gototopgototop

Alliance for Social Dialogue

:: संक्रमणकालमा नेपाल मासिक अद्यावधिक Monthly Updates शान्ति प्रक्रिया टुंग्याउन सात बुँदे सहमति (असोज १३– १९)
07 नोभेम्बर 2011

शान्ति प्रक्रिया टुंग्याउन सात बुँदे सहमति (असोज १३– १९)

प्रमुख तीन दल एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच शान्ति प्रक्रियालाई टुङ्गो लगाइ संविधान निर्माणका बाँकी काम अघि बढाउन सात बुँदे सहमति भयो । सहमतिले शान्ति प्रक्रिया र संविधान निर्माणमा राष्ट्रिय सहमति कायम गर्नका लागि पहिलेका सहमतिहरुले भन्दा बढी आधार खडा गरिदियो ।

सहमति लगत्तै शान्ति प्रक्रिया र संविधान निर्माणका काम अघि बढेका कारण पनि दलहरुप्रति पहिलेको तुलनामा भरोसा वढयो । यसअघि प्रमुख तीन दलवीच मात्रै सहमति हुने गरेपनि यसपटक मधेशी मोर्चाले समेत राष्ट्रिय मुद्दामा हिस्सेदार हुने मौका पायो । यस हिसावले यो सहमति प्रमुख शक्तिहरुलाई समेटन सफल भएको छ । सहमतिमा माओवादी सेनाका बढीमा ६ हजार ५ सय लडाकुलाई नेपाली सेना अन्र्तगतको महानिर्देशनालय रहने गरी समायोजन गरिने उल्लेख गरियो । महानिर्देशनालयमा सुरक्षा निकायबाट ६५ प्रतिशत र माओवादी सेनाका लडाकुबाट ३५ प्रतिशत हुने स्पष्ट पारियो । साथै यो महानिर्देशनालयको काम विकास–निर्माण, वन सुरक्षा, औद्योगिक सुरक्षा र विपद् व्यवस्थापन तोकिएको छ ।

समायोजनमा सामेल हुने माओवादी सेनाका लडाकुले सम्बन्धी सुरक्षा निकायको मापदण्ड व्यक्तिगत आधारमा पूरा गर्नुपर्ने तर उमेर, शिक्षा र वैवाहिक स्थितिको मापदण्डमा लचकता अपनाउन दलहरु सहमत भएका छन् । त्यस्तै पुनस्र्थापनामा सामेल लडाकुलाई ६ देखि ८ लाख रुपैयाँसम्मको प्याकेज उपलब्ध गराउने र स्वेच्छिक अवकाशमा जानेलाई ५ देखि ८ लाख रुपैयाँ दिन पनि दलहरु सहमत भएका हुन् ।
सहमतिलाई एमालेको स्थायी समिति र कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले अनुमोदन गर्यो । माओवादी, काँग्रेस, एमाले र मधेशी मोर्चाका नेताले सहमतिलाई ऐतिहासिक भन्दै शान्ति प्रक्रिया र संविधान निर्माणमा महत्वपूर्ण कदम भनी टिप्पणी गरे ।

माओवादी उपाध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापाले भने सहमतिप्रति असहमति जनाएका छन् । दलहरुबीच सहमति भएको भोलीपल्ट पत्रकार सम्मेलन गरी बैद्य पक्षले सहमति पार्टीको निर्णय र नीति विपरित भएको आरोप लगायो । उपाध्यक्ष बैद्यले सहमतिले जनमुक्ती सेनाको अवमुल्यांकन गरेको र यसबाट देश, जनता, क्रान्ति र परिवर्तनका लागि धोखा भएको बताए । महासचिव थापाले सहमति भएको दिन कम्युनिष्ट आन्दोलन र जनमुक्ती सेनाका लागि कालो रात भएको टिप्पणी गरे ।

