gototopgototop

Alliance for Social Dialogue

:: विषयहरु मानव अधिकार
मानवअधिकार रणनीति

सन्दर्भ 

राजनैतिक गतिरोधले मानवअधिकार र विधिको शासन जस्ता विषयहरूलाई ओझेलमा पारेको छ। सुरक्षा निकायलगायतका राज्य संयन्त्र शान्ति सुव्यवस्था कायम राख्न असफल भएका छन्। परिणमस्वरूप, मानवअधिकारको अवस्था कमजोर भएको छ। माओवादीको स्वेच्छाचारिता र मुलुकको राजनैतिक अस्थिरताको फाइदा उठाइरहेका विभिन्न राजनैतिक/आपराधिक समूहहरूलाई कारबाही गर्न सुरक्षा निकाय उदासीन भएकाले नै यो परिस्थिति उत्पन्न भएको हो। नेपालका विभिन्न भागका मानिसहरू डरत्रासमा बस्न बाध्य छन्। यसबाहेक, सङ्कटकालका बेलामा माओवादी र सुरक्षा निकायबाट भएका चरम अत्याचारहरूको छानबिन नगरिएकाले दण्डहीनताको संस्कृति मौलाएको छ। 

रणनीतिक प्राथमिकता 

जवाफदेहिता, सङ्क्रमणकालीन न्याय, सामाजिक न्याय-समावेशीकरण र मानवअधिकार शिक्षा एएसडीका मानवअधिकार विषयका मुख्य रणनीतिक क्षेत्र हुन्। 

एएसडीले मानवअधिकारसम्बन्धी नीति र तिनको कार्यान्वयका क्षेत्रमा नेपालले हासिल गरेको अनुभवको समीक्षा गर्ने र मानवअधिकारसम्बन्धी नीति निर्माणका लागि राष्ट्रिय स्तरमा हुने छलफलमा स्थानीय र क्षेत्रीय सरोकारवालाहरूको सहभागिता बढाउने दिशामा काम गरिरहेको छ। यी लक्ष्य हासिल गर्नका लागि एएसडीले मानवअधिकार क्षेत्रका विद्यमान नीति र तिनको कार्यान्वयमा रहेका कमजोरी पत्ता लगाउनका लागि स्थानीय स्तरमा गरिएका नयाँ प्रयासहरूलाई सहयोग पुर्‍याउने काम गर्छ। यसले नेपालमा मानवअधिकारका क्षेत्रमा काम गरिरहेका सरोकारवालाहरूका बीचमा संवाद बढाएर नीति र रणनीति सिफारिस गर्न मद्दत गर्छ। एएसडीले स्थानीय संस्थाहरूलाई उनीहरूका नौला खालका कार्यक्रमहरूलाई कार्यान्वयन गर्न सहयोग पनि गर्छ। यसैगरी, राष्ट्रिय स्तरमा यसले जवाफदेहिता र सङ्क्रमणकालीन न्यायका बारेमा वकालत गर्नका लागि वरिष्ठ मानवअधिकारकर्मी, कानुनविद् र पत्रकार मिलेर बनाएको जवाफदेहिता निगरानी समिति नामक सञ्जाललाई सहयोग गरिरहेको छ। यस समितिले मानवअधिकार शिक्षा विस्तार गर्न शैक्षिक क्षेत्रलाई सहयोग गर्ने र नेपालमा मानवअधिकारसम्बन्धी ज्ञानको भण्डार तयार गर्न सहयोग गर्छ। 

परिकल्पनाः 

सबै जातजाति, वर्ग, लिङ्ग, सप्रदाय, आस्था र पेसाका मानिसलाई बिनाभेदभाव न्याय र मानवअधिकार सुनिश्चित गर्नु। 

लक्ष्यः    

सङ्क्रमणकालीन न्यायसम्बन्धी संयन्त्र खडा गरेर अपराधीहरूलाई जवाफदेही बनाउनु र पीडितहरूलाई न्याय दिनु।  

उद्देश्यः

•    मानवअधिकार आन्दोलनले हासिल गरेका उपलब्धि, यसका कमीकमजोरी र भावी बाटो मूल्याङ्कन गर्दै मानवअधिकार आन्दोलनको वर्तमान अवस्थाका बारेमा छलफल सुरु गर्नु। 
•    सरोकारवालाः मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तराष्ट्रिय संस्था, नागरिक समाज, राष्ट्रिय मानवअधिकार आयोग, सरकारी संस्थाहरू। 
•    अनुसन्धान र सङ्कलनका माध्यमबाट मानवअधिकारसम्बन्धी ज्ञानको भण्डार तयार गर्नु। 
•    सरोकारवालाः मानवअधिकारसम्बन्धी संस्था, प्राज्ञिक संस्था र अनुसन्धानकर्ता, राष्ट्रिय मानवअधिकार आयोग।   
•    जवाफदेहिता र विधिको शासन सम्बन्धमा सरोकारवालाका बीचमा संवाद चलाउनु।

