gototopgototop

Alliance for Social Dialogue

:: संक्रमणकालमा नेपाल मासिक अद्यावधिक Monthly Updates माओवादी लडाकुको जिम्मा नेपाली सेनालाई ( चैत्र २६-वैशाख २)
आइतवार, 15 अप्रेल 2012 10:07

माओवादी लडाकुको जिम्मा नेपाली सेनालाई ( चैत्र २६-वैशाख २)

सेना समायोजन विशेष समितिले पुष २८ गते माओवादी सेनाका लडाकुहरु, हतियार एवं कन्टेनरहरु, शिविर र शिविरमा रहेका भौतिक सामाग्री सेनाको मतहत ल्याउने निर्णय गर्यो । शिविरको जिम्मा नेपाली सेनालाई दिने, समायोजनका लागि निर्धारण गरिएका केन्द्रहरुमा समायोजन कार्य शुरु गर्नुअघि विशेष समितिको पूर्वनिर्णय अनुरुप स्वैच्छिक अवकासको प्रक्रिया जारी रहने र समायोजन केन्द्रबाट विविध कारणले फर्किने लडाकुहरुलाई स्वैच्छिक अवकास वा पुनस्र्थापनको विकल्प रोज्ने अवसर कायमै राख्ने निर्णय पनि गर्यो ।

त्यसका साथै विशेष समिति अन्तर्गतको सचिवालयका संयोजक बालानन्द शर्मासँगको परामर्शमा सरकारले माओवादी सेनाका लडाकुहरुले पालना गर्नुपर्ने आवश्यक आचार संहिता जारी गर्ने सहमति पनि भयो । एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच सेना समायोजनका विषयमा सहमति भएलगत्तै विशेष समितिले यी निर्णय गरेको थियो । विशेष समितिको वैठकमा प्रमुख दलका शीर्ष नेताहरुलाई समेत आमन्त्रण गरिएको थियो ।

विशेष समितिको निर्णय लगत्तै प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानसेनापति छत्रमानसिह गुरुङ्लाई समितिको निर्णय कार्यान्वयन गर्न निर्देशन दिए । त्यही दिनदेखि नै माओवादी शिविरहरुको ‘चेन अफ कमाण्ड’ सेनाले सम्हाल्यो । समयोजनबारे दलहरुबीच सहमति भएपछि त्यसका प्राविधिक पक्षमा सहमति जुटाउन विशेष समितिले वर्षमान पुन, भीम रावल, मिनेन्द्र रिजाल र जितेन्द्र देव रहेको कार्यदल पनि गठन गर्यो । कार्यदलको गृहकार्यपछि माओवादी, काँग्रेस, एमाले र मधेशी मोर्चाबीच अर्का सात बुँदे सहमति भयो ।

दलहरुबीच गत कार्तिक १५ गते भएको सात वुँदे सहमति अनुसार माओवादी सेनाका लडाकुहरुको समायोजनका लागि नेपाली सेना अन्तर्गत महानिर्देशनालय गठन गर्ने, समायोजनमा जाने माओवादी सेनाका लडाकुहरुको छनौट भइ संख्या निर्धारण भएपछि महानिर्देशालयको अन्तिम संरचना र नेतृत्व तय गर्नेलगायतको अर्का सात वुँदे सहमतिभएको हो । पछिल्लो सहमतिअनुसार लडाकु छनौटका लागि अधिकृतको हकमा लोक सेवा आयोगको अध्यक्ष वा उनले तोेकेको आयोगको सदस्यको अध्यक्षतामा छनौट समिति गठन गर्ने र अन्य दर्जाको हकमा सैनिक सेवाको राजपत्र द्वितिय श्रेणीको अध्यक्षतामा छनौट समिति गठन गर्ने रहेको छ । त्यस्तै छनौट प्रक्रिया शुरु गर्नु अघि विशेष समितिले समितिलाई आवश्यक निर्देशन दिने सहमति भयो । त्यसबाहेक अधिकृत आधार तालिम ९ र सैन्य आधार तालिम ७ महिनाको र हरेक दर्जाका व्यक्तिहरुलाई तीन÷तीन महिनाको दर्जा विशेष तालिम दिने कुरामा दलहरु सहमत भएका हुन् ।

शान्ति प्रक्रियाका मुद्दाहरुमा सहमति भएपछि राजनीतिक दलहरुले संविधान निर्माणको वातावरण बनेको बताउदै त्यही एजेण्डामा केन्द्रीत हुने प्रतिबद्धता जाहेर गरेका छन् । र, संविधानको विधेयक पारित गर्ने प्रक्रिया छोट्टाउनका लागि अन्तरिम संविधान संशोधन गर्ने निर्णय समेत गरेका छन् ।