बैद्य पक्षको असहमतिका वावजुद शान्ति प्रक्रिया र संविधान निर्माणका कामहरु अघि बढेको छ । सेना समायोजन विशेष समितिले सेना समायोजन र वर्गिकरण सम्बन्धी कार्यतालिकालाई अन्तिम रुप दियो भने स्वेच्छिक अवकाश तथा पुनस्र्थापना सम्बन्धी प्याकेजको कार्ययोजना बनाउन पनि समितिले आफ्नै सचिवालयलाई निर्देशन दियो ।

यता संविधान निर्माणको सवालमा संवैधानिक समिति अन्र्तगतको उपसमितिको बैठकले राज्यपुनर्संरचना सम्बन्धी अध्ययन गर्न विज्ञ समूह गठन गर्ने निर्णय गर्यो भने शासकीय स्वरुप र निर्वाचन प्रणालीमा दलहरुबीच देखिएको विवादबारे अध्ययन गरी प्रवितेदन पेश गर्न अग्नि खरेल, लक्ष्मणलाल कर्ण, राधेश्याम अधिकारी, खिमलाल देवकोटा र सपना प्रधान मल्ल रहेको कार्यदल गठन गर्यो । त्यसपछि बसेको संवैधानिक समितिको बैठकले उपसमितिले गरेको निर्णयलाई अनुमोदन गर्यो । सरकारले राज्यपुनर्संरचनाको सट्टा विज्ञको समिति गठनका लागि अन्तरिम संविधानको एघारौं संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरायो ।

प्रमुख तीन दलको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादीको कब्जामा रहेका घर–जग्गा फिर्ता गर्नका लागि पार्टी र सरकारका तर्फबाट आन्तरिक निर्देशन जारी गर्ने बताए । त्यसै अनुरुप माओवादीले मातहतका कमिटीहरुलाई आन्तरिक निर्देशन जारी गरेको छ ।

मुख्य गतिविधि

असोज १३

नेपाली कांग्रेस र नेकपा एमालेबीच वार्ता । शान्ति प्रकृयालाई प्याकेजमै टुंगो लगाउन साझा अवधारणा सहित माओवादीसँग कुरा गर्ने सहमति ।
माओवादी स्थायी समिति बैठक । उपाध्यक्ष मोहन बैद्य पक्षले शान्ति र संविधानमा सहमति नजनाए बहुमतका आधारमा अघि बढ्ने निर्णय । बैद्य पक्षद्वारा बैठक बहिस्कार । पार्टीको विवाद मिलाउन सुकेधारास्थिति स्थायी समिति सदस्य कृष्णबहादुर महराको निवासमा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष मोहन बैद्य लगायतका नेताहरुबीच छलफल ।

असोज १४

नेपाल सम्वत्, तिहार, छठ र बकरइदका अवसरमा माओवादीद्धारा भृकुटी मण्डपमा चियापान कार्यक्रमको आयोजना । माओवादी पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल द्वारा शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुङ्गो लगाउने प्रतिबद्धता ब्यक्त ।

शान्ति प्रक्रियाका टुङ्गो लगाउन बाँकी मुद्दामा सहमति जुटाउन माओवादी, काँग्रेस र एमालेका नेताहरुबीच छलफल । थप गृहकार्य गर्ने भन्दै भोलिपल्टसम्मका लागि बैठक स्थगित ।

असोज १५

र्याडिसन होटलमा माओवादी, काँग्रेस र एमालेका शिर्ष नेताबीच छलफल । शान्ति प्रक्रियालाई टुंग्याउनका लागि माओवादी, काँग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच सहमति । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको वार्तामा माओवादी सेनाका ६ हजार पाँच सय जना लडाकूलाई समायोजन गर्ने सहमति ।

असोज १६

सेना समायोजन विशेष समितिको बैठक । माओवादी सेनाका लडाकुको समायोजन र पुनर्वर्गीकरण लगायतका विषयमा दुई दिनभित्र कार्यतालिका तयार पार्न निर्देशन ।

