भूकम्प गएपछिको समयमा उद्धार, उपचार, राहत कार्य संचालन गर्न वा भग्नावशेष व्यवस्थापन गर्नका लागि काठमाडौंका खुला स्थानको पहिचान कसरी भएको छ र खुला स्थानको व्यवस्थापनबारे कस्तो नीति बनेको छ भन्ने विषयमा यो अनुसन्धान केन्द्रित छ। २०७२ साल वैशाख १२ गतेअघि खुला स्थान पहिचान र तिनको व्यवस्थापन सम्बन्धमा भएका काम वा सरकारले घोषणा गरेको नीति अनुसार भूकम्पपछिको समयमा खुला स्थानको प्रयोग भयो कि भएन, भएन भने नीति निर्माण र कार्यान्वयनबीचको अन्तर कस्तो रह्यो त्यसबारेमा पनि यस अनुसन्धानमार्फत हेर्ने प्रयास गरिएको छ।
यो अनुसन्धान पत्र नीति निर्माण र नीति कार्यन्वयनको तहमा रहेका संस्था, त्यस संस्थाको प्रतिनिधित्व गर्ने व्यक्तिसँगको अर्ध(संरचित अन्तर्वार्ता र खुला स्थानबारेमा सरकारी निकायहरूबाट तयार पारिएका नीतिको अध्ययनलाई आधार बनाएर तयार पारिएको हो। पहिलो चरणमा नीति निर्माण गर्ने संस्थाका प्रतिनिधिसँग मुख्य सूचनादाता अन्तर्वार्ता गरिएको थियो भने दोस्रो चरणमा नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेका ८३ खुला स्थानहरूलाई आकार, उपयोग र स्वामित्वको आधारमा वर्गीकरण गरेर सहज नमुना छनोट विधि अन्तर्गत ६ स्थानको छनोट गरिएको थियो। यसरी छनोट गरिएका स्थानका सरोकारवाला पक्ष (जस्तै– वडा कार्यालयका सचिव, स्थानीय राजनीतिकर्मी, स्थानको स्वामित्व रहेका संस्था वा व्यक्ति र जनसाधारण) सँग अर्ध संरचित अन्तर्वार्ता गरिएको थियो।
अध्ययनको क्रममा भूकम्पलाई दृष्टिगत गरी केही खुला स्थानको पहिचान भएको र तिनको व्यवस्थापनबारे केही नीतिको घोषणा भएको तर घोषित नीतिको उचित कार्यन्वयन हुन नसकेको पाइएको छ। नीति कार्यान्वयन हुन नसक्नुका पछाडि केही ठूला समस्या रहेका छन्। तर, साना साना समस्याका कारण पनि काम रोकिएको वा अल्मलिएको पाइएको छ। ती समस्या समाधान गर्ने उपायबारे पनि यस अध्ययनमा चर्चा गरिएको छ।