सरोकारवालाः मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तराष्ट्रिय सड्गठन, नागरिक समाज, राष्ट्रिय मानवअधिकार आयोग, सरकारी संस्था, राजनैतिक दल र सम्बन्धित समूहका प्रतिनिधि।  

मानवअधिकारका प्रमुख रणनीतिक क्षेत्रः

•    जवाफदेहिताः दण्डहीनतामा वृद्धि, विस्तापित नागरिकहरूको विचल्ली, बेपत्ता पारिएका नागरिकहरूको अवस्था सार्वजनिक गर्न देखाइएको उदासीनताले सरकार र सम्बन्धित संस्थाहरूमा जवाफदेहिताको अभाव भएको देखाउँछ। एएसडीले उल्लेखित समस्या समाधान गर्नका लागि सम्बन्धित संस्थाहरूको जिम्मेवारीमा जोड दिने लक्ष्य लिएको छ।
•    सङ्क्रमणकालीन न्यायः दसवर्षे द्वन्द्वपछिको वर्तमान अवस्थामा न्याय विशेष गरेर सङ्क्रमणकालीन न्याय नेपालका लागि जरुरी भएको छ। राज्य र विद्रोही दुवै पक्षबाट भएका युद्धअपराधहरूको छानबिन, अपराधीलाई कारबाही र पीडितलाई न्यायका पक्षमा बलियो वकालत र दबाबको खाँचो छ। एएसडीले यस विषयमा पनि काम गर्नेछ।
•    सामाजिक न्याय-समावेशीकरणः एएसडीले काम गर्न खोजेको अर्को क्षेत्र सामाजिक न्याय-समावेशीकरण हो। सामाजिक न्याय र समावेशीकरणलाई प्रवर्द्धन गर्नका लागि विभिन्न अन्तराष्ट्रिय सङ्गठनहरूले सामूहिक अधिकार, लैङ्गिक अधिकार, सांस्कृतिक अधिकार, बाल अधिकार र सूचनाको हक जस्ता अधिकारहरूलाई अनुमोदन गरेका छन्। नेपाल सरकारले यीमध्ये धेरै प्रावधानलाई अनुमोदन गरेको छ। यसको कार्यान्वयनका लागि राष्ट्रिय कानुनमा अन्तराष्ट्रिय प्रतिबद्धताबमोजिम संशोधन गर्नु जरुरी छ।
•    मानवअधिकार शिक्षाः नागरिकहरूलाई उनीहरूको मानवअधिकारका बारेमा जानकारी गराउन, मानवअधिकार हनन भएका अवस्थामा कानुनी उपाय अवलम्बन गर्न सम्बन्धित अधिकारीहरूलाई दबाब दिन र मानवअधिकारसम्बन्धी छलफललाई व्यापक बनाउन स्कुल र सञ्चारमाध्यममार्फत मानवअधिकारका बारेमा शिक्षा दिन सकिन्छ। एएसडीले औपचारिक शिक्षामार्फत मानवअधिकार शिक्षालाई प्रवर्द्धन गर्ने र मानवअधिकार शिक्षाका सैद्धान्तिक र व्यावहारिक पक्षलाई जोड्ने लक्ष्य लिएको छ।

उपाय र रणनीतिः

अनुदान, छलफल, अनुसन्धान, प्रकाशन, अभियान र वकालत

ओपन सोसाइटी नेटवर्क कार्यक्रमसँगको सम्बन्ध सम्बन्धी रणनीति

१. स्पेसल इनिसिएटिभ (राइट्स इनिसिएटिभ)

स्पेसल इनिसिएटिभ (हालसालै राइट्स इनिसिएटिभ नामकरण गरिएको) ओपन सोसाइटी फाउन्डेसनको एउटा कार्यक्रम हो। यसले मानवअधिकार र सरकारको जवाफदेहिता बढाउनका लागि स्थानीय र अन्तर्राष्ट्रिय स्तरका संस्था र व्यक्तिलाई अनुदान दिन्छ। ओएसएफले नयाँ साझेदारसँग साझेदारी गरेर र ओएसएफका अन्य कार्यक्रमहरूमा साझेदारी गरेर यस कार्यक्रमलाई अझ विस्तार गर्ने भएको छ। यस कार्यक्रमले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा काम गरिरहेका नागरिक समाजका सङ्गठनहरूसँग मिलेर काम गर्ने अवसर पनि खोजिरहेको छ।  

यस कार्यक्रमले सूचनाको हक, एलजीबिटीआई राइट्स, र अपाङ्ग अधिकारका क्षेत्रमा काम गरिरहेका केही नेपाली संस्थाहरूलाई अनुदान दिएको छ। एएसडीले यस्ता कार्यक्रममा सहयोग पुर्‍याएको छ।