gototopgototop

Alliance for Social Dialogue

:: हाम्रो बारेमा एएसडी रणनीति शिक्षा कार्यक्रमको रणनीति
शिक्षासम्बन्धी रणनीति

सन्दर्भ 

शिक्षा नेपालको प्रमुख राष्ट्रिय मुद्दा हो। यस क्षेत्रमा सरकार र दातृ संस्थाहरूले ठूलो धनराशि लगानी गरेका छन्। तर गुणस्तर, समता, व्यवस्थापन, पहुँच र समावेशीकरण जस्ता क्षेत्रमा धेरै सुधार गर्न बाँकी छ। गुणस्तरीय सार्वजनिक शिक्षामा सबै सामाजिक समूहका विद्यार्थीहरूको पहुँच सुनिश्चित गर्नु तथा धनी-गरिब, विभिन्न जातजाति र लिङ्गका विद्यार्थीहरूको शैक्षिक प्रगतिका बीचमा रहेको अन्तर घटाउनु नेपालको शिक्षा क्षेत्रका मुख्य चुनौती हुन्। स्कुल-कलेजमा शिक्षा दिनका लागि प्रवचन विधि र सुगा रटाइ गर्ने चलन शिक्षा क्षेत्रको अर्को समस्या हो। बालबालिकाहरूलाई विश्लेषणत्मक तरिकाले सोच्ने र आफ्ना कुरा प्रस्तुत गर्ने सीप सिकाउनका लागि शिक्षकलाई तालिम, कक्षाकोठाको सुधार र शैक्षिक सामग्री तयार गर्नका लागि ठूलो राशि लगानी गर्नुपर्छ।

रणनीतिक प्राथमिकता 

नेपालको शिक्षा क्षेत्रमा सुधार गर्नका लागि गुणस्तर, पहुँच र व्यवस्थापन प्रमुख रणनीतिक क्षेत्र हुन्।  

गुणस्तर, पहुँच र व्यवस्थापनमा सुधार शिक्षा क्षेत्रको सुधारका लागि नगरी नहुने प्रमुख काम हुन्। एएसडीले गुणस्तर, पहुँच र व्यवस्थापन जस्ता प्रमुख रणनीतिक क्षेत्रहरूमा स्थानीय स्तरका नवीन प्रयासलाई सहयोग गर्छ। एएसडीले अभिभावक-शिक्षक सङ्गठन, स्कुल व्यवस्थापन समिति, विद्यार्थी, शिक्षा अधिकारीहरू, विद्यार्थी सङ्गठन, अवकासप्राप्त शिक्षक, शिक्षासम्बन्धी सरकारी अधिकारीहरू, नीतिगत तहका विज्ञहरू र स्थानीय नागरिक समाजका बीचमा छलफल चलाएर शिक्षा क्षेत्रको सुधार गर्नका लागि स्थानीय र क्षेत्रीय सरोकारवालाहरूको सहभागितालाई प्रोत्साहन गर्छ। यस्ता क्रियाकलाप र अनुसन्धानमा आधारित रहेर शिक्षा क्षेत्रका महत्त्वपूर्ण विषयहरूमा नीति छलफलपत्र तयार गरिनेछ।

परिकल्पना
सबै जातजाति, लिङ्ग, आर्थिक हैसियतका विद्यार्थीलाई बिनाभेदभाव गुणस्तरीय र समतामूलक सार्वजनिक शिक्षा प्रवर्द्धन गर्नु।

लक्ष्य 
गुणस्तरीय शिक्षासम्मको पहुँच सुनिश्चित गर्नु

उद्देश्य
•    शिक्षा क्षेत्रका सरोकारवालाहरूबीच संवाद चलाउनु
•    सरोकारवालाहरुः अभिभावक-शिक्षक सङ्गठन, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी, विद्यार्थी सङ्गठन, अवकाशप्राप्त शिक्षक, जिल्ला शिक्षा

शिक्षा क्षेत्रका मुख्य रणनीतिक क्षेत्रहरू:  
पहुँच र समताः सार्वजनिक शिक्षामा सबै विद्यार्थीहरूको पहुँच सुनिश्चित गर्नु र विभिन्न आर्थिक, सामाजिक अवस्थाका र जातजाति तथा लिङ्गका विद्यार्थीहरूको प्रगतिमा भएको अन्तर घटाउनु

•    गुणस्तरीय शिक्षाः शिक्षकहरूलाई सक्षम र जवाफदेही बनाएर सार्वजनिक स्कुल र कलेजको शिक्षालाई गुणस्तरीय बनाउनु
•    व्यवस्थापनः स्कुल र कलेजको व्यवस्थापन सुदृढ बनाउनु

उपाय र रणनीति: 
अनुदान, दबाब, अनुसन्धान, जनचेतना अभिवृद्धि, सरोकारवालाहरूको भेला
शिक्षा क्षेत्रमा ओपन सोसाइटी नेटवर्क प्रोग्रामसँगको सम्बन्धका रणनीति यस प्रकार छन् :

