gototopgototop

Alliance for Social Dialogue

:: हाम्रो बारेमा
सामाजिक संवादका लागि सहकार्य (एएसडी)

“सामाजिक संवादका लागि सहकार्य” (एलाइन्स फर सोसल डायलग-एएसडी) नेपालका विभिन्न ठाउँमा भिन्न-भिन्न विषय र क्षेत्रमा क्रियाशील संस्था एवं व्यक्तिहरूबीच संवाद प्रक्रियाबाट सहकार्यको संस्कृति विस्तार गर्ने उद्देश्य लिएर सुरु भएको अभियान हो।

लोकतान्त्रिक मूल्य र मान्यता प्रवर्द्धन गर्नु यसको मूलभूत उद्देश्य हो। यो उद्देश्य प्राप्त गर्नका निम्ति एएसडीले नेपाली समाजको सरोकारका समसामयिक विषयसँग सम्बद्ध विभिन्न पक्षबीच अन्तरक्रिया/बहस गर्दै, गराउँदै आएको छ।

मानवअधिकार, स्वतन्त्र सञ्चार र शिक्षाजस्ता सामाजिक महत्त्वका क्षेत्रमा काम गरिरहेका नेपाली सरोकारवालाहरूसँग सहकार्य गर्दै बौद्धिक संवादका लागि प्रयत्नरत रहनु एएसडीको ध्येय हो। यही ध्येयअनुरूप एएसडीले यी क्षेत्रमा काम गरिरहेका संस्था तथा व्यक्तिहरूबीच सहकार्य र संवाद बढाउन परामर्श, छलफल, अध्ययन र कार्यशाला गोष्ठीजस्ता कार्यक्रम सञ्चालन गर्दछ। यस्ता छलफलले उच्च प्राथमिकतामा राखेका विषयहरूमा नीतिगत र गहन प्रकृतिको संवाद अघि बढाउन अवधारणापत्र समेत प्रकाशन गर्ने गर्दछ।

नेपालको सङ्क्रमणकालीन राजनीतिक परिस्थितिमा लोकतान्त्रिक मान्यता र प्रक्रिया प्रवर्द्धन गर्न क्रियाशील संघसंस्था तथा व्यक्तिका प्रयास र गतिविधिहरूलाई सुदृढ तुल्याउन पनि “एएसडी”ले सहयोग गर्छ। संविधानसभामार्फत नयाँ संविधान निर्माण सन्दर्भमा भिन्न-भिन्न पहिचान र फरक राजनीतिक विचारधाराहरूबीच स्वस्थ र सार्थक संवाद प्रवर्द्धन गर्ने कामलाई पनि एएसडीले प्राथमिकतामा राखेको छ। सामाजिक संवादका माध्यमबाट आम जनता र संविधानसभाबीचको दोहोरो सम्बन्ध र सम्पर्कलाई निरन्तरता दिन एएसडीले सहजकर्ताको भूमिका निर्वाह गर्दछ।

एएसडीले मानवअधिकार, स्वतन्त्र सञ्चार र शिक्षाका क्षेत्रमा सक्रिय रहेर लोकतन्त्र तथा खुला/स्वतन्त्र समाजको प्रवर्द्धनमा लागिपरेका संस्था तथा व्यक्तिहरूका बीचबाट नयाँ र सिर्जनशील विषयहरू पहिचान गरी आगामी दिनमा काम गर्न सकिने विषयहरूको प्राथमिकता निर्धारण गरेको छ। त्यस्ता विषयहरूमा काम गर्न चाहिने अनुदान रकम प्राप्त गर्न अन्तर्राष्ट्रिय स्तरका सहयोगी संस्थाहरूसँग सहकार्य गर्दै स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरूबीचमा सञ्जाल निर्माण गर्ने काम पनि अगाडि बढाइएको छ।

सरोकारवालाहरूसँगको छलफलका क्रममा प्राथमिकतामा परेका विषयहरूमा रचनात्मक कार्यक्रम सञ्चालन गर्न एएसडीले स्थानीय संघसंस्थाहरूलाई प्रेरित गर्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अवधारणा, नीति तथा कार्यक्रमहरूलाई सघाउ पुर्‍याउन सक्ने र स्थानीय स्तरमा देखिएका बाधा-व्यवधानहरू पहिचान गरी दिगो समाधान दिन सक्ने प्रकृतिका कार्यक्रमहरू सञ्चालन गर्नका लागि परियोजना प्रस्ताव तयार पारी अनुदान रकमका लागि आवेदन पेस गर्न पनि एएसडीले स्थानीय संघसंस्थाहरूलाई प्रोत्साहित गर्दै आएको छ।

आफ्ना क्रियाकलाप र कार्यक्रम सञ्चालन गर्न एएसडीले ओपन सोसाइटी फाउन्डेसन (ओएसएफ) बाट आर्थिक सहयोग प्राप्त गरेको छ।

सामाजिक संवादका लागि सहकार्य (एएसडी) को संरचना र कार्य प्रक्रिया

मानवअधिकार, स्वतन्त्र सञ्चार र शिक्षा क्षेत्रमा नेपालका विभिन्न ठाउँमा सक्रिय संस्था र व्यक्तिहरूलाई संवाद र सहकार्यमार्फत एएसडीले यो अभियानमा संलग्न गराउँदै आएको छ र यो क्रम भविष्यमा जारी रहनेछ। एएसडी विभिन्न क्षेत्रका सरोकारवालाहरूको संलग्नता रहने नीतिगत संवाद गर्ने साझा थलोका रूपमा रहनेछ।

एएसडी हाल अनौपचारिक स्वरूपमा सञ्चालित छ। यो अवस्था रहँदासम्म एएसडीको कार्यकारी अधिकार कार्यकारी समितिमा रहनेछ। कार्यकारी समितिमा कुनै पनि संस्थाका एकभन्दा बढी प्रतिनिधि रहने छैनन्। एएसडीसित संलग्न संस्था तथा व्यक्तिहरू पालैपालो कार्यकारी समितिमा छानिनेछन्। कार्यकारी समितिले “एएसडी”को नियमअनुसार कार्यक्रमहरूको पहिचान र कार्यान्वयन गर्छ। नेपालको सामाजिक तथा जातीय विविधतालाई ध्यानमा राखी “एएसडी”को परिषद् र कार्यकारी समितिमा सकेसम्म धेरै समूहहरूको प्रतिनिधित्व गराउने नीति अख्तियार गरिएको छ।

“एएसडी”को कार्यकारी समितिले प्राथमिकतामा राखेका क्षेत्रहरूमा उपसमिति र सचिवालयमार्फत कार्यक्रम सञ्चालन गर्छ। हाल एएसडीको सचिवालय सोशल साइन्स बहाः, बत्तीसपुतली, काठमाडौंमा रहेको छ। सचिवालयले नियमित व्यवस्थापकीय कामका अतिरिक्त संवादका लागि नेपालका विभिन्न स्थानमा भेला आयोजना गर्छ। यसबाहेक ओएसएफबाट नेपालमा परियोजना सञ्चालन गर्न प्रदान गरिने अनुदानका लागि परियोजना प्रस्ताव आह्वान गर्ने र सचिवालयमा प्राप्त भएका परियोजना प्रस्ताव मूल्याङ्कन गरी छनोट भएका प्रस्तावलाई ओएसएफमा पठाउने काम पनि गर्छ।