अधिकार प्रादेशिक संसदलाई दिने वा जनमत संग्रहमा जाने भन्ने लगायतका विकल्पमा जान सकिने निर्णय ।
माओवादी, काँग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच वार्ता । ११ प्रदेशमा सहमति नजिक पुगेको दाबी ।
अखण्ड सुदुरपश्चिमको माग गर्दै आह्वान गरिएको बन्द १५ औं दिनमा । सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै आन्दोलनकारी आक्रोशित ।
अखण्ड सुदुरपश्चिम पक्षधर र थरुहट कार्यकर्ताबीच कैलालीमा झडप ।

बैशाख ३०

जातिय राज्यको विरोधमा आन्दोलनरत ब्राम्हण, क्षेत्री र दशनामी लगायतद्वारा नेपाल बन्द कार्यक्रम स्थगित । सरकारसँगको वार्ता सकारात्मक भएको र किराँत राइको साकेला पर्व परेको भन्दै कार्यक्रम फिर्ता लिएको जानकारी ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोधारा पद तथा गोपनियताका साथ सपथ ग्रहण ।
संविधानसभामा देखिएका विवाद मिलाउन एकीकृत माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुको छलफल । सहमति मिलाउन नसके मतदानमा जाने नेताहरुको भनाइ ।
माओवादीका पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा आफ्नो पार्टी निकटका जातिय र क्षेत्रिय मोर्चासँग छलफल । एकल जातियतामा सहमति नजुटे वाहुल्य भएको जातिको नाम र वहुजायित प्रदेश भनेर नामाकरण गर्न सुझाव ।
संवैधानिक समिति विवाद समाधान उपसमितिको बैठक । मतदानका लागि विवादास्पद १६ वटा बुँदाको प्रश्नावाली तयार ।
अखण्ड सुदुरपश्चिमका माग गर्दै आएको पक्ष र सरकारी वार्ताटोलीबीच राजधानीमा वार्ता । वार्ता फेरि पनि गर्ने ।
एमाले स्थायी समितिको बैठक । जातियताका आधारमा दुई सहित आठ र साझा पहिचानमा जान हो भने ११ प्रदेशमा जान सकिने निर्णय ।
संवैधानिक प्रकृयाद्वारा चार जना शिर्ष नेताको बैठकले संविधानका बारेमा निर्णय गरिरहेकाले जनताको पक्षमा संविधान बन्न नसक्ने एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्यको भनाइ । उपसमितिको नाममा निर्णय गर्नु संविधान विपरित भएको आरोप ।
बीरगञ्जलाई प्रादेशिक राजधानी कायम गर्न माग गर्दै राजनीतिक र नागरिक समाजद्वारा बीरगञ्जमा आर्थिक नाकाबन्दी ।
अखण्ड मध्यश्चिमको माग गर्दै आयोजना गरिएको बन्दका कारण मध्यपश्चिमको जनजीवन प्रभावित ।
थामी स्वायत्त प्रदेशको माग गर्दै थामी समाज र थामी स्वायत्त राज्य संघर्ष समितिद्वारा गरिएको बन्दका कारण रामेछाप, दोलखा र सिन्धुपाल्चोकको जनजीवन प्रभावित ।