उच्च माध्यमिक शिक्षा र यसको गन्तव्य, मुद्दा तथा चुनौतीहरु
Author: डा. विनयकुमार कुशियैत Publication Type: Occassional Paper 

अन्तर्राष्ट्रिय स्तरमा विद्यालय प्रणालीमा आएको सुधार, विद्यालय शिक्षालाई सान्दर्भिक बनाउने प्रयास र शिक्षामा
गुणस्तर कायम गर्नुपर्ने कारण नेपालमा उच्च माध्यमिक शिक्षाको विकास अपरिहार्य बनेको छ । तर पनि
यसले विभिन्न समस्या तथा चुनौतीहरूको सामना गर्दै आएको छ । सर्वप्रथम नेपालको उच्च माध्यमिक
शिक्षालाई विद्यालय शिक्षा प्रणालीमा कसरी समाहित गर्ने भन्ने ठूलो मुद्दा तथा चुनौती बनेको छ । पाठ्यक्रममा
प्रयोगात्मक पक्षको अभावका साथै पाठ्यक्रममा स्थानीयतालाई समेट्न नसक्नु पनि कमजोरी नै देखिएको छ ।
अझ गुणस्तरीय शिक्षाका विभिन्न मापदण्ड तथा सूचकहरूलाई कार्यक्रम तथा योजनाभित्र समेट्न नसक्नु अर्को
कमजोरी रहेको छ । त्यस्तै यसले समावेशी चरित्रको शिक्षा योजनामा ध्यान केन्द्रित गर्न नसक्नुका कारण
गरिब तथा पिछडिएका समुदायसम्म पहुँच बढाउन पनि सकेको छैन । सबै विद्यालयलाई एकातिर एकै किसिमको
सरकारी अनुदानका कारण ग्रामीण र कमजोर विद्यालयको गुणस्तर माथि उकास्न सकिएको छैन भने अर्कातिर
समता तथा सामाजिक न्यायका दृष्टिले यसलाई व्यावहारिक बनाउन सकिएको छैन । त्यसैले यी कुराहरूको
निदानतिर समयमा नै ध्यान पु¥याउनु अति आवश्यक देखिन्छ ।
उच्च माध्यमिक शिक्षालाई समग्र विद्यालय प्रणालीमा विकास गर्न सरकार, सरोकारवाला र समुदाय तथा
विद्यलयहरूले विशेष पहल गर्नुपर्छ । यस क्षेत्रमा चरणबद्ध रूपमा यसको आर्थिक दायित्व सरकारले वहन
गर्नुपर्दछ । यस्तै यस शिक्षामा हालको पाठ्यक्रम, पाठ्यपुस्तक र परीक्षा प्रणालीमा पुनरावलोकन गरी सुधार
गर्नुपर्दछ । विद्यालयलाई गुणस्तरयुक्त बनाउन विद्यार्थीं, शिक्षक र विद्यालय सहयोग प्रणालीको विकास गर्नु
वाञ्छनीय देखिन्छ । विद्यालयहरूको अनुगमन र मूल्याङ्कन प्रणाली स्थानीय स्तरबाट नै बलियो बनाउनुपर्छ ।
यस्तो शिक्षाको संरचनात्मक स्वरूपमा परिवर्तन ल्याउन सरकारले हाल भएको ऐनमा तत्कालै सुधार गर्नुपर्ने
देखिन्छ ।