gototopgototop

Alliance for Social Dialogue

:: संक्रमणकालमा नेपाल मासिक अद्यावधिक Monthly Updates छलफल मात्रै, परिणाम आएन (बैशाख ३–वैशाख ९)
22 अप्रेल 2012

छलफल मात्रै, परिणाम आएन (बैशाख ३–वैशाख ९)

शान्ति प्रक्रियाको विवादित विषयमा सहमतिपछि राजनीतिक दलहरु संविधान निर्माणका विषयमा सहमति खोज्नतर्फ केन्द्रीत भए । त्यही क्रममा एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नकेपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु फरपिङस्थित हात्तीवन रिसोर्ट पुगे । दुई दिनसम्म नेताहरुले राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायप्रणाली, नागरिकता र राज्यको पुनर्संरचनाको विषयमा सामूहिक र छुट्टा छुट्टै पनि छलफल गरे । शीर्ष नेता सम्मिलित वार्ता र छलफलले सहमति जुटाउन भने सकेन ।

राज्यको पुनर्संरचना, शासकीय स्वरुप, न्यायप्रणालीमा छलफल हुँदा दलहरुले आ–आफ्नो पहिलेको अडान राखे । मिश्रित निर्वाचन प्रणालीमा जाने भनेपनि समानुपातिक र प्रत्यक्षमा कति भन्नेबारे दलहरुले निर्णय गर्न सकेनन । त्यसपछि माओवादी, काँग्रेस र एमालेका नेताहरुबीच पटक–पटक छलफल भयो । संविधानका विषयमा साझा धारणा बनाउन भन्दै काँग्रेस र एमालेका नेताहरुले छलफल गरे भने माओवादी र मधेशी मोर्चाका नेताबीच छुट्टै छलफल भए । माओवादी र मोर्चाबीच संविधान निर्माणका विषयमा सहकार्य गरी अघि बढने सहमति भयो ।

यसबीचमा संवैधानिक समिति अन्र्तगतको विवाद समाधान उपसमितिको आग्रहमा संवैधानिक समितिले संविधानका विवादित विषय टुंगो लगाउन संविधानसभा कार्यव्यवस्था समितिलाई आग्रह गर्यो । दलहरुको आग्रह अनुसार कार्य व्यवस्था परामर्श समितिले समय थप गर्यो भने वैशाख ११ गते संविधानसभाको बैठक बस्ने सहमति पनि भयो । कार्यव्यवस्था परामर्श समितिले पाँच दिन समय थप गरेपछि दलका नेताहरुले थपिएको समयमा विवाद समाधान गर्ने दाबी गरे ।

सरकारले संविधान निर्माणको वातावरण बनाउन आफ्नो तर्फबाट सबै काम गर्न तयार रहेको स्पष्ट पार्दै आगामी जेठ १४ गतेसम्म बन्द, हडताल नगरी संविधान निर्माणको माहौल बनाउन नागरिक समाज, पेशागत समूह र विभिन्न संघसंस्थाहरुलाई आग्रह गर्यो । प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति रामवरण यादवलाई भेटी संविधान निर्माणबारे भइरहेको छलफलबारे जानकारी गराए । राष्ट्रपतिले संविधान निर्माणमा केन्द्रीत हुन प्रधानमन्त्रीलाई सझाव दिए । दलका नेताहरुले सहमतिको नजिक पुगेको भन्दै छलफललाई तिव्र पारेपनि संविधान निर्माणका विवादित एउटा पनि मुद्दामा सहमति भएन ।

मुख्य गतिविधि


बैशाख ३

संविधानका विवादित मुद्दामा सहमति खोज्न भन्दै एकीकृत नेकपा माअ‍ोवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु फर्पिङस्थित हात्तीवन रिसोर्टमा ।
मन्त्रिपरिषद्को बैठक । लडाकु समायोजन सम्बन्धी कार्यविधि पारित । संविधान निर्माणका लागि सरकारका तर्फबाट आवश्यक वातावरण बनाउने निर्णय । आगामी जेठ १४ गतेसम्म बन्द, हडताल र विरोधका कार्यक्रम नगरी संविधान निर्माणको वातावरण बनाउन नागरिक समाज, समाजिक संघसंस्था, पेशागत समूह तथा दलहरुलाई आह्वान ।
एमाले स्थायी समिति बैठक । संविधान निर्माणका लागि लचिलो हुने निर्णय ।
संयुक्त राष्ट्रसंघका महासचिव वान कि मनुद्वारा माओवादी शिविर र लडाकुको जिम्मा नेपाली सेनालाई दिने दलहरुको सहमतिको स्वागत । शान्ति प्रक्रिया टुंगोमा पु¥याउन र समयमै संविधान जारी गर्न दलहरुलाई आग्रह ।

वैशाख ४

एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच फर्पिङको हात्तीवन रिसोर्टमा संविधानका विवादित विषयमा छलफल । राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र नागरिकताबारे सहमति नजिक पुगेको नेताहरुको दाबी । कर्णाली संघर्ष समिति र जनजाती संगठनहरुद्वारा हात्तीवन रिसोर्ट जाने बाटोमा धर्ना ।
प्रधानमन्त्री बाबुराम भट्टराई र सभामुख सुवास नेम्वाङबीच भेटघाट । प्रधानमन्त्रीद्वारा संविधान निर्माणबारे दलहरुबीच भइरहेको छलफलबारे जानकारी ।

वैशाख ५

संसदको सार्वजनिक लेखा समितिको बैठक । माओवादी लडाकुको शिविर व्यवस्थापनमा दिएको रकम मध्ये ४६ करोड रुपैयाँ बेरुजुमा नराख्न सरकारलाई निर्देशन ।
संवैधानिक समितिको बैठक । विवाद समाधानका लागि पाँच दिन माग्ने विवाद समाधान उपसमितिको प्रस्तावलाई अनुमोदन ।
विवाद समाधान उपसमतिको बैठक । विवाद समाधानका लागि पाँच दिनको समय माग्ने प्रस्ताव । पाँच दिनमा विवाद मिलाउने सकिने नेताहरुको भनाइ ।
संविधानसभा अध्यक्ष, एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका शिर्ष नेताहरुबीच भेटघाट । बैशाख ११ गतेसम्म विवाद समाधान नभए मतदानबाट टुग्याउने अध्यक्ष सुवास नेम्वाङको भनाइ ।
सभासद्हरुद्वारा विवाद समाधान उपसतितिको बैठक अघि धर्ना । उपसमिति संयोजक पुष्पकमल दाहालद्वारा सम्बोधन । केही दिनमा सहमति हुने दाबी ।
सेना समायोजन विशेष समितिको बैठक । प्रधानसेनापति छत्रमानसिंह गुरुङद्वारा समायोजनपछि बन्ने महानिर्देशनालयको नेतृत्व, दरबन्दी, संख्या लगायत टुंगो लगाउन समितिलाई आग्रह । समायोजन हुने लडाकुहरु तालिममा आवद्ध भएपछि सैनिक ऐन २०६३ लागू हुने समितिको निर्णय ।

बैशाख ६

राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईबीच भेट । शान्ति प्रक्रिया टुंगो लगाउन सरकार र दलहरुले निर्वाह गरेको भन्दै दलहरुको प्रशंसा । संविधान निर्माण र सहमतिको सरकार गठनका लागि पहल गर्न आग्रह ।
एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेको सिंहदबारमा बैठक । नयाँ संविधानको प्रस्तावित धाराहरु पारित गर्ने प्रक्रिया छोट्याउन सहमत । दफाबार छलफल गरेर पारित गर्नुपर्ने ठाउँमा संयुक्त वा एकमुष्ट रुपमा धाराहरु निर्णयार्थ पेश गर्न दलहरु सहमत । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन सम्बन्धी आयोग गठनबारे छलफल । विधान उपसमितिका सदस्यहरुसँग छलफल गरी अन्तिम रुप दिने निर्णय ।
संविधानसभा कार्यव्यवस्था समितिको बैठक । संविधानसभाको बैठक ११ गते बस्ने कार्यतालिका तय । १० गतेसम्म विवाद समाधान नभए ११ गतेबाट मतदान गरेर भएपनि विवाद टुंगो लगाउने गरी प्रकृया अघि बढाउने निर्णय ।
नेपाली काँग्रेस संसदीय दलद्वारा आगामी जेठ १४ गतेसम्म आफ्ना सभासद्हरुलाई देश बाहिर नजान ह्वीप जारी । शान्ति प्रकृया टुंगो लगाइ संविधान निर्माण गर्नुे पर्ने र जुनसुकै बेला संविधानसभाको बैठक बस्न सक्ने काँग्रेसको भनाइ ।