मुख्य गतिविधि


चैत्र २६

नेपाली काँगेसद्वारा राजधानीमा जनसभा । शान्ति र संविधान निर्माणका लागि दबाब । संघीयताका नाममा देश टुक्राउन नसक्ने उपसभापति रामचन्द्र पौडेलेको भनाइ ।
माओवादी, काँग्रेस र एमालेको बैठक । दलिय सहमति अनुसार तयार नभएको भन्दै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग सम्बन्धी कानूनको मस्यौदा पुन कानुन मन्त्रालय पठाउने सहमति ।
माओवादीका उपाध्यक्ष मोहन बैद्यको सहभागिता विना माओवादी स्थायी समिति बैठक । बैठकमा माओवादीका कमाण्डरहरु पनि सहभागी । महानिर्देशनालयको सचिवालयमा लडाकुको प्रतिनिधित्व हुनुपर्नेमा जोड । समायोजनका लागि लचिलो हुने सहमति । समायोजनको ढाँचाँ प्रष्ट नभएको भन्दै विभिन्न शिविरमा पुनवर्गीकरणको काम अवरुद्ध । लडाकु कमाण्डरहरु राजधानीमा ।
प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा माओवादी लडाकुहरुसँग छलफल । समायोजनमा सहयोग गर्न आग्रह ।
माओवादी अध्यक्ष पुष्ककमल दाहाल र रक्षा मन्त्री समेत रहेका उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारबीच छलफल । राजनीतिक सहमतिअनुसार सेना समायोजन विशेष समितिले गर्ने निर्णय सेनाका लागि मान्य हुने रक्षामन्त्रीको भनाई ।
सेना समायोजन विशेष समितिको बैठक । काँग्रेस र एमालेका नेताहरुद्वारा ३० गतेभित्र शिविर खाली हुनेमा शंका व्यक्त । प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा ३० गतेभित्र लडाकु शिविर खाली गर्ने प्रतिवद्धता ।
माओवादी लडाकुको छैटौ डिभिजन अन्तरगत सुर्खेतको लेखपर्सास्थित घोराही सतबरिया ब्रिगेडमा लडाकुहरुबीच झडप ।

चैत्र २७

दलहरुको सर्वदलिय बैठक । संंविधानको विधेयक पारित गर्ने प्रक्रिया छोट्याउने सहमति । त्यसका लागि अन्तरिम संविधान संशोधन गरिने ।
प्रधानमन्त्री बाबुराम भट्टराई र सभामुख सुवास नेम्वाङबीच भेटवार्ता । संविधान संशोधन गर्नेबारे छलफल ।
माओवादीका शिर्ष नेताहरुसहित माओवादी शिविरमा कमाण्डरहरुको राजधानीमा भेला । सबै शिविरमा स्वैच्छिक अवकाश रोज्ने प्रक्रिया सञ्चालन गरी लडाकुहरुलाई बिदाइ गर्ने सहमति ।
प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता । सेना समायोजन प्रक्रियाबारे छलफल ।
प्रधानमन्त्रीद्वारा मधेशी जनअधिकार फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादवलाई सूचना तथा सञ्चार र अकवाल अहमद साहलाई कृषि तथा सहकारी मन्त्रीमा नियुक्त ।
बर्हिगमन र स्वैच्छिक अवकाश रोजेका लडाकुहरुद्वारा शक्तिखोर शिविरमा घेराउ । कमाण्डरहरुले भ्रष्टाचार गरेको आरोप ।
संघीयताको विरोधमा राष्ट्रिय जनमोर्चाद्वारा वागमति अञ्चल बन्दको आह्वान । जनजीवन सामान्य ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल डोटीमा । शान्ति प्रक्रिया र संविधान लेखनको जिम्मेवारी आफ्नो काँधमा आएको भनाइ ।
राष्ट्रपति रामवरण यादव कपिलवस्तुमा । नेताहरुलाई छिटो शान्ति प्रक्रिया सकि संविधान लेखनमा लाग्न सुझाव ।
मधेशी जनअधिकार फोरम नेपालद्वारा जनकपुरमा पत्रकार सम्मेलन । संघीयतासहितको संविधान ल्याउनका लागि दबाबमुलक कार्यक्रम सञ्चालन गर्ने जानकारी । प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग ।
काँग्रेस र एमालेको बैठक । सेना समायोजनका प्राविधिक पक्षमा निर्णय गर्नुपर्ने । काँग्रेस र एमालेका तर्फबाट सेना समायोजन विशेष समितिमा रहेका सदस्यहरुद्वारा प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटी त्यसका लागि सेना समायोजन विशेष समितिको बैठक तत्काल बोलाउन माग ।

चैत्र २८

मधेशी मोर्चासहित माओवादी, काँग्रेस र एमालेको बैठक । शान्ति प्रक्रिया टुंग्याएर संविधान निर्माणमा केन्द्रीत हुने सहमति । माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा चैत्र मसान्तसम्म शान्ति प्रक्रिया सकि त्यसपछि संविधान निर्माणमा केन्द्रीत हुने भनाइ ।
सेना समायोजन विशेष समितिको बैठक । शिविर, हतियार र लडाकुलाई नेपाली सेनालाई जिम्मा दिने निर्णय ।
प्रधानमन्त्री बाबुराम भट्टराई र प्रधानसेनापति छत्रमानसिंह गुरुङबीच भेटवार्ता । प्रधानमन्त्री भट्टराईद्वारा विशेष समितिको निर्णय कार्यान्वयन गराउन निर्देशन । शिविरमा नेपाली सेनाको प्रवेश । असन्तुष्ट लडाकुहरुद्वारा शक्तिखोरभित्र रहेका केही गाडीमा आगजनी ।
माओवादीका उपाध्यक्ष मोहन बैद्य पक्षका नेताहरुको बैठक । उपाध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापाद्वारा संयुक्त वक्तव्य जारी गरी हतियार सेनालाई जिम्मा लगाउने निर्णय आत्मसर्मपणवादको पराकाष्ठा र नेपाली क्रान्तिप्रति गम्भीर विश्वासघात भएको उल्लेख ।
राष्टपति रामवरण यादव जनकपुरमा । शान्ति प्रक्रियाले गति लिएकका कारण संविधान बन्नेमा ढुक्क हुन आग्रह ।

चैत्र २९

माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा आफ्नै निवासमा पत्रकारहरुसँग भेटघाट । समायोजन प्रक्रिया करिव–करिव सकिएको भन्दै संविधान निर्माणमा केन्द्रीत हुने भनाइ ।
शिविरका लडाकुहरुद्वारा कन्टेनरमा भएका हतियार नेपाली सेनाको जिम्मा लगाउने क्रम जारी ।
दलका नेताहरु सहित सेना समायोजन विशेष समितिको बैठक । समायोजनका प्राविधिक पक्षमा सहमति खोज्न समितिका सदस्यहरु वर्षमान पुन, मिनेन्द्र रिजाल, भीम रावल र जितेन्द्रदेव रहेको कार्यदल गठन । समायोजन प्रक्रिया सकारात्मक भएको निष्कर्ष ।
शिविर र हतियार सेनालाई जिम्मा लगाउने निर्णयको विरोधमा माओवादी उपाध्यक्ष मोहन बैद्य पक्षद्वारा राजधानीमा मसाल जुलुस । प्रहरीद्वारा हस्तक्षेप । विहान राजधानीका विभिन्न स्थानमा चक्काजाम ।
काँग्रेस सभापति सुशील कोइरालाद्वारा जेठ १४ गते अघि नै काँग्रेस नेतृत्वमा सरकार गठन हुने दाबी ।

चैत्र ३०

प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा राष्ट्रका नाममा सम्बोधन । संविधान निर्माणमा केन्द्रीत हुन र सहमतिको राष्ट्रिय सरकार गठन गर्न दलहरुलाई आह्वान ।
सेना समयोजन कार्यदलको बैठक । थप गृहकार्य गर्ने सहमति ।
माओवादी संस्थमपन पक्षको स्थायी समितिको बैठक । उपाध्यक्ष बैद्य पक्षले अराजक गतिविधि गरेपनि कारवाही नगर्ने भनाइ । शान्ति प्रक्रियामा भएको प्रगतिबारे अध्यक्ष पुष्पकमल दाहालद्वारा बैठकलाई जानकारी ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङद्वारा पत्रकारसँग कुराकानी गर्दै बैशाख ५ गतेभित्र संविधानका विविदित मुद्दामा सहमति हुने विश्वास व्यक्त ।
शान्ति र जनसंविधानको पक्षमा जनदबाब सिर्जना गर्न संयुक्त राष्ट्रिय जनआन्दोलन समितिद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा ।

बैशाख १

राष्ट्रपति रामवरण यादव ओखलढुंगामा । राज्य टुक्राउने संविधान आफूले जारी नगर्ने भनाइ ।
एमालेका शिर्ष नेताहरुद्वारा पत्रकारसँग भेटघाट । संविधान निर्माणका विषयमा लेनदेनबाट सहमति गर्ने एमाले अध्यक्ष झलनाथ खनालको भनाइ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल र लडाकुहरुको भेटघाट । सेनाले जिम्मा लिएपछि वातावरण सहज रहेको लडाकु कमाण्डरहरुको भनाइ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक । शान्ति प्रक्रिया अघि बढिसकेकाले संविधान निर्माणमा केन्द्रीत हुने निर्णय ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालद्वारा ‘आफैतिर हतियार सोझिने भएपछि माओवादीेले शिविरको जिम्मा सेनालाई लगाएको’ भनाइ ।

वैशाख २

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा लडाकुका कमाण्डरहरुसँग छलफल । कमाण्डरहरुद्वारा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याइ समायोजन प्रक्रिया अघि बढाउन आग्रह ।
प्रमुख दलका शिर्ष नेताहरुको बैठक । सेना समायोजन विशेष समितिको बैठक । शान्ति प्रक्रियाका प्राविधिक विषयमा सहमति ।
काँग्रेस सभापति सुशील कोइरालाद्वारा संविधान निर्माणको आधार तयार भएको भनाइ ।
माओवादी र मधेशी मोर्चाको बैठक । संविधान निर्माणमा सहकार्य गरेर अघि बढने निर्णय ।