
| राजनीतिक सङ्क्रमण |
|
सन्दर्भ, चुनौती र अवसर नेपाल नयाँ संविधान मस्यौदा गर्ने प्रक्रियामा छ। यति बेला समाजका विभिन्न क्षेत्रले धेरै आकाङ्क्षा राखेका छन्। राज्य पुनर्संरचना यिनै आकाङ्क्षामध्ये एक हो। यसबाहेक सामाजिक, राजनीतिक र आर्थिक अधिकारका सवालमा पनि आधारभूत बहस चलेको छ जुन सवालहरू राज्यको पुनर्संरचनाको मुद्दाभन्दा, अझ भन्ने हो भने प्रजातन्त्रको कार्यशैलीभन्दा व्यापक छन्। यी विषयका बहसले सामाजिक संवादका लागि सहकार्य (एएसडी) सामु पहिचान, सङ्घीयता, स्थानीय स्वायत्तता, लैङ्गिक अधिकार, समान सहभागिता, राजनीतिक उदरवाद, नागरिकको सार्वभौमसत्ता र सामाजिक, आर्थिक अधिकार जस्ता उदयीमान विषयमा बहस गर्ने चुनौती खडा गरेका छन्। यो चुनौती हो– वर्तमान उतारचढावभन्दा दूरदृष्टि राख्नु र देशलाई विगत र वर्तमानमा कायम रहेका संस्थागत उपेक्षा र असमावेशीकरणबाट मुक्त गराउने खालको समावेशी, प्रतिनिधिमूलक, सहभागितात्मक शासन प्रणाली स्थपानासँग सम्बन्धित सैद्धान्तिक र व्यावहारिक पक्षलाई सम्बोधन गर्नु। एएसडीलाई के विश्वास छ भने यो कुरा प्राप्त गर्ने सबैभन्दा उत्तम उपाय भनेको प्रजातान्त्रिक मान्यता र संस्थालगायतका विविध विषयमा बहस प्रवर्द्धन गर्नका लागि प्रयास गर्नु हो। संविधान निर्माण प्रक्रियालाई बहुल विचार र दक्षतासँग जोडेर यस प्रक्रियामा सबै पक्षको सहभागिता र पहुँच बढाउनका लागि एएसडीले काम गर्नेछ। शान्ति स्थापना र द्वन्द्व रूपान्तरणका क्षेत्रमा धेरै अन्तर्राष्ट्रिय दाताहरूले काम गरिरहेका छन्। उनीहरूले विचार, दक्षता र रणनीति भित्र्याएका छन्। अन्तर्राष्ट्रिय संस्थाहरूले गरेका यस्ता हस्तक्षेपका बारेमा विश्लेषणात्मक चिन्तन हुनुपर्छ भन्ने कुरा विभिन्न छलफलम उठ्ने गर्छ। तर यी संस्थाहरूका कार्यक्रम, रणनीति र तिनका उपयोगिताका बारेमा विश्लेषण गर्ने क्षमता नागरिक समाजमा छैन। एएसडीले अन्तर्राष्ट्रिय कार्यक्रमका बारेमा बुझ्ने र तिनलाई स्थानीय स्तरमा अझ बढी सान्दर्भिक बनाउने काममा नागरिक समाजलाई सघाउन सक्छ। राजनीतिक र सार्वजनिक संस्थाहरूको जवाफदेहिता नेपालमा ठूलो चुनौती हो। यसले स्थानीय स्तरमा नीति कार्यान्वयनका क्रममा ठूलो असर पार्छ। यस सन्दर्भमा एएसडी जिल्ला तहमा काम गरिररहेका संस्थाहरूसँग मिलेर काम गरिरहेको छ जुन तहमा हाल विद्यमान नीतिको प्रभावको मूल्याङ्कन र अन्वेषण गर्न सकिन्छ। यस मामलामा, एएसडीले स्थानीय संस्था र त्यहाँ कार्यरत मानिसहरूका गतिविधिमा मद्दत गर्न र नीति सुधार गर्ने प्रक्रियामा उनीहरूलाई सामेल गराउन सक्छ।
यस क्षेत्रमा मुख्य गरी संवैधानिक– कानुनी, सुरक्षा र शान्ति, विधिको शासन र राजनीतिक संस्थाहरूको जवाफदेहिताका विषयमा काम गरिनेछन्। एएसडीले संविधा/कानुन विज्ञ, नागरिक समाज, राजनीतिक दलका सदस्यलाई संविधान निर्माण र शान्ति प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्न मद्दत गर्छ। एएसडीले राजनीतिक संस्थाहरूको सुधार लगायत जवाफदेहितासम्बन्धी विषयमा बहसलाई बढावा दिन राजनीतिक दल, नागरिक समाज र युवा नेताहरूसँग मिलेर काम गर्नेछ। एएसडीले विविध सामाजिक आर्थिक विषयमा छलफल निरन्तर राख्नुका साथै संवैधानिक विषयमा भएका छलफल क्षेत्रीय र स्थानीय स्तरका छलफलका बीच पुलको काम गर्नेछ र केन्द्रमा नीति छलफलपत्र तयार गर्नेछ। सङ्क्रमणकालीन सरकार, राजनीतिक दल र सार्वजनिक संस्थाहरूमाथि निगरानी राख्ने कामलाई सहयोग गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिनेछन्। एएसडीले शान्ति र जवाफदेहिताका विषयमा काम गरिरहेका संवैधानिक संस्था र नागरिक समाजसँग काम गरेर नीतिगत क्षेत्रमा काम गर्नेहरूका बीचमा सञ्जाल तयार गर्नेछ। यस्तो सञ्जालका विज्ञमार्फत एएसडीले नागरिक समाजको क्षमता अभिवृद्धि र कानुनी सुधारका लागि बहसलाई प्रवर्द्धन गर्नेछ। चाहना: सामाजिक न्याय र जनताको सम्मानप्रति प्रतिबद्ध समावेशी र जवाफदेही लोकतान्त्रिक राजनीतिक संस्था लक्ष्य: राजनीतिक संस्थाहरूलाई अझ बढी जवाफदेही बनाउन संवैधानिक र शान्ति प्रक्रिया लगायतका राजनीतिक सङ्क्रमणका विवादित विषयमा राजनीतिक सहमति तयार गर्नु। उद्देश्य: साझेदार साधन र रणनीति वकालत, सामाजिक संवाद, प्रवचन, भ्रमण आदानप्रदान, अनुसन्धान र प्रकाशन नीति छलफलपत्र |