बैशाख ७

समायोजनमा जाने माओवादी लडाकुको संख्या घट्यो । पहिले ९ हजार सात सय ५ जनाले समायोजन रोजेकोमा ३ हजार १ सय २८ मात्र बाँकी ।
जनजाती महासंघद्वारा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल समक्ष ज्ञापनपत्र पेश । जातिय पहिचान सहितको संघीयतामा माओवादीले सम्झौता नगर्ने दाहालको भनाइ ।
एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेको सिंहदरबारमा बैठक । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगलाई एउटै बनाउने सहमति ।
संयुक्त राजनीतिक दलित संघर्ष समितिद्वारा सभामुख सुवास नेम्वाङसँग भेट । नयाँ संविधानमा आफ्ना माग समावेश गर्न माग ।
मन्त्रिपरिषद्को बैठक । अन्तरिम संविधानको धारा ७० संशोधन गर्ने निर्णय ।
पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा राजधानीमा कार्यक्रम आयोजना । जेठ १४ गतेभित्र संविधान जारी नभए सहमतिमा एक महिना समय थप्न सकिने एमाले नेता माधवकुमार नेपालको भनाइ । शिविरका हतियार सेनाको जिम्मामा आएपनि माओवादीलाई अझै विश्वास गर्न नसकिने नेपालको तर्क ।
नेपाली काँग्रेस र एमालेको वार्ता । संघीयता र शासकीय स्वरुपबारे समान धारणा बनाउने प्रयास ।
नेपाली काँग्रेसका सभापति शुसील कोइराला खोटाङमा । सहमतिय सरकार गठनका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिनुपर्ने भनाइ ।

बैशाख ८

आदिवासी जनजाती सभासद्हरुको समूह ककसद्वारा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट । पहिचानका आधारमा राज्यपुनर्संरचना गर्ने अडानबाट पछि नहटन माओवादी अध्यक्ष दाहाललाई सुझाव । पहिचानलाई कमजोर बनाएर संविधान जारी गर्ने पक्षमा आफू नरहेको माओवादी अध्यक्ष दाहालको भनाइ ।
आदिवासी जनजाती सभासद्हरुको समूह ककसद्वारा नेपाली काँग्रेसका सभापति शुसील कोइरालालसँग भेट । पहिचान र सामथ्र्यका आधारमा संघीय राज्य पुर्नसंरचना गरिने काँग्रेस सभापतिको भनाइ ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालद्वारा अब कोही पनि संविधान निर्माणबाट भाग्न नपाउने भनाइ । परिवर्तन र समृद्धिको जनचाहनालाई सम्बोधन गर्ने गरी संविधान बन्ने दाबी ।
संविधान निर्माणका विवादित विषयमा एकीकृत नेकपा माओवादी र नेपाली काँग्रेस, माओवादी र एमालेका नेताहरु छुट्टा–छुट्टै भेट । सहमति भने हुन सकेन ।

बैशाख ९

संविधानका विवादित विषयमा एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुबीच छलफल ।
एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल । संविधानका विवादित विषयमा साझा धारणा बनाउन सहमत । काँग्रेस र एमालेसँग छलफल गरी सरकारलाई राष्ट्रिय स्वरुप दिन पहल गर्ने निर्णय ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालद्वारा शान्ति प्रक्रियामा प्रगति भएकाले आगामी जेठ १४ गतेसम्ममा संविधान जारी हुने दाबी ।
एकीकृत नेकपा माओवादी र नेपाली काँग्रेसका नेताहरुबीच भेटघाट । संविधान निर्माणका विवादित विषयमा छलफल । छलफल सकारात्मक भएको दाबी ।