१.    उच्च शिक्षा सहयोग कार्यक्रम
उच्च शिक्षा सहयोग कार्यक्रमअन्तर्गत भएका मुख्य सहयोगमध्ये नेपा स्कुल अफ सोसल साइन्स एन्ड ह्युमनिटिजलाई गरेको सहयोग पर्दछ। नेपाल स्कुलको स्थापना नेपालमा उच्च शिक्षाको नमुना तयार गर्ने उद्देश्यले भएको हो। यसका दुईओटा लक्ष्य छन्: नेपालमा शिक्षण सिकाइ अभ्यासमा परिवर्तन ल्याउनु र दक्ष जनशक्तिलाई शिक्षण पेसामा ल्याउनु अनि उनीहरूलाई शिक्षण तथा अनुसन्धानका काममा टिकाइराख्नु। सुरुका केही वर्षहरूमा मूलभूत जनशक्ति आकर्षित गरिञ्जेल र सम्बन्धन र पाठ्यक्रम जस्ता कुराहरूको तयारी गरिञ्जेल नेपा स्कुलले सामाजिक विज्ञान विषयमा ग्रयाजुयट डिप्लोमा नामक कार्यक्रम सञ्चालन गर्नेछ। त्यसपछि यसले स्नातकोत्तर तहको पढाइ सुरु गर्नेछ। यस्तो पढाइ कुन विषयमा गर्ने भन्ने कुराको टुङ्गो लागिसकेको छैन। यो कुरा कुन विषयमा दक्ष जनशक्ति पाइन्छ भन्ने कुरामा भर पर्छ। हाल सञ्चालन भइरहेको ग्रयाजुयट डिप्लोमा कोर्सको उद्देश्य भविष्यमा नेपाल स्कुलले सञ्चालन गर्ने स्नाताकोत्तर तहका लागि विद्यार्थी तयार गर्नु पनि हो।       
उच्च शिक्षा सहयोग कार्यक्रम अन्तर्गत काम गर्नका लागि सोचिएको अर्को क्षेत्र हो – विश्व बैंकको दोस्रो उच्च शिक्षा परियोजनाको अङ्गका रूपमा विश्वविद्यालय अनुदान आयोगमार्फत स्वायत्त कलेजका लागि छनोट भएका कलेजहरूको फ्याकल्टी तयार गर्नु। दोस्रो, उच्च शिक्षा परियोजनाले २५ लाख अमेरिकी डलरसम्मको अनुदानको व्यवस्था गरेको छ। यसमा सामेल हुनका लागि निश्चित कार्यसम्पादन क्षमता भएको र प्राप्त अनुदान बराबरको रकम आफैँ परिचालन गर्न सक्ने कलेज हुनपर्छ। यो परियोजना के मान्यताका आधारमा ल्याइएको हो भने त्रिभुवन विश्वविद्यालय त्यति सजिलै सुधारिने अवस्थामा छैन। त्यसैले नेपालको उच्च शिक्षाको गुणस्तर सुधार्ने एउटै उपाय भनेको यसका विभिन्न अङ्ग र यससँग सम्बन्धन लिएका कलेजहरूलाई स्वायत्त बनाउनु वा संस्थागत स्वायत्ततालाई सुदृढ पार्नु हो। प्रस्तावित फ्याकल्टी डेभलपमेन्ट कार्यक्रमले यी कलेजहरूलाई दोस्रो उच्च शिक्षा परियोजनाअन्तर्गत प्राप्त सहयोगको सदुपयोग गर्नका लागि मद्दत गर्नेछ।

२. शिक्षा सहयोग कार्यक्रम
विश्लेषणात्मक चिन्तनका लागि पढाइ र लेखाइ नामक परियोजना यस कार्यक्रमअन्तर्गतको मुख्य क्रियाकलाप हो। यो कार्यक्रम हाल शैक्षिक जनशक्ति विकास केन्द्र, शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र सङ्कायको सहयोगमा एएसडी र सोसल साइन्स बहा:ले सञ्चालन गरिरहेका छन्। शैक्षिक जनशक्ति विकास केन्द्र, शिक्षाशास्त्र सङ्काय, शिक्षा मन्त्रालय र स्वतन्त्र विज्ञहरू भएको सल्लाहकार समितिले नेपालमा विश्लेषणात्मक चिन्तन कार्यक्रमलाई सल्लाह प्रदान गर्छ।

यस कार्यक्रमअन्तर्गत जुलाई २००९, नोभेम्बर २००९, अप्रिल २०१०, जुलाई २०१० र डिसेम्बर २०१० मा पाँचओटा सेवाकालीन र पूर्व सेवाकालीन तालिम आयोजना गरिएका थिए। विश्लेषणात्मक चिन्तन विषयका नेपाली प्रशिक्षकहरूको प्रमाणीकरणपछि यो कार्यक्रम स्वतन्त्र रूपमा चल्ने विषयमा सहमति भएको छ। मुख्य सरोकारवालाहरूसँगको परामर्शपछि यो कार्यक्रम शिक्षा सहयोग कार्यक्रमको सहयोगमा गोरेटो नेपाल नामक नेपाली गैरसरकारी संस्थाले कार्यान्वयन गरिरहेको छ।

शिक्षा सहयोग कार्यक्रमअन्तर्गत, विश्लेषणात्मक चिन्तन कार्यक्रमबाहेक शिक्षा र सङ्घीयता अनि नेपालमा शिक्षाको निजीकरण जस्ता विषयमा पनि काम गर्ने विचार एएसडीले गरेको छ। एएसडीले यस काममा साझेदार संस्था छनोट गरी शिक्षा सहयोग कार्यक्रमलाई सहयोग पुर्‍याउनेछ। एएसडीले आफ्ना काम तीनओटा क्षेत्रमा सीमित गर्ने भएको छ। ती हु्न्– पहुँच, गुणस्तर र व्यवस्थापन। ओएसएफको अनुदान वितरणका काममा सहयोग गरिरहेकाले एएसडीमा यी विषयमा काम गर्नका लागि इच्छुक स्थानीय संस्थाहरूबाट धेरै परियोजना प्रस्ताव आएका छन्। यी प्रस्तावलाई कसरी सुधार गर्ने र कुन क्षेत्रमा सहयोग प्रवाह गर्ने भन्ने विषयमा एएसडीले शिक्षा सहयोग कार्यक्रमसँग परामर्श लिन्छ।