वार्ताको वातावरण बनाउन प्रधानमन्त्री भट्टराईले एमाले नेता केपीशर्मा ओलीलाई भक्तपुरको बालकोटस्थित उनकै निवास पुगी भेटे । कांग्रेस सभापति कोइरालालाई टेलिफोन गरी आफूले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्ने भन्दै अवरुद्ध संसद बैठक चल्ने वातावरण बनाउन आग्रह गरे । उनले शान्ति प्रक्रिया र संविधान निर्माणमा सहयोग गर्न आग्रह गरे । घरजग्गा सम्बन्धी विवादलाई मिलाइ शान्ति प्रक्रिया र संविधान निर्माणबारे छलफल गर्न प्रधानमन्त्रीले माओवादी, कांग्रेस र एमालेको बैठक राख्ने प्रयास गरे । कांग्रेस र एमालेले पहिले मन्त्रिपरिषद्को निर्णय फिर्ता लिनुपर्ने शर्त राखेपछि तीन दलको बैठक हुन सकेन ।
सरकार, माओवादी, कांग्रेस र एमालेबीच सहमति नभएको बेला संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बस्यो । बैठकले मन्त्रिपरिषद्को निर्णय फिर्ता लिन प्रधानमन्त्रीलाई सुझाव दिने निर्णय गर्यो । र, प्रधानमन्त्रीलाई भेटेर मोर्चाले आग्रह पनि गर्यो। त्यसपछि प्रधानमन्त्री भट्टराईले कांग्रेस सभापति सुशील कोइरालासँग भेट गरी अवरुद्ध संसद खुलाउन र वार्ताको वातावरण बनाउन आग्रह गरे । बोहराटारस्थित कांग्रेस नेता रामचन्द्र पौडेलको निवासमा प्रधानमन्त्री माओवादी, कांग्रेस र एमालेका शिर्ष नेताहरुको वार्ता भयो । वार्ताबाटै सहमति कायम गरी शान्ति र संविधान निर्माण प्रक्रिया अघि बढाउनुको विकल्प छैन भन्नेमा नेताहरु सहमत भए । वार्तामा कांग्रेस र एमालेका नेताहरुले सशस्त्र द्वन्द्वका बेला माओवादी जनसरकारले घरजग्गा सम्बन्धी गरेका निर्णयलाई बैधानिकता दिने निर्णय फिर्ता लिनुपर्ने अडान लिए ।
त्यसपछि प्रधानमन्त्री भट्टराई सहित प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी र मधेशी मोर्चाको नेताको छलफल भयो । बैठकमा मन्त्रिपरिषद्को निर्णयबारे पुनर्विचार गर्ने सहमति भयो । र, सहमति कायम गर्नका लागि पुनर्विचार गर्नुअघि कांग्रेस र एमालेसँग वार्ता गर्ने सहमति भयो । त्यसको अर्का दिन बिहान माओवादी पदाधिकारी बैठक बस्यो । बैठकले मन्त्रिपरिषद्को निर्णय फिर्ता नगर्न सरकारलाई सुझाव दियो । त्यसपछि सोही दिन बसेको माओवादी, कांग्रेस र एमालेको बैठकमा दलहरु आ–आफ्नो अडानमा रहे । माओवादीले फिर्ता नलिने भन्यो भने कांग्रेस र एमालेले फिर्ता नलिँदासम्म वार्ता प्रक्रिया अघि नवढने बताए । वार्तामा सहमति नभएपछि कांग्रेस र एमालेका नेताहरुले प्रधानमन्त्री भट्टराईले कुरा फेरेको आरोप लगाए ।
दलहरुबीच सहमति नभएकाले संविधान निर्माण प्रक्रियामा रहेका विवादित विषयमा सहमति हुन सकेन । संविधानसभा कार्यतालिका अनुसार राज्यपुनर्संरचना बाहेकका विषयमा संवैधानिक समितिबाट निर्णय गरी संविधानसभामा पठाउन दलहरु असफल भएपछि कार्यतालिका संशोधनको लागि सभामुख सुवास नेम्वाङको अग्रसरतामा वैठकहरु भए । माघ १४ गते विहान माओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाका शिर्ष नेताको बैठक, अपरान्ह संविधानसभामा रहेका ३३ दल र साँझ सभामुख सुवास नेम्वाङ सहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालवीच छलफल भयो । त्यसमा नेताहरु संविधानसभाको कार्यतालिका संशोधन गर्न सहमत भए । दलहरुबीच सहमति नभएकाले व्यवस्थापिका संसदको बैठक भने चल्न सकेन ।
यसबीचमा बसेको सेना समायोजन विशेष समितिको बैठकले स्वैच्छिक अवकाश र पुनस्र्थानापनामा जाने लडाकुलाई बिदाईगर्ने काम तीन दिनमा सुरु गर्ने निर्णय गर्यो । उता, राज्यपुनर्संरचना आयोगले भने पूर्व निर्धारित समयमा आफ्नो प्रतिवेदन सरकारलाई बुझाउन सकेन ।
मुख्य गतिविधि
माघ ८ |
संवैधानिक समितिको बैठकक । त्यसलगत्तै सशस्त्र द्वन्द्वका बेला माओवादी जनसरकारले घरजग्गा सम्बन्धी गरेका निर्णयलाई बैधानिकता दिने मन्त्रिपिरषद्को निर्णयबारे प्रधानमन्त्री बाबुराम भटट्राई, माओवादी अध्यक्ष पुष्पकमाल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र रामचन्द्र पौडेलबीच छलफल । प्रधानमन्त्रीद्वारा सो निर्णय कार्यान्वयन नगर्ने प्रतिबद्धता । कांग्रेस र एमालेद्वारा फिर्ता लिनुपर्ने अडान । |
|
माघ ९ |
माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति सहितको शासकीय स्वरुपबाट लचिलो हुन माओवादी तयार नरहेको स्पष्ट । सहमति हुने बेला पुरानो सहमतिबाट समेत पछि हटेको भन्दै कांग्रेसप्रति रोष प्रकट । कांग्रेस उपसभापति रामचन्द्र पौडेलको बोहाराटारस्थित निवासमा प्रधानमन्त्री बाबुराम भट्टराई सहित माओवादी, कांग्रेस र एमालेका शिर्ष नेताहरुको वार्ता । शान्ति र संविधान निर्माण प्रकृयालाई टुंगोमा पु¥याउनुको विकल्प छैन भन्नेमा नेताहरु सहमत । कांग्रेस र एमालेद्वारा माओवादी जनसरकारको निर्णयलाई बैधानिकता दिने मन्त्रिपरिषद्को निर्णय फिर्ता नभएसम्म अन्य विषयमा छलफल हुन नसक्ने अडान । |
|
माघ १० |
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षहरु मोहन बैद्य र बाबुराम भट्टराईद्वारा आफूहरु एक ढिक्का भएर पार्टीलाई अघि बढाउने घोषणा । |
|
माघ ११ |
माओवादी र मधेशी मोर्चाका नेताबीच छलफल । कांग्रेस र एमालेसँग थप वार्ता गरी मन्त्रिपरिषद्को निर्णय पुनर्विचार गर्ने सहमति । |
|
माघ १२ |
पाँच सिट भएको राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी विभाजन । सभासद्द्वय गौरी महतो र रामनरेश रायद्वारा राष्ट्रिय सद्भावना पार्टी गठन गरेको सभामुखलाई जानकारी । |
|
माघ १३ |
व्यवस्थापिका संसदको बैठक । कांग्रेस र एमालेद्वारा देश नै अर्काे देशमा मर्ज हुन सक्ने भनी अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री बाबुराम भट्टराईलाई राष्ट्रघातीको संज्ञा । नेपाल मजदुर किसान पार्टीद्वारा प्रधानमन्त्रीको राजीनामा माग । बैठक पुनः अवरुद्ध । माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा अबको तीन दिनभित्र संविधान निर्माण कार्यको परिणाम देखिने धारणा व्यक्त । एमाले अध्यक्ष झलनाथ खनालद्वारा विगतका सहमति तोड्दै शान्ति र संविधान निर्माण प्रकृयामा माओवादी मुख्य बाधकका रुपमा देखा परेको आरोप । |
|
माघ १४ |
नेपाल बार एशोसिएशनका अध्यक्ष प्रेमबहादुर खड्काद्वारा न्यायाधीश नियुक्तिबारे अभियान सुरु गरेर न्यायाधीशहरुले नै राजनीति गरेको आरोप । |