माओवादीका उपाध्यक्ष मोहन वैद्य पक्षद्वारा काठमाडौको राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन । दलहरुबीच भएको सहमति देश र जनताप्रति धोखा भएको भन्दै खारेज गर्न माग ।
प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा आफ्नै निवासमा पत्रकारसँग कुराकानी । पार्टीका उपाध्यक्ष मोहन बैद्य पक्षको विरोधले शान्ति प्रक्रिया र संविधान निर्माणको काम नरोकिने भनाइ ।
एमाले स्थायी समितिको बैठक । दलहरुबीच भएको सहमतिलाई अनुमोदन । इमान्दारीपूर्वक कार्यान्वयन गर्न सबै पक्षलाई आग्रह ।

असोज १७

संविधानसभामा रहेका साना दलको बैठक । सातबुँदे सहमति सहमति कार्यान्वयन अत्यन्त चुनौतीपूर्ण भएको ठहर गर्दै जनतालाई सचेत रहन आह्वान ।
माओवादी केन्द्रीय समितिको बैठक शुरु । बैद्यद्वारा असहमतिका १० बुँदा पेश । बैठक कार्तिक २७ सम्मका लागि स्थगित ।
माओवादी जनसेनाका लडाकू प्रमुख नन्दकिशोर पुन द्वारा पार्टी केन्द्रीय कार्यालयमा पत्रकारसँग कुराकानी । दलहरुबीच भएको सहमतिलाई कार्यान्वयन गर्न लडाकूहरुले पूर्णरुपले सहयोग गर्ने प्रतिबद्धता ।
माओवादी केन्द्रीय समितिको बैठक शुरु । उपाध्यक्ष बैद्य पक्षद्वारा पार्टी नेतृत्वप्रति असहमति जाहेर गर्दै १० बुँदे प्रस्ताव दर्ता । बैठक दश दिनका लागि स्थगीत ।
व्यवस्थापिका संसदको बैठक । सहमति कार्यान्वयन चूनौतपूर्ण भएपनि त्यसलाई कार्यान्वयन गरि छाड्ने नेताहरुको भनाइ ।
कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक । सहमति कार्यान्वयनका लागि सबैपक्षलाई आग्रह ।

असोज १८

संविधानसभा संवैधानिक समितिको उपसमितिको बैठक । राज्य पुनसंरचनाका लागि सुझाव दिन विज्ञ समूह गठन गर्ने सहमति । शासकीय स्वरुप र निर्वाचन प्रणालीबारे रहेका विवादबारे अध्ययन गरी सुझाव दिन पाँच सदस्यीय कार्यदल गठन । मन्त्रीपरिषद्को बैठक । अन्तरिम संविधानको ११औं संशोधन गर्ने निर्णय । संविधान संशोधनका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता ।
सेना समायोजन विशेष समितिको बैठक । कार्तिक ३० गतेअघि शिविरमै पुगेर माओवादी लडाकुको पुनर्वर्गिकरणको काम थाल्ने गरि सचिवालयले बनाएको समय तालिका अनुमोदन । स्वेच्छिक अवकाश तथा पुनस्र्थापनाको प्याकेजबारे दुईदिन भित्र विस्तृत कार्ययोजना बनाउन सचिवालयलाई निर्देशन ।

असोज १९

तीन दलको बैठक । माओवादी अध्यक्ष दाहालद्वारा कब्जामा रहेका घर–जग्गा फिर्ताका लागि पार्टी र सरकारले आन्तरिक निर्देशन जारी गर्ने प्रतिवद्धता ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पाँच सदस्यीय टोलीको नेतृत्व गरी अमेरिका प्रस्थान । शान्ति प्रक्रिया र संविधान निर्माणमा समेत अन्तर्राष्ट्रिय समर्थन जुटाउन थप प्रयास गर्ने भनाइ ।
संविधानसभा संवैधानिक समितिको बैठक । दलहरुबीच भएको सातबुँदे सहमति र उप–समितिको निर्णयलाई अनुमोदन ।
कांग्रेस सभापति सुशील कोइरालाद्वारा बाबुराम भट्टराईपछि आफ्नो पार्टीले सरकारको नेतृत्व पाउनुपर्ने दाबी । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भए आफूहरुलाई मान्य नहुने धम्